चिया खेती : जमिनको उपयोगसँगै आम्दानी पनि

 असार २५, २०७६ बुधबार ११:५९:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मौलिक कला, धर्म, सँस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरीपूर्ण छ, पहाडी जिल्ला लमजुङ । यस जिल्लाले कृषि, जडीबुटी, जलविद्युत् र ग्रामीण पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । 

अहिले लमजुङका दर्जनौँ पर्यटकीय गाउँमा घरबास (होमस्टे) चलाइएको छ । होमस्टेमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु प्रशस्तै आउने गरेका छन् ।

होमस्टेबाटै स्थानीयले राम्रो आम्दानी गरिरहेका छन् । गाउँमा पर्यटकको आकर्षण बढाउन अहिले जिल्लाका थुप्रै पर्यटकीय गाउँमा चिया खेतीकोसमेत थालनी गरिएको छ ।

चिया बगान पर्यटकको रोजाइमा

लमजुङको घलेगाउँ, पसगाउँ, भुजुङ, दुवार, सिउरुङलगायतका धेरै पर्यटकीय गाउँमा चिया खेती गरिएको छ । चिया बगान गाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

‘स्मार्ट भिलेज’को रुपमा अघि बढिरहेको प्रसिद्ध घले गाउँको मुख्य आकर्षणकै रुपमा रहेको छ, चिया बगान । सुरुमा १२ रोपनीबाट सुरु गरिएको चिया खेती अहिले थप विस्तार भएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका सचिव उमल विकले बताउनुभयो । चिया बगाउनले पर्यटकलाई लोभ्याउने गरेको उहाँले बताउनुभयो ।

‘चिया बगान घलेगाउँको एक मुख्य आकर्षण हो । बगानमा घुम्न, फोटो खिच्न पाउँदा पर्यटकहरु खुशी हुन्छन्, ।’ उहाँले भन्नुभयो ।

तार्कुकोटमा पनि चिया खेती सुरु

बाँझो जमिनको उपयोग गर्दै चिया खेतीबाट आम्दानी गर्न सकिने सम्भावना देखेर अहिले लमजुङको सुन्दरबजार नगरपालिका–८,मा रहेको धार्मिक एवम् ऐतिहासिक महत्वको तार्कुकोटमा पनि चिया खेतीको थालनी गरिएको छ । 

तार्कुकोट चिया विकास तथा कृषि, पर्यटन प्रवद्र्धन समिति र स्थानीय जग्गा धनीबीचको आपसी सहमतिमा पाखो, बाँझो जमिनमा चिया खेतीको थालनी गरिएको हो ।

स्थानीय जग्गा धनी र समितिको आपसी सहमतिमा सुरुवातको चरणमा झण्डै ३० रोपनी जग्गामा ५ हजार ५ सय चियाको बिरुवा रोपिएको समितिका सचिव भीमबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङको सिउरुङबाट प्रतिविरुवा ११ रुपैयाँका दरले बिरुवा खरिद गरी ल्याइतार्कुकोटमा रोपिएको हो । ‘आउँदो साउन १५ गतेभित्रमा झण्डै ५० रोपनी जग्गामा ११ हजार चियाको बिरुवा लगाउने समितिको लक्ष्य छ,’ उहाँले भन्नुभयो ।

उहाँकाअनुसार गाउँमा कृषि, पशुपालन र पर्यटन विकासको उच्च सम्भावना हुँदा हुँदै गाउँ छोडेर अन्यत्र बसाइँ सरी जानेको संख्या धेरै छ ।

बाँझो जमिनको उपयोग गर्दै गाउँमा कृषि, पर्यटनको विकासका साथै गाउँ छोडेर बसाइँ सरी अन्यत्र गएकालाई गाउँमा फर्काउन र स्थानीयलाई गाउँमै रोजगारी दिलाउनका लागि यो कदम चालिएको उहाँले बताउनुभयो ।

सम्भावित क्षेत्रमा चियाको विस्तार गरिने

सुन्दरबजार नगरपालिका भित्रका सम्भावित क्षेत्रमा चियाको विस्तार गरिने सुन्दरबजार नगरपालिकाका नगर प्रमुख जनकराज मिश्रले बताउनुभयो ।

उहाँका अनुसार सम्भावित क्षेत्रमा चिया खेती गर्दा बाँझो जमिनको उपयोग हुन्छ । घर गाउँमै रोजगारीको अवसर सिर्जना हुनसक्छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया