लोकल कुखुरापालनमा हरि र तारा: वर्षमै ३ लाख कमाइ

 असार १७, २०७६ मंगलबार १४:२६:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दूधपोखरी गाउँपालिका–५, जोर्नेका हरिप्रसाद गुरुङ र उहाँकी श्रीमती तारा गुरुङले लोकल कुखुरापालन गरेर मनग्य कमाउँदै आएका छन् । उनीहरुले घरमै सुधारिएको खोरमा व्यावसायिक ढंगले लोकल कुखुरा पाल्न थालेको चार वर्ष बितिसकेको छ ।

सुधारिएको व्यवस्थित कुुखुराको खोर उनीहरुको घर आडैमा छ जसमा अहिले झण्डै ३ सयभन्दा बढी लोकल कुखुरा छन् । कुखुरापालनबाट राम्रै आम्दानी भइरहेको ताराले बताउनुभयो । ‘कुखुरा पाल्न थालेको चार वर्ष बित्यो’, उहाँले भन्नुभयो, ‘यसबाट राम्रै कमाइ भइरहेको छ । वर्षमै झण्डै ३ लाख रुपैयाँकमाइ हुन्छ ।’

एक केजी मासुको मूल्य रु. ७ सय ‍

कुखुरापालन व्यवसाय उनीहरुको जीवनकाे दरिलो आधार हो । कुखुरापालनमै उनीहरुको मन रमेको छ । उत्पादन घरबाटै बिक्री हुन्छ । ‘लोकल कुखुराको माग धेरै हुन्छ । माग अनुसार अझै कुखुरा खपत गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो ।

प्रतिकेजी ७ सय रुपैयाँमा उनीहरुले लोकल कुखुराको मासु बेच्दै आएका छन् ।होमस्टेमा लोकल कुखुराको माग धेरै हुने हुनाले उत्पादित कुखुरा घरगाउँका साथै राइनासकोटमा रहेको होमस्टेमा खपत हुँदै आएको छ । 

लोकल कुखुरापालनबाट मनग्य कमाइ भएसँगै उनीहरु यसै व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने योजनामा रहेका छन् । लोकल कुखुरापालनकै लागि गुरुङ दम्पतीलाई पाेखराकाे पशुपंक्षी विकास निर्देशनालयले कुखुराको खोर बनाउन साढे २ लाख रुपैयाँ सहयोग गरेको छ । त्याे रकमबाट उनीहरुले २ सय कुखुरा पाल्न सक्ने क्षमताको कुखुराको खोर बनाएका छन् ।

मासु र अण्डाको माग धेरै

मासुमात्र नभइ लोकल कुखुराको अण्डा समेत उनीहरुले बेच्दै आएका छन् । एउटा कुखुराले २० वटासम्म अण्डा पार्छ । ‘कुखुराको अण्डा बिक्रीबाट पनि कमाउन सकिन्छ । मासुको साथै अण्डाको पनि माग धेरै हुन्छ,’ ताराले थप्नुभयो । प्रतिकुखुराको अण्डा २० रुपैयाँमा बिक्री हुन्छ । गुरुङ दम्पतीको सिको गर्दै छिमेकीहरु पनि लोकल कुखुरापालनमा लागेका छन् ।

कम लगानी: उच्च प्रतिफल

लोकल कुखुरापालनमा लाग्नसके यसबाट मनग्य कमाउन सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । ‘थोरै लगानीबाट यो व्यवसाय सुरु गर्न सकिन्छ । लोकल कुखुराको मासु स्वाद र स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । यसको माग र मूल्य दुवै उच्च छ,’ गुरुङ दम्पतीको कुखुरा व्यवसायकाे अवलोकन गर्दै उहाँले भन्नुभयो । 

होमेस्टेमा कुखुराको माग

गाउँघरमा खुलेका होमस्टेले गर्दा पनि लोकल कुखुराको माग बढ्दो रहेको उहाँले बताउनुभयो । ‘लमजुङ पर्यटकीय जिल्ला हो, यहाँ थुप्रै गाउँमा होमस्टे सञ्चालनमा रहेका छन्,’ उहाँले थप्नुभयो, ‘यहाँ लोकल कुखुराको माग धेरै हुन्छ ।’ लाेकल कुखुरा पालेर नबिक्ला, मूल्य नपाइएला भन्ने चिन्ता खासै नहुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कुखुरालाई चार-चार महिनामा जुकाको औषधी खुवाउनु पर्ने हुन्छ नत्र रोगले क्षति पुर्‍याउन सक्छ ।

गाउँका युवा कुखुरापालनमा

पछिल्लो समय दूधपोखरी गाउँपालिकाका धेरै युवाहरुले गाउँघरमै बसेर लोकल कुखुरापालनलाई अगाडि बढाएको केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो । ‘राम्रो कमाइ हुने भएकाले गाउँका धेरै युवा लोकल कुखुरापालनमा आकर्षित भएका छन् । आवश्यक परामर्शका साथै औषधी केन्द्रले किसानलाई प्रदान गर्दै आएको छ,’उहाँले भन्नुभयो, ‘व्यावसाियक रुपमा कुखुरा पाल्न खोज्ने र कुखुरा पालिरहेका किसानलाई केन्द्रले आवश्यक सहयोग गर्नेछ ।’

उहाँका अनुसार यहाँका किसानले साकिनी, घाँटी खुइले, प्वाँख उल्टे, शिउर गच्मुचे, जुरेलीलगायत जातका लोकल कुखुरा पाल्दै आएका छन् । किसानको रोजाइमा प्राय साकिनी कुखुरा पर्छ । यसले छिट्टो उत्पादन दिन्छ । यसको मासु स्वादिलो हुन्छ । लोकल कुखुरालाई विशेषगरी रानीखेत रोगले सताउने भएकाले यसतर्फ ध्यान दिन उहाँले किसानलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया