वैदेशिक रोजगारी ठगी धन्दा : आफ्नै भाञ्जा, भतिजाको पनि लाखौँ रुपैयाँ ठगी

 असार २०, २०७६ शुक्रबार १८:३३:४९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – मोरङको लेटाङ नगरपालिकाका १४ जना युवाहरु वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै नातेदारबाट ठगिएका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै  लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले १४ जना युवा ठगेका हुन् । 

लिम्बूले १४ जनालाई नै इजरायल पठाउने भन्दै जनही एक लाखदेखि दुई लाख ८० हजार रूपैयाँसम्म  रकम लिएको पीडितहरुले बताएका छन् ।

लिम्बूविरुद्ध  आफ्नै नातेदार, छरछिमेकी सहित १४ जनाबाट लाखौं ठगी गरेको आरोपसहितको उजुरी श्रम तथा रोजगार कार्यालय विराटनगरमा दर्ता भएको छ । 
सबैसँग गरेर करिब १० लाख ८० हजार रुपैयाँ बिगो दावी भएको कार्यालयका प्रमुख एवं वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । 

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कुलबहादुरको ठगीमा आफन्त र छिमेकीहरु परेका छन् । उनको तीन वर्षदेखिको ठगीमा पर्नेमा उनका आफ्नै भतिजा, भाञ्जादेखि छिमेकी पनि छन् ।

को– को ठगिए ?

कुलबहादुरको ठगीमा पर्नेहरुमा लेटाङ ३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहोरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बू रहेका छन् ।

यीमध्ये हर्कबहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर कुलबहादुरका भाञ्जा हुन् । २०७५ साल असार मसान्तसम्म सबै जनालाई पर्यटक भिसामा इजरायल पठाइसक्ने र पठाउन नसके  तत्काल पैसा फिर्ता दिने भनेर कुलबहादुरले कागजसमेत पनि गरेका छन् ।

पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्क परमिट भिसाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि सबैले प्रति व्यक्ति ८ लाख रुपैयाँ आफूलाई बुझाउनु पर्ने भनेर १४ जनासँगै उनले हस्ताक्षर र औँठाछापसहितको कागज पनि बनाएका छन् ।

काम कृषि फार्म, भित्री धन्दा विदेश पठाउने

कुलबहादुर लिम्बू हाल काठमाडौं टोखा नगरपालिका–८ मा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म चलाउँदै आएका छन् ।  फार्म सञ्चालक लिम्बूको धन्दा भने बिचित्रको रहेको छ । बाहिर देखाउँदा आफू एउटा महान कृषक भनेर देखाउने उनको भित्री धन्दा भने धेरैलाई आश्चर्यचकित पार्ने खालको देखिन्छ । अर्गानिक तरकारी र दूध उत्पादन गर्ने नाउँमा वैदेशिक रोजगारीको अवैध धन्दा चलाउने गरेको पाइएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरमा दर्ता भएको उजुरीको आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिसर टेकुले कुलबहादुरलाई काठमाण्डौबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।

पक्राउ गरेर विराटनगर ल्याइएका कुलबहादुरलाई ३५ दिनभित्र सबै रकम फिर्ता गर्ने गरी कागज गराएर साधारण तारेखमा छोडिएको छ । पैसा फिर्ता नगरेसम्मका लागि उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गरिएको श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलले बताउनुभयो । ‘समयमा पैसा फिर्ता नगरे त्यही जग्गा लिलाम बिक्री गरेर पीडितलाई भराउने प्रक्रिया अघि बढाइने छ’, सञ्जेलले भन्नुभयो  ।

ठगीमा संलग्न अर्का व्यक्ति फरार 

ठगी धन्दामा कुलबहादुरसँगै संलग्न रहेका सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङ अहिले फरार छन् ।

‘ज्ञानबहादुर एक पटक श्रम कार्यालयको सम्पर्कमा आएर फेरि फरार रहेका छन् र खोजी भइरहेको छ’, सञ्जेलले भन्नुभयो, ‘कुलबहादुर र ज्ञानबहादुर दुवै जना विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसमा पनि रोक लगाइसकिएको छ ।’ 

बुधबार तारेखमा बोलाइएका कुलबहादुरले नेपाल सरकारका उपसचिव एवं श्रम अधिकृत सञ्जेललाई पनि कार्यालयभित्रै प्रलोभनमा पार्न खोजेका थिए । तर सञ्जेलले कर्मचारीलाई निर्देशन दिएर उनलाई कार्यकक्षबाट बाहिर निकाल्न लगाउनुभएको थियो ।

ईजाजत बिनै विदेश पठाए

विदेश पठाउन आधिकारिक म्यानपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा कुलबहादुरको आफ्नो म्यानपावरसमेत नभएको पाइएको  छ ।  वैदेशिक रोजगार ऐन २०६४ को दफा १४ ले कसैले पनि म्यानपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा त्योसँग सम्बन्धित काम गर्न रोक लगाएको छ ।   

कुलबहादुरको स्पष्टीकरण 

आफूविरुद्ध यति धेरै प्रमाण हुँदाहुँदै पनि कुलबहादुरले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आफू निर्दोष रहेको दावी गरे ।

सञ्जेलले आफूलाई दुर्व्यवहार गरेको भन्दै कुलबहादुरले आफू कृषक र गाईपालक भएको र कसैलाई विदेश पठाउने धन्दा नगरेको  दावी गरे । तर १४ जनाले श्रम कार्यालयमा दिएको उजुरी र इजरायल पठाइदिने भनेर गरेको कागजका विषयमा भने उनले केही बोल्न चाहेनन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया