जुम्लाको गुठीचौरमा रहेको सरकारी जग्गा परिवारको नाममा पास गर्नेे १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार २, २०७६ सोमबार १९:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मालपोत कार्यलय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

जुम्लाको गुठीचौरमा रहेको भेडाबाख्रा फारमको नाममा रहेको ३ लाख वर्गमिटर अर्थात ५ सय ९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृत न्यौपानेसहित १६ जना विरुद्ध अख्तियारमा मुद्दा दायर भएको हो । न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनामा संलग्न १६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

न्यौपानेसँगै मालपोत कार्यालय जुम्लाका खरिदार एवं अहिलेको मालपोत कार्यालय चावहिलका नायब सुब्बा विजय शर्मा न्यौपाने र भेडा बाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर जुम्लाका तत्कालीन कार्यालय प्रमुख यमुनाकुमार श्रेष्ठलाई जनही ४५ लाख रुपैयाँ बिगो तोकिएको छ । 

जग्गा दर्ता गरी लिने हरिहर न्यौपानेलाई २ लाख २५ हजार बिगो तोकिएको छ । मुनीशचन्द्र न्यौपाने, मायालाल न्यौपाने विष्णु ऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, नवऋषि न्यौपाने र कविदत्त न्यौपानेलाई जनही ३ लाख रुपैयाँ बिगो कायम गरिएको छ । यस्तै विष्णु न्यौपानेलाई ४ लाख ९५ हजार, पार्वती न्यौपानेलाई ५ लाख २२ हजार, गोमा न्यौपानेलाई ५ लाख २७ हजार, देवेन्दप्रसाद उपाध्यायलाई १ लाख ९९ हजार, केशवराज न्यौपानेलाई २ लाख र जानकीदत्त देवकोटालाई ३० हजार रुपैयाँ बिगो तोकिएको छ ।

उनीहरुलाई जनही १० वर्ष कैद सजाय र जग्गाको मूल्य बराबरको बिगो र जरिबाना तोकिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया