गुठी विधेयकका बारेमा उपत्यकाका जनप्रतिनिधिसँग छलफल, विधेयक फिर्ता लिन प्रधानमन्त्री सकारात्मक

 असार २, २०७६ सोमबार १९:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित बनेकाे गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककाे बारेमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । 

छलफलमा सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ, महेश बस्नेत, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसांसद् वसन्त मानन्धर, दीपक निरौलालगायतले धर्म सस्कृति, जात्रा पर्वमाथि नै प्रहार हुने गरी विधेयक आएकाले सरकारले फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।  

विधेयकका कतिपय प्रावधानलाई लिएर पार्टीको छवी माथि समेत प्रहार हुन लागेकाले अहिलेको समयमा सरकारले विधेयक अघि बढाउनु उपयुक्त नभएको पनि उनीहरुले सुझाव दिएका थिए ।  

जनस्तरबाटै पार्टी र सरकारको विरोध हुनु उपयुक्त नभएकाले नागरिकमा विश्वास दिलाउन पनि सरकारलाई विधेयक फिर्ता लिनुको अर्को विकल्प नरहेको सहभागीहरुले सुझाव दिएको छलफलमा सहभागी सांसद रामवीर मानन्धरले बताउनुभयो । 

छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङसमेत सहभागी हुनुहुन्थ्यो । 

यसअघि नेता नेपालले विधेयकका बारेमा सिंहदरबारमा सत्तारुढ दलका काठमाण्डौ उपत्यकाका सांसदहरुसँग छलफल गर्नुभएको थियो । 

साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाइने बताउनुभएको थियो । त्यही अनुरुप प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग सोमबार छलफल गर्नुभएको हो ।

यसअघि आजै बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयक विवादका सम्बन्धमा आवश्यक जानकारी लिनुभएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले विवाद उत्पन्न हुने गरी, धर्म सस्कृति नै लोप हुने गरी सरकारले कुनै पनि काम नगर्ने भन्दै आश्वस्त पार्नुभएको सांसद मानन्धरले बताउनुभयो ।  

प्रधानमन्त्री सकारात्मक देखिनुभएकाले विधेयक फिर्ता हुने आफूले विश्वास लिएको सांसद मानन्धरले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया