सगरमाथा सिमेन्टका उद्योगीलाई ७ लाख रुपैयाँ जरिवाना

 असार ३, २०७६ मंगलबार १४:२५:३० | भावुक योगी
unn.prixa.net

बर्दिया - दाङको घोराहीमा रहेको घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डका सिमेन्ट उद्योगीलाई जिल्ला प्रशासन कार्यालय बर्दियाले ७ लाख रुपैँया जरिवाना गराएको छ । 

घोराहीबाट उत्पादित सगरमाथा ब्राण्डको ओपिसी सिमेन्टका सञ्चालक, निर्देशक र व्यवस्थापकलाई कालोबजारी ऐन अन्तर्गत ७ लाख रुपैँया जरिवाना तिराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख रुपैँया, निर्देशक संजय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २-२ लाख रुपैँया जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । झण्डै ७ महिनाअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले उद्योगका सञ्चालकलाई २३ लाख रुपैँया धरौटी लिएर तारेखमा छाडेको थियो । 

नेपाल गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर नभएको प्रमाणित भएको प्रतिवेदनको आधारमा कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बताउनुभयो । उनीहरु विरुद्ध कालोबजार तथा सामाजिक अपराध ऐन अन्तर्गत जरिवाना लिएर छाडिएको उहाँले बताउनुभयो । 

बर्दियामा सगरमाथा सिमेन्ट प्रयोगका क्रममा कमसल भएको उजुरी परेपछिको परिक्षणबाट ओपीसीमा म्याग्नेसिया तत्व बढी देखिएपछि त्यहाँको प्रशासनले दाङ प्रशासनलाई सिमेन्ट उत्पादन र बिक्री वितरण रोक्न पत्राचारसमेत गरेको थियो ।

बजार अनुगमनका क्रममा सगरमाथा सिमेन्टमा शंका लागेपछि नमुना सङ्कलन गरी गुणस्तर तथा नापतौल विभागमा पठाइएको थियो । सगरमाथा नामको सिमेन्टमा ल्याब रिपाेर्ट अनुसार विभागबाट गुणस्तर नभएको प्रतिवेदन आएपछि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जरिवाना गराएका हौँ प्रजिअ कुरुम्बाङले भन्नुभयो ।

प्रशासनले गरेको जरिवाना सगरमाथा सिमेन्टका उद्योगीले तिरेकोसमेत उहाँले बताउनुभयो ।

नेपाल गुणस्तर तथा नापतौल विभागमा परीक्षण गर्दा म्यानिसिया (खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको जनाइएको छ । सगरमाथा सिमेन्टको गुणस्तर राम्रो नदेखिएपछि झण्डै १० महिनाअघि बर्दियाका विकास आयोजना लगायत सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरेको थियो । 

प्रजिअ कुरुम्बाङ्गले बर्दिया आएको झण्डै एक वर्षको अवधिमा बजार अनुगमनलाई तीव्रता दिएर म्याद गुज्रिएका सामान बिक्री गर्ने माथि कारबाही गरी म्याद गुज्रिएका सामान बिक्री नियन्त्रण भएको छ । 

 

अन्तिम अपडेट: चैत १, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया