बागमती नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन आग्रह

 असार २७, २०७६ शुक्रबार ६:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । 

महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बागमतीमा शुक्रबार पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गर्दै त्यहाँका बासिन्दालाई मोबाइलमा सन्देश समेत पठाइसकेको जानकारी दिनुभयो । 

यस्तै, शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन उहाँले अपील गर्नुभएको छ । झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असोज २०, २०७६

तपाईको प्रतिक्रिया