विदेशमा हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुभएन भने जेल सजाय हुन सक्छ !

 असार ६, २०७६ शुक्रबार १८:१३:५२ | उज्यालो सहकर्मी

काठमाण्डाै – म कुलप्रसाद कार्की, साउदी अरबमा  ११ वर्ष  काम गरेर आएको हुँ । हाल प्रवासी समन्वय समिति (पीएनसीसी) मा आवद्ध छु । यसको अध्यक्षता गरिरहेको छु । 

म आफैं विदेशमा काम गरेर फर्किएको हुनाले पनि विदेशको हावा पानी, संस्कार संस्कृतिसँग भिज्ने मौका पाएको छु । आज म विदेशमा जेल पर्ने कारण र कसरी जोगिने भन्ने विषयमा केही कुरा भन्न चाहन्छु । 

जुनसुकै देशमा पनि त्यो देशको कानुन विपरीत हामीले कुनै काम गर्यौं भने त्यहाँ जेल पर्ने सम्भावना हुन्छ, चाहे नेपालमै पनि किन नहोस् । तर हाम्रा नेपाली दाजुभाइ काम गर्न धेरै जाने खाडीका देशमा भने नेपालकोभन्दा नियम, कानुन फरक छ ।

सर्वप्रथम खाडीका देशमा सबैभन्दा बढी जेल पर्ने कारण लागुपदार्थ खानु हो  । लागुपदार्थ भन्नाले हिरोइन, कोकिन, गाँजा, चरेस जस्ता चिजहरु पर्दछन् । यस्ता पदार्थ ओसारपसार गर्न, बेचबिखन गर्न तथा सेवन गर्न सख्त मनाही गरिएको छ ।

यस्तो अवस्थामा जेल मात्र होइन, ज्यानै समेत जान सक्छ । खाडीका देशमा यस्तो मुद्दामा मृत्युदण्डसम्मको सजाय हुन सक्छ । त्यसैले यसबाट जोगिनु होला ।

त्यस्तै जेल पर्ने दोस्रो कारण हो, जाँडरक्सी । जाँडरक्सी पिउन र बिक्री वितरण गर्न पनि पाईंदैन । सार्वजनिक स्थानमा जाँडरक्सी खाने, होहल्ला गर्ने जस्ता काम गरेका जेल पर्ने सम्भावना हुन्छ ।

त्यसैगरी भिसामा पनि ध्यान दिनु पर्छ । आफू वैदेशिक रोजगारमा जाँदा आफ्नो भिसाको समयावधी छ कि छैन भनेर ख्याल गर्नु पर्छ । भिसा सकिएपछि स्वदेश फर्किने या थप्ने विषयमा बेलैमा विचार पुर्‍याउनु पर्छ । 

परिचयपत्र पनि अर्को अनिवार्य कुरा हो । परिचयपत्र, भिसा भएन भने जेल पर्न सकिन्छ ।  वैधानिक परिचयपत्र बोकेर हिँडिएन भने त्यहाँको प्रहरीले समात्न सक्छ । 
यस्तै कम्पनी छाडेर भाग्यो भने पनि जेल परिन्छ । त्यसैले परदेशमा अवैधानिक हैसियतमा काम गर्न हुँदैन । अथवा यहाँबाट करार गरेर गएको कम्पनी छाड्न हुँदैन । 

अर्को कम्पनीमा राम्रो काम पाइन्छ र राम्रो तलब पाइन्छ भनेर अरुको लहैलहैमा लागेर त्यो कम्पनी छाडेर जाँदा त्यसै दिनदेखि अवैधानिक हुन्छ । खाडी देशमा यौनजन्य क्रियाकलपलाई निकै कडाईका साथ हेरिन्छ । त्यसैले यस्ता यौनजन्य क्रियाकलापमा संलग्न भएमा पनि जेल पर्ने सम्भावना हुन सक्छ ।

यस्तै सरकारी कागजातहरु केरमेट गरेमा, आफू अनुकूल आफ्ना प्रमाणपत्रहरु आफैं बनाउँदा, सरकारी कागजातको दुरुपयोग गरेमा पनि त्यस्ता व्यक्तिहरुलाई जेल सजाय हुन सक्छ ।

यस्तै प्रवेश गर्न निषेध गरिएका विभिन्न ठाउँहरु हुने गर्छन् । जान निषेध गरिएका त्यस्ता संवेदनशील क्षेत्र तथा ठाउँहरुमा सीसी क्यामेराहरु लगाइएको हुन्छ । त्यहाँ जाने र फोटो खिच्ने काम गरेमा वा त्यस्तो अवस्थामा भेटिए पनि जेल पर्ने सम्भावना हुन्छ । 

त्यस्तै सार्वजनिक स्थान बाहेक त्यहाँको नागरिकको घरभित्र प्रवेश गरेमा र कसैले देखेर उजुरी गर्यो भने पनि जेल पर्ने सम्भावना छ ।
धर्मको बारेमा वादविवाद गर्न पनि खाडी देशहरुमा निषेध गरिएको छ । त्यस्तो गर्न पाईंदैन । कसैले धर्मको विषयलाई लिएर वादविवाद गरेको खण्डमा त्यसलाई कडा कारबाही हुन्छ ।

यस्तै सार्वजनिक स्थलमा फोहोर गर्ने, दिसापिसाब गरेमा पनि  प्रहरीले समातेर लैजान सक्छ । अर्को कुरा झैझगडा गर्ने र कुटपिटमा संलग्न हुने व्यक्तिलाई पनि जेल सजाय हुन सक्छ । 

लाइसेन्स बिना गाडी चलायो, दुर्घटना भएर कसैको मृत्यु भयो भने पनि सम्पूर्ण दोष बिना लाइसेन्स गाडी चलाउने चालकलाई नै जान्छ । त्यस्तो अवस्थामा उसलाई जेलको कडा सजाय हुन्छ । यस्तै ट्राफिक संकेत छलेर गाडी चलाउँदा तथा हिँडडुल गरेमा पनि जेल पर्न सकिन्छ । यो कुरा नेपालीले धेरै नै बुझ्नुपर्ने हुन्छ । आफ्नो कम्पनीको कामबाहेक अनधिकृत रुपमा कुनै सामानको ओसारपसार गरेमा पनि जेल पर्न सकिन्छ । 

मुख्यतया जेल पर्ने भनेका यिनै कारण हुन् । त्यहाँको भाषा र कानुनको बारेमा धेरै ज्ञान नहुँदा पनि जेल पर्न सकिन्छ । त्यही भएर विदेशमा जानुभन्दा पहिले वा त्यहाँ गइसकेकाहरुले पनि त्यहाँको कानुनको बारेमा जानकारी लिएर गयो भने जेल सजाय हुनबाट जोगिन सकिन्छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया