सरकारलाई विदेशी लगानीकर्ताले पत्याएनन्, व्यापार घाटाको खाडल झनै गहिरो

 असार ४, २०७६ बुधबार १७:११:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको १० महिनाको आर्थिक अवस्थाले धेरै जसो आर्थिक सूचक निराशाजनक रहेको देखाएको छ ।  

रेमिट्यान्स बढे पनि व्यापार घाटाको खाडल झनै गहिरो बन्दै गएको छ । शोधानान्तर घाटा चुलिँदै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्टले वैदेशिक लगानीमा पनि कमी आएको देखाएको छ ।

व्यापार घाटा बढ्दो

चालु आर्थिक वर्षको पहिलो १० महिनामा व्यापार घाटा चुलिएको छ । ११ खर्ब ७८ अर्ब रुपैयाँको सामान आयात हुँदा जम्मा ७८ अर्ब रुपैयाँको सामान मात्रै नेपालले निर्यात गर्न सकेको छ ।

दश महिनामा कुल बस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा यस्तो आयात २१.८ प्रतिशतले बढेको थियो । बस्तु आयात गरिने देशका आधारमा भारतबाट भएको आयात १७.२ प्रतिशत, चीनबाट भएको आयात ३३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.८ प्रतिशतले बढेको छ ।

बस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोसाक, हवाई जहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपूर्जालगायतका बस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, यातायातका साधन तथा पार्टपूर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजारलगायतका बस्तुहरुको आयात घटेको छ ।

यस्तै आर्थिक वर्ष २०७५-७६ को दश महिनामा बस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा निर्यात ९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ३१.९ प्रतिशत र अन्य देशतर्फ २.३ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

चीनतर्फ भने २९ प्रतिशतले निर्यातमा कमी आएको छ । बस्तुगत आधारमा पोलिस्टर यार्न, जुटका सामान, जस्तापाता, ऊनी गलैंचा, जडीबुटीलगायतका बस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, छाला, तयारी पोसाक, पश्मिनालगायतका बस्तुहरुको निर्यात घटेको छ । 

शोधानान्तर घाटा बढ्दो 

चालु आर्थिक वर्षको वैशाखसम्म अर्थात १० महिनामा चालु खाता एवम् शोधनान्तर घाटा विस्तार भएर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको १० महिनामा यस्तो घाटा  जम्मा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा यो वर्षको दश महिनामा १ अर्ब ९५ करोड पुगेको छ । 

दश महिनामा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको दश महिनामा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा यो वर्षको दश महिनामा ६० करोड २ लाखले घाटामा रहेको छ ।

वैदेशिक लगानी घट्यो 

दश महिनामा पूँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड  रुपैयाँ रहेको छ । अघिल्लो वर्षको दश महिनामा पूँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ५१ करोड रहेको थियो । पोहोरभन्दा प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा ६ अर्ब रुपैयाँ भन्दा धेरैले कमी आएको छ । सरकारले लगानी सम्मेलन गरेर नेपालमा लगानी गर्न विश्व समुदायलाई आग्रह गरे पनि त्यसको प्रभाव भने देखिएको छैन । 

विदेशी विनिमयको अवस्था

गएको वर्षको असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ विदेशी विनिमय सञ्चित रहेकोमा २०७६ वैशाख मसान्तमा १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७६ वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा खर्ब ४५ अर्ब ३१ करोड पुगेको छ । 

रेमिट्यान्स बढ्यो, काम गर्न विदेशी जाने घटे

गएको वर्षको १० महिनाको तुलनामा यो आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स बढे्को छ । गएको वर्षको १० महिनामा भन्दा यो वर्षको १० महिनामा रेमिट्यान्स १९.६ प्रतिशतले बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको दश महिनामा रेमिट्यान्स ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ९.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १०.३ प्रतिशतले बढेको थियो । दश महिनामा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले बढेर ८ खर्ब २६ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको दश महिनामा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दश महिनाको अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको दश महिनामा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यो वर्षको दश महिनामा अघिल्लो वर्षभन्दा  ५.८ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया