सिरिञ्ज आक्रमणको आशंकामा एक जना पक्राउ, बनेपा तनावग्रस्त

 असार २३, २०७६ सोमबार १४:३२:४८ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – बनेपामा सिरिञ्ज आक्रमणको आशंकामा प्रहरीले एक जना पक्राउ गरेको छ ।

सिरिञ्ज आक्रमणको आशंकामा खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

‘पीडितको भनाइअनुसार पाठकले सिरिञ्ज हानेको हो भनेपछि नियन्त्रणमा लिएका हौँ’ सापकोटाले भन्नुभयो । सोमबार बिहान बसमा यात्रा गरिरहेकी एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको बताउनु भएको थियो । महिलामाथि सिरिञ्ज आक्रमण भएपछि पाठकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । 

स्थानीयले पाठकलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्धार गरेर तीनदोबाटोस्थित इलाका प्रहरी कार्यालय लगेको छ । बनेपाको चारदोबाटोमा पक्राउ गरिएका पाठकलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको  प्रहरी प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

स्थानीयले पाठकलाई राखिएको इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । पाठकले भने आफूले सिरिञ्ज आक्रमण नगरेको बताएको प्रहरीको भनाइ छ ।पीडित महिलालाई भने उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको छ । 

पाठक स्याङ्जामा शिक्षण पेशामा आवद्ध भएको भनिए पनि स्थायी ठेगाना भने खुल्न सकेको छैन ।  

अन्तिम अपडेट: चैत १२, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया