उर्लियो हनुमन्ते, डुबानमा भक्तपुर

 असार २७, २०७६ शुक्रबार १७:४४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान भएको छ । बिहीबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । 

हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सर्तकतामा रहन आग्रह गरेको छ भने नदी किनारामा बसेका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले हनुमन्तेमा बाढी बढेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रजिअ सहित नेपाली सेना, प्रहरीसहितको टोलीले डुबानको जोखिममा रहेको क्षेत्रहरुको अनुगमन समेत गरेको छ ।

प्रजिअ भन्नुभयो, ‘हनुमन्ते नदी किनाराका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेका छौँ, बाढी बस्तीमा पसेमा तत्काल उद्धार गर्न नेपाली सेना, प्रहरीलगायतको विपद् व्यवस्थापनका टोली समेतलाई तयारीमा राखेका छौँ, नेपाली सेनाका टोली जोखिम रहेको ठाउँमा परिचालन भएका छन् ।’

नदी थुनिएको ठाउँहरुमा नेपाली सेनाको टोलीले खोला खोल्ने काम गरिरहेका छन् । बाढी भक्तपुर नगरपालिकाको सूर्यविनायक राम मन्दिर, बाराहीस्थान, मध्यपुरथिमिको राधेराधे, शंखधर चोक, सूर्यविनायक नगरपालिकाको बालकोट, चारदोबाटोलगायतका क्षेत्रमा बाढी बस्तीमा पस्न थालिसकेका छन् । शंखधर चोकबाट दधिकोट जाने पुल भासिएको छ । मध्यपुरथिमि नगरपालिकाका बिस्कुट कारखाना, तरकारी बजारलगायतका क्षेत्र डुबानमा परेका छन् । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोलीहरु भक्तपुरमा आइपर्ने विपदमा हुने जोखिम न्यूनीकरणका लागि उच्च सतर्कतामा रहेका छन् । प्रतिनिधि सभाका सांसद महेश बस्नेतको पहलमा यस वर्ष २० लाख रुपैयाँको विपद व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरिद गरेर तयारी हालतमा राखिएको छ । 

गएको वर्ष असार २८ गते परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर नगरपालिकाको जगातीदेखि सल्लाघारीसम्म, मध्यपुरथिमि नगरपालिकाको राधेराधे क्षेत्र, कमेरोटार क्षेत्र, मध्यपुर अस्पताल, शंखधर चोक, अरनिको राजमार्ग, सागबारी, सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट लगायतका क्षेत्रमा हनुमन्तेको बाढी पस्दा सयाैँ घर डुबानमा पर्नुका साथै करोडौँको क्षति भएको थियो । 

यस वर्ष हनुमन्ते करिडोर निर्माण सुरु भएसँगै हनुमन्तेको बाढी बस्तीमा नपस्ने आशा थियाे तर भू–माफियाको चलखेलमा हनुमन्ते करिडोर निर्माण रोकिएर थप समस्या आएको हो । 

सांसद बस्नेतले बाढीको जोखिममा रहेका क्षेत्रहरुको अनुगमन गर्दै हनुमन्ते करिडोर निर्माण रोकिँदा थप समस्या आएको बताउनुभयो । उहाँले हनुमन्ते करिडोर निर्माण रोकिएकै क्षेत्रमा पानीको बहाव फर्किएर गएको पाइएको बताउँदै जोखिम न्यूनीकरण गर्ने आवश्यक पहल भैरहेको बताउनुभयो ।

२०७५ मंसिरदेखि हनुमन्ते करिडोरको निर्माण कार्य सुरु भएर असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हनुमन्ते करिडोर निर्माण असार लागेलगत्तै भू–माफियाको चलखेलमा रोकिएको हाे ।  

निर्माण कार्य मध्यपुरथिमि नगरपालिका–३ र सूर्यविनायक नगरपालिका-३ मा पर्ने चारदोबाटो क्षेत्रमा पुगेपछि २०२१ सालको नापी नक्सा अनुसार खोला बग्न दिन हुन्न भन्दै भूमाफियाहरुले अवरोध पुर्‍याएपछि करिडोर निर्माण रोकिएको बालकोटमा रामशरण श्रेष्ठले बताउनुभयो । 

आज आएको बाढी करिडोर निर्माण रोकिएकै ठाउँबाट फर्किएर बस्तीमा बस्न थालेको बताउदै यसबाट हुने क्षतिको जिम्मेवारी रोक्ने व्यक्तिहरुले लिनुपर्ने बताउनुभयो । 

मध्यपुरथिमि नगरपालिका क्षेत्रमा ब्लक कारखानाले पर्खाल लगाएर दुई दशकदेखि कब्जा गर्दै आएको करोडौँको मूल्य पर्ने सात रोपनी सार्वजनिक जग्गा झिक्न पर्खाल भत्काएपछि भूमाफियाको चलखेलमा हनुमन्ते करिडोरको काम रोकिएको स्थानीयको गुनासो छ । 

जग्गाधनीको सहमति अनुसार सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले संयुक्त रुपमा तयार पारेको नक्साको आधारमा दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी नदीको बहावलाई व्यवस्थित गर्दै जग्गाको विवाद ल्याण्डपुलिङ्गको माध्यमबाट समाधान गर्ने, अतिक्रमण भएका सार्वजनिक जग्गाहरु फिर्ता गरी व्यवस्थित गरिने सहमति अनुसार करिडोर निर्माण भएपछि एक महिनादेखि रोकिएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया