विश्वकप क्रिकेट : इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिन सफल

 असार ४, २०७६ बुधबार ७:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपमा घरेलु टिम इंग्ल्याण्डले चौथो जित निकालेको छ । मंगलबार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई एक सय ५० रनले हरायो ।

वल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो ।

सुरुवात मध्यम गरे पनि इंग्ल्याण्डका मध्यक्रमका खेलाडीले बलियो प्रदर्शन गरे । पहिलो विकेटका लागि जेम्स भिन्स र जोनी ब्रेस्ट्रोबीच ४४ रनको साझेदारी भएको थियो । जसमा भिन्स २६ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि ब्रेन्ट्रो र जोय रुटबीच एक सय २० रनको साझेदारी गर्दै टिमको पारीलाई बलियो स्थितिमा पुर्‍याए । जसमा ब्रेस्ट्रोले ९० रन बनाए ।

त्यसपछि तेस्रो विकेटका लागि रुट र कप्तान इयोन मोर्गनबीच ८९ रनको साझेदारी भएको थियो । जोय रुट ८८ रनमा आउट हुँदा इंग्ल्याण्डले तीन सय ५३ रनमा तेस्रो विकेट गुमायो । इंग्ल्याण्डका लागि मोर्गनले एक सय ४८ रनको पारी खेले । जसमा उनले ७१ बलमा चार चौका र १७ छक्का प्रहार गरे । एकदिवसीय क्रिकेटमा एकै पारीमा धेरै छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

उनले रोहित शर्मा, क्रिस गेल र एवी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हार्ने रेकर्ड तोड्न सफल भए । तीनै खेलाडीले एकै पारिमा १६ छक्का प्रहार गरेका थिए । तर त्यसपछि इंग्ल्याण्डले दुई विकेट सस्तैमा गुमायो । बेन स्टो र जोस बट्लर मात्र दुई दुई रनमा आउट भए । अन्तिममा मोयन अलीले अविजित ३१ रन बनाए ।

बलिङमा गुल्बादिन नायबले र दावलात जार्दनले तीन तीन विकेट लिए ।

जवाफमा अफगानिस्तान ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ४७ रनमा रोकियो । खराब सुरुवात गरेको अफगान टिमले चार रनमा पहिलो विकेट गुमायो । उसका ओपनर नुर अली जार्दनले खाता खोल्न सकेनन् । ५२ रन बनाउँदा दोस्रो विकेट गुमाएको अफगानिस्तानले एक सय चार रन बनाउदा तीन विकेट खेर फाल्यो ।

उसका कप्तान गुल्बादिन नायब ३७ रनमा आउट भए भने रहमात शाह ४६ रनमा पेभेलियन फर्किए । त्यसपछि अस्घर अफगानले ४४ रन बनाउदा मोहम्मद नावीले मात्र नौ रन बनाउन सके । जसका कारण अफगानिस्तानले दुई सय १० रनमा पाँच विकेट गुमायो । उसका लागि हस्मतुल्लाह साहिदीले ७६ रन बनाए । बलियो लक्ष्य पक्ष्याएको अफगानिस्तान अन्ततः दुई सय ४७ रनमा रोकियो ।

बलिङमा आदिल रासिदले तीन तथा जोफ्रा आर्च र मार्क उडले दुई दुई विकेट लिए । जितसँगै इंग्ल्याण्ड शीर्ष स्थानमा उक्लिएकाे छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया