भोजपुरमा वडा कार्यालय तोडफोड र आगजनी, बजारमा शंकास्पद वस्तु भेटियाे

 असार १८, २०७६ बुधबार १४:२८:२० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मामा रहेकाे वडा कार्यालयमा मंगलबार राति नचिनेका मानिसहरुकाे समूहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।

नचिनेका मानिसहरुकाे समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्युटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामग्री तथा महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयाे ।

त्यस वडाको परिसरभित्रै भेटिएकाे बमजस्तो देखिने शंकास्पद वस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।

घटनापछि त्यस ठाउँमा सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयाे । घटनास्थलमा बुधबार बिहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ । 

सदरमुकाम नजिकै शंकास्पद वस्तु फेला

भोजपुर सदरमुकामको देउराली सौदाचोकमा बुधबार बिहान एक शंकास्पद वस्तु फेला परेको छ । सौदाचोकबाट बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।   

शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद वस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया