सुस्त मनस्थिति भएकी महिलालाई गर्भ बाेकाएर असी हजारमा अर्कै युवकलाई जिम्मा

 असार ११, २०७६ बुधबार १८:९:३८ | बुद्ध तामाङ
unn.prixa.net

भाेजपुर - एक जना सुस्त मनस्थिति भएकी महिलालाई गर्भवती बनाएर असी हजार रुपैयाँमा अर्को युवकलाई जिम्मा लगाइएकाे घटना सार्वजनिक भएकाे छ । ८ महिनाको गर्भ बोकेर ती महिला र उनका परिवार न्यायका लागि सदरमुकाममा आइपुगेका छन् ।   

यो घटना भोजपुर नगरपालिकास्थित वडा नं. ११ आम्तेकको हो । गएकाे वैशाखमा २५ वर्षीया सीतामाया (नाम परिवर्तन) ले अवैध गर्भ बोकेको थाहा पाएपछि परिवारले समाज भेला गरेर कागज नै गरेर छिमेकी ‘राजन’ भनिने मोहनलाल बास्तोलालाई जिम्मा लगाएका थिए । सुरुमा केटाले अस्वीकार गरे पनि पछि जनप्रतिनिधि, प्रहरी लगायतले सोधपुछ गर्दा मोहनलालले स्वीकार गरेको पीडित महिलाका बाबुले बताए ।

यसअघि नै बिहे भएकी ती महिला साथमा ५ वर्षको छोरासहित माइतमा बस्दै आएकी थिइन् । उनी सुस्त मनस्थितिको रहेको पारिवारिक स्रोतले जनाएको छ । 
राजनले जिम्मा लिएपछि आफूलाई घरमा नलगी तिवारीभञ्ज्याङ्गको साबुङमा लगेर एक साता राखेको पीडित महिलाले बताएकी छिन् ।

त्यसपछि मोहनलालले ती महिलालाई अरुण गाउँपालिका वडा नं-५, याकुका एक अपाङ्गता भएका युवक र तिनको परिवारलाई फकाएर ती युवकलाई जिम्मा लगाएर गए । ‘८० हजार रकम दिन्छौँ बिहे गर्नुपर्‍यो भने, छोरा अपाङ्ग छ, सहारा पनि चाहिएको थियो, हुन्छ भनियाे, अहिले पो थाहा भयो केटीले अर्काको गर्भ बोकेकी रैछे, पैसा पनि दिएनन्’, युवककी आमाले गुनासाे गरिन् । 

गुपचुप भइसकेको घटना जिम्मा लगाएको एक महिनामै महिलाको गर्भ निकै महिना पुगिसकेको थाहा पाउनु, कबोल गरेअनुसारको पैसा नपाउनु र माइती पक्षले खोज्दै जाँदा मात्र अर्कैलाई जिम्मा लगाएको थाहा पाएपछि बाहिर आएको हो ।

आर्थिक रुपमा दुवै परिवार कमजोर छन् । उनीहरु आफूहरुसँग अड्डा अदालत धाउने, मुद्दा मामिला गर्ने पहुँच र पैसा नभएको गुनासो गर्छन् । प्रहरी प्रशासनले समेत आफूहरुलाई परेको मर्कालाई गम्भीर रुपमा नलिएको उनीहरुको गुनासो छ ।

आफ्नी छोरीचेलीकाे जिम्मा लिएर बिचल्ली पारेर अर्कैलाई वस्तुभाउजस्तो बाटोमै बेचेर हिंड्ने मोहनलाल र त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने र पीडित महिलाको संरक्षण गरिदिनुपर्ने माइती पक्षको माग छ । तर, प्रहरीमा घटना नपुर्‍याउन भन्दै गाउँका केही बुद्धिजीवी र राजनीतिक दलका अगुवाहरु दबाब दिन लागेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् ।

अरुण गाउँपालिका उपप्रमुख विनिता ढकालले रकमको मोलमोलाई गरेर जिम्मा लगाउन खोज्दै गर्दा आफूले सुन्नेबित्तिकै आपत्ति जनाएको बताउनुभयाे । न्यायिक समिति संयोजक समेत रहेकी उपप्रमुख ढकालले भन्नुभयाे, ‘गाउँपालिकामा केही आएको छैन तर छिमेकी र एउटा अगुवा महिलाको हिसाबले मैले बेलामै सचेत गराएको हो, अहिले आएर झन समस्या निम्त्यो ।’

कानुनी जटिलता के छ ? 

भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगर आफूले घटनालाई नियाल्दा केही कानुनी जटिलता देखिएको बताउनुहुन्छ । ‘मोहनलाललाई बहुविवाहको मुद्दा सुरु गर्दा महिला अर्कैसँग गइसकेको देखिन्छ र जिम्मा लगाउन समाज नै साक्षी बसेको छ, उनीहरु सबै दोषी छन् । अवैध गर्भ बोकाएकाले जबरजस्ती करणीमा मुद्दा सुरु गर्दा महिला पछि जिम्मा लगाएको केटासँग छिन् । मानव बेचबिखनमा मुद्दा सुरु गर्दा अहिलेको अपाङ्गता भएको व्यक्तिसमेत दोषी छन् ।’

उहाँले प्रारम्भिक अनुसन्धानमा मोहनलाल र केही व्यक्ति दोषी देखिएकाले उनीहरुलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन प्रहरीले पहल गरेको बताउनुभयाे ।  

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया