लौन के-के तन्त्र ल्याइएछ नि !

 असार २१, २०७६ शनिबार १७:५६:५७ | दामोदर न्याैपाने
unn.prixa.net

फाइल फोटो

हिजोआज नेपाली राजनीतिमा ‘तँ ठूलो कि म ठूलो’ भन्ने प्रतिस्पर्धा चलिरहेको छ, जसलाई राजनीतिज्ञहरुले अति आवश्यक र नभई नहुने प्रतिस्पर्धाका रुपमा लिएका छन् । नेताहरु ‘मपाइँत्व’ को भजन गाएर हिँड्न व्यस्त छन् ।  

जसले फोहोरी राजनीतिको ज्वलन्त उदाहरण दिइरहेको छ । अर्काे अर्थमा भन्दा नेपालको राजनीति भनेको ‘फोहोरी खेल’ नै हो । न्वारनदेखिको बल लगाएर भए पनि मैले विपक्षीलाई रोक्नैपर्छ र विरोध गर्नैपर्छ भन्ने मानसिकता नै आजको नेपाली राजनीतिको मूल मर्म हो र यो मूलधारबाट कुनै पनि पार्टी विमुख हुन चाहँदैनन् । र यस्ता यस्तै अभ्यास र प्रयत्नले नेपाली राजनीतिलाई धमिल्याइदिएको छ । 

चाहे त्यो सत्ता सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी होस् या विपक्षी दल नेपाली कांग्रेस नै किन नहोस् । इतिहासका सजीव पानाहरु पल्टाएर हेर्ने हो भने पनि सत्तामा पुग्नका लागि दलहरुले पटक पटक  धेरै संघर्ष गरेकै हुन् । यो जन्मजात अभ्यास हो र यसलाई कुनै दलले चाहेर पनि नकार्न र त्याग्न सक्दैनन् । 

वर्तमान नेपाली राजनीतिमा सत्तासीन नेकपा र नेपाली कांग्रेसबीच पौंठेजोरी चलिरहेको छ । कसले कसको विरोध गरेर ठूलो हुने भनेर चर्काचर्की छ र यस्तै गैरराजनीतिक र अस्वस्थ प्रतिस्पर्धाले नेपाली राजनीतिलाई धमिल्याउने र फोहोरी खेल बनाउने प्रयास सर्वविदितै छ । यो पुरानो रोग हो र जसको उपचार गर्ने पद्धति अथवा डाक्टर भेट्नै मुश्किल छ । यदि डाक्टर भेटिएको खण्डमा पनि उपचार नगरी लुतो कन्याएरै बस्न खोज्ने राजनीतिक जमात पनि ठूलै छ ।  

अहिलेको अभ्यासले उही पुरानो शासन सत्ताको झल्को दिन्छ । एकाधिकार चाहिँदैन, निरंकुश राजतन्त्र मुर्दावादको नारा लगाएर त्यत्रो संघर्ष गरेर ल्याएको लोकतन्त्र अहिले ‘घुम्यो फिर्यो रुम्जाटार’ जस्तै भयो ।

या भनौँ पूर्व जान पश्चिमतिरको बस चढेकोझैँ भयो । अनि भन्छौँ – ‘खोई! त दाइ अझै पूर्व पुग्न कति लाग्छ ?’ तर पूर्व नै पुग्नको लागि रुट परिवर्तन नगरी सम्भव नै छैन । अनि असम्भवलाई सम्भव गर्छु भन्नु मूर्खताको पराकाष्ठा नै हो । र अन्त्यमा परिणामस्वरुप भ्यागुतो पछारिएझैँ पछारिनुको विकल्प हुन्न । अनि ‘हिस्स बुढी खिस्स दाँत’ भनेझैं हुन्छ ।  

विपक्षीले भने सकारात्मक विपक्षीको भूमिका ननिभाएर शत्रु र दुस्मनको भूमिका निभाएको झैँ देखिन्छ । र उसले विपक्षी भएको नाताले सरकारको एक एक गतिविधिमा औँला उठाउने हो र ‘बोल्यो कि पोल्यो’ वातावरण सिर्जना गर्ने मनसाय बोकिरहेको छ ।

सबै पार्टीको समान प्रतिनिधित्व हुने गरी ल्याइएको कथित लोकतन्त्रलाई ‘शेम शेम पप्पी शेम’ भन्ने काम भैरहेको छ । वर्तमान नेपाली राजनीतिमा कैंयौको ज्यानको आहुति दिएर ल्याएको लोकतन्त्रलाई रमिते र कमजोर बनाउने काम भैरहेको छ । 

लोकतन्त्रमा सबै समान हुन्छन्, सबैको उत्तिकै जिम्मेवारी र कर्तव्य हुन्छ, सबैलाई बराबर अधिकार दिइनेछ भन्ने वाक्यांशलाई वर्तमान राजनीतिक अभ्यासले ठाडै उपहास गरेको छ, या भनौँ ‘कुरीकुरी’ बनाएको छ । यो कसैको लागि हितकर होइन र नेपाली राजनीतिमा फेरि अर्काे डुंगा दुर्घटनाको क्षति हो, जसबाट ठूलो दुर्घटना निश्चित छ । 

वर्तमान राजनीतिले साना केटाकेटीको हाँस्यास्पद खेलको झल्को दिइरहेको छ । खेलमा जित्न नसकेपछि रुने होइन, मैले किन जित्न सकिनँ भनेर मनन गर्ने हो, चिन्तन गर्ने हो, न कि मैले नै जित्नुपर्थ्याे भनेर जिद्दी गर्ने हो । पालैपालो एकले अर्काको विरोध गर्ने परिपाटीले ‘कुट् कुट् बुढी म रुन्छु’ भन्ने उक्तिलाई जीवन्तता दिइरहेको झैँ भान हुन्छ । 

हो, हामीले नै हो निरंकुश र अलोकतान्त्रिक राणा शासन, राजा शासन, पञ्चायत व्यवस्था भनेर भाषण गर्दैगर्दा भिडबाट एकजनाले नेताज्यू अनि वर्तमान अवस्थामा भैरहेको अभ्यासले त उही पुरानै परिपाटीलाई झल्को दिइरहेको होइन र ? भन्ने प्रश्नको उत्तर दिन कोही तयार छ, कि ‘नाइँ मलाई थाहा छैन’ भन्ने । यसको उत्तर खोज्नैपर्छ अनि थाहा हुन्छ के साँच्चिकै लोकतन्त्रकै अभ्यास भएको छ त ?  

२१औं शताब्दीमा सञ्चार र प्रविधिले मात्रै नभई राजनीतिले पनि फड्को मारेको छ । जसरी विकल्पविहीन अवस्थामा सञ्चार र प्रविधिले बहुवैकल्पिक अवस्थाको सिर्जना गरेको छ, त्यसरी नै एकलौटी र एकल राजनीतिको पनि धेरै हाँगा र शाखा पलाइसकेको छ ।

अब नेपाली राजनीतिमा पनि नेपाली जनता विकल्पविहीन बन्न चाहँदैनन् । उनीहरुले बहुवैकल्पिक सिद्धान्तलाई अपनाउँदै तपाइँको स्थानमा अरु कुनै पाटीलाई प्रतिस्थापन गर्न सक्नै भैसकेका छन् र यसलाई हल्कामा लिनु हुँदैन । सक्नुहुन्छ राम्रो गर्नुहोस्, नसके अरु कसैलाई जिम्मा दिनुहोस् । होइन भने ‘साँढेको जुधाईमा बाच्छोको मिचाईं’ गर्न पाइँदैन । 

गल्ती मान्छेबाट नै हुन्छ र सबैलाई एक पटक सच्चिने मौका दिनुपर्छ । सरकारको नेतृत्व गर्ने र सरकारलाई सघाउने प्रतिबद्धताका साथ कुर्सीमा पुगेका जनहरुले अब ढिला गर्नु हुँदैन । त्यत्रो वर्षको उपलब्धि र प्राप्तिलाई जोगाउनतर्फ अग्रसर हुनुको विकल्प छैन । वर्षाैंदेखिको त्यो विघ्न उपलब्धिलाई सिधै खाडलमा हाल्न नेपाली राजनीतिमा यो परिवर्तन भएको होइन । 

र आजको राजनीति भनेको ‘सर्वजन हिताय र सर्वजन सुखाय’ को नै हो । होइन भने नेपाली नागरिकले पुर्पुरोमा हात राखेर ‘लौन के-के तन्त्र ल्याइएछ नि!’ भन्ने दिन आउन धेरै पर छैन । र लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र जे-जे तन्त्र भए पनि सबैको मूल मर्म जनकल्याण नै हो ।  

अन्तिम अपडेट: भदौ ३१, २०७६

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया