विश्वकप क्रिकेट : वेष्ट इण्डिजविरुद्ध बंगलादेशको सानदार जित

 असार २, २०७६ सोमबार २३:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय २१ रन बनाएको थियो । ६ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा इण्डिजले क्रिस गेललाई खाता खोल्न नपाउँदै गुमायो ।

दोस्रो विकेटका लागि इभिन लुइस र शेई होपले ११६ रनको साझेदारी गरेका थिए । लुइसले ६७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७० रन बनाएका थिए । सातौं विकेटका रुपमा आउट हुनुपूर्व होपले पनि ९६ रनको योगदान दिए । शतकका लागि गरेको प्रहार क्याच भएपछि उनी बाहिरिए ।

सिमरन हेटमेयरले पनि ५० रनको आक्रामक योगदान दिए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । ज्यासन होल्डरले १५ बलमा ३३ रन बनाए भने निकोलस पुरनले २५ रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान तथा मोहम्मद सइफुद्धिनले तीन–तीन विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।

जवाफमा बंगलादेशले ४१ ओभर तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

उसका ओपनर सौम्य सरकार २९ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि तमिम इक्वाल र शकिब अल हसनले अर्धशतकीय साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । जसमा इक्वालले ४८ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका मुस्फिकुर रहमान मात्र एक रनमा आउट भएपछि बंगलादेशले एक सय ३३ रनमा तेस्रो विकेट गुमायो ।

तर त्यसपछि शकिब र लिटोन दासले चौथो विकेटका लागि रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा शकिशले शतकीय पारी खेले । उनले एक सय २४ रनको पारी खेले । ९९ बलमा शकिवले १६ चौका प्रहार गरे । यस्तै लिटनले ९४ रन बनाए । जसमा उनले ६९ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया