टर्की, कडकनाथ र बट्टाई पालनमा घिमिरे : १० महिनाकै अवधिमा २ लाख बढी आम्दानी

 असार १०, २०७६ मंगलबार १३:१३:२८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–६, ढाँडफेदीकुनाका श्रीकृष्ण घिमिरेले टर्की, कडकनाथ कुखुराका साथै बट्टाई चरा पाल्नुभएको छ । 

घिमिरेले निबोटेफाँटमा आफूले सञ्चालन गरेको घिमिरे एकीकृत कृषि फर्ममा व्यावसायिक माछापालनसंगै टर्की, कडकनाथ जातको कुखुराका साथै बट्टाई चरा पाल्नुभएको हो । माग र मूल्य दुवै राम्रो भएकाले आफूले माछापालनसँगै टर्की, कडकनाथका साथै बट्टाई चरा पालनमा जोड दिएको बताउनुभयो ।

‘टर्की, कडकनाथ र बट्टाई चरा पालेर मनग्य कमाउन सकिन्छ । बजारमा टर्की, कडकनाथ र बट्टाई चराको मासुको माग र मूल्य दुवै उच्च छ’, उहाँले भन्नुभयो ।

घिमिरेले डेढ रोपनी जग्गामा झण्डै ४ लाख रुपैयाँ खर्चेर ५ कोठासहितको एउटा आधुनिक खोर बनाउनुभएको छ । उहाँका खोरमा अहिले ३० वटा टर्की, ५० वटा कडकनाथ जातको कुखुरा र डेढ सय बट्टाई चरा रहेका छन् । अहिले फार्मबाट टर्की, कडकनाथ र बट्टराई चरा बिक्री भइरहेको छ । 

उहाँले टर्की प्रतिजोडी ६ हजार रुपैयाँ, कडकनाथ जातको कुखुरा प्रतिजोडी ५ हजार र प्रतिजोडी बट्टाई चरा ५ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म बेच्दै आउनुभएको छ । 

बट्टाई चराको अण्डासमेत बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । ‘हाल दैनिक झण्डै ७० वटासम्म बट्टाईको अण्डा संकलन हुन्छ । प्रतिगोटा २५ रुपैयाँका दरले अण्डा बिक्री हुँदै आएको छ’, उहाँले थप्नुभयो ।

मागअनुसार आफूले टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको पनि घिमिरेले बताउनुभयो । ‘मागका आधारमा टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको छु’, उहाँले भन्नुभयो । उहाँका अनुसार फार्मको उत्पादन लमजुङसहित तनहुँ र गोरखामा खपत हुँदै आएको छ ।

आवश्यक ज्ञान, सीप लिएर टर्की, कडकनाथ र बट्टाइ पाल्न सके किसानले राम्रो आम्दानी लिन सक्ने घिमिरेले बताउनुभयो । विगत १० महिनादेखि आफूले टर्की, कडकनाथ र बट्टाई पाल्दै आएको र यो अवधिमा २ लाख बढी आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो ।

घिमिरे जिल्लामा व्यावसायिक माछापालक किसानको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले फार्ममा ३ वटा पोखरीमा माछा पाल्दै आउनुभएको छ । अहिले उहाँले ३ वटा माछा पोखरी निर्माण गर्नुभएको छ । यस वर्ष फर्मबाट २ क्विन्टल माछा उत्पादन भएको र माछा बिक्रीबाट सम्पूर्ण खर्च कटाएर २ लाख बढी मुनाफा भएको उहाँले बताउनुभयो ।

उहाँले प्रतिकेजी ५ सय रुपैयाँका दरले उत्पादित माछा बिक्री गर्दै आउनुभएको छ । व्यावसायिक कृषि कर्ममा घिमिरेलाई परिवारको पनि साथ मिलेको छ । फर्ममा अन्य ३ जनाले रोजगारी समेत पाएका छन् ।


 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया