सामान ओसारपसार व्यवस्थित बनाउन वेब पोर्टल, विवरण नबुझाए १ लाखसम्म जरिबाना

 असार २, २०७६ सोमबार १९:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राजश्व अनुसन्धान विभागले मालवाहक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम वेवबपोर्टल कार्यान्वयनमा ल्याएको छ । 

राजश्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालवाहक गाडीबाट समान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वे बपोर्टल आइतबारदेखि नै सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । 

असारबाट परीक्षणको रुपमा सुरु गरिएको यो पोर्टल साउनबाट पूर्ण रुपमा लागू हुने विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । यो पोर्टल पूर्ण रुपमा लागू भएसँगै विभाग अन्तर्गतको मालवाहक गाडीका लागि चेक पोष्टहरु हटाइनेछ । 

ढुवानी कम्पनी, व्यवसायी वा आयातकर्ताले माल ढुवानी गर्नुअघि त्यसको विवरण वेब पोर्टलमा समावेश गर्नुपर्ने व्यवस्था गरिएकाले पनि त्यसपछि जाँच गरिरहन नपर्ने विभागका महानिर्देशक मैनालले बताउनु यो ।

विभागले वेब पोर्टलमा मालको विवरण नबुझाई ढुवानी गरेको पाइएमा त्यस्ता आयातकर्तालाई पहिलो पटक ५० हजार र त्यसपछि पनि दोहोरिए एक लाखका दरले जरिबाना लिने व्यवस्था पनि गरेको छ ।

विभागका महानिर्देशक मैनालीले मालको विवरण वेव पोर्टलमा नबुझाई आन्तरिक रुपमा सामान ओसारपसार गर्नेहरुलाई राजस्व छली सम्बन्धी अन्य कारवाही पनि हुने स्पष्ट पार्नुभयो । सरकारले चोरी निकासीलाई नियन्त्रण गर्न पनि यो वेव पोर्टलको व्यवस्था गरेको हो ।

यो सिस्टमबाट बिलबिजकको कपी बुझाउने झन्झटबाट मुक्त हुने, तथ्यांक र सूचनामा सबै प्रयोगकर्ताको पहुँच हुने, गाडी नं. र ड्राइभरको नाम पटक-पटक इन्ट्री गर्न नपर्नेलगायतका फाइदा रहेका छन् । 

यसै गरी विभागले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भन्सार छली गरेर ल्याइएको ६६ केजी ४ सय ग्राम सुन बरामद गरिएको पनि जनाएको छ । विभागका महानिर्देशक मैनालीले विभागमा राजस्व चुहावटका ८१ वटा कसुरमा अनुसन्धान सम्पन्न गरी मुद्दा दायर गरिएको पनि बताउनु भयो । 

विभागले विदेशी विनिमय अपचलन तथा हुण्डीको कसुरमा ५ अर्ब ११ करोड बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिबाना र ३ वर्षसम्म कैद माग दावीसहित जिल्ला अदालतमा मुद्दा पनि दायर गरेको छ ।

यस्तो अवैध कारोबारमा १ सय ४ जना अभियुक्तहरु नियन्त्रणमा लिइएको पनि विभागका महानिर्देशक मैनालीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया