काठमाण्डौमा बस्नेहरु कति बलिया !

 असार २८, २०७६ शनिबार १७:३०:० | जानुका दुवाडी
unn.prixa.net

संघीय राजधानी काठमाण्डौ आफैँमा एउटा विषेश, फरक र विचित्रको शहर हो । शाब्दिक अर्थ बाहेक काठमाण्डौको परिभाषा भोगाइ र अनुभव अनुसार फरकफरक हुन सक्छ । मैले यहाँ दिन चाहेको काठमाण्डौको परिभाषा भनेको यो एउटा संसारका सबैभन्दा बलिया मान्छे बस्नेहरुको शहर हो । जसले विज्ञानका परिभाषा, औषधि विज्ञानका मान्यता र समाजशास्त्रका सबै मान्यताहरुलाई चुनौती दिएको छ । 

यहाँ अचम्म लाग्न सक्छ यो कसरी बलियाहरुको शहर भयो भनेर ? बलियाको शहर यस अर्थमा कि यहाँ बस्ने प्रायः सबैले बिहान उठेदेखि बेलुका नसुतेसम्म हरेक पल र हरेक पाइलामा दुनियाँका सर्वमान्य मान्यताहरुलाई नै चुनौती दिइरहेका छन् । बलियो योे अर्थमा कि हामी काठमाण्डौमा बस्नेहरु फोक्सोमा धुँवाधुलो, आन्द्रोमा फोहर पानी र विषादी तथा टाउकोमा अनेकौँ चिन्ता लिएर पनि फेसबुक र टिकटकमा मुस्कान दिन छोडेका छैनौँ ।  

अनेकौं रोगहरु बोकेर बहने हावा 

सबैभन्दा पहिला कुरा गरौँ हावाको । स्वच्छ हावा सबैका लागि अपरिहार्य आवश्यकता हो । सबै मानिसलाई बाँच्नका लागि स्वच्छ हावा चाहिन्छ । तर काठमाण्डौमा बस्ने सबै मानिसले बिहान उठ्नेबित्तिकै प्रदूषित हावा लिनुपर्छ । काठमाण्डौमा बस्ने धेरै मानिस प्रायः कोठामा बस्दैनन् । पढ्ने, लेख्ने, जागिर, खाने लगायतका अनेकौँ इच्छा, आकांक्षा लिएर खाल्डो छिरेपछि कोठामा बसेर आफ्नो उद्देश्य पनि पूरा हुँदैन । बाहिर त निस्कनै पर्र्यो ।

बाहिर निस्कन पनि हिजोआज निक्कै समस्या छ । एउटा माक्स बोक्नै पर्र्यो । माक्स लगाएर हिँडौ सरकार बिरोधी भनेर जेल जानुपर्ने हो कि भन्ने डर, माक्स नलगाई बाहिर निस्कौँ भने धुँवा र धुलोको खतरा ।  त्यो भन्दा पनि खतरा चाहिँ  यो त सरकार पक्षको हो कि भन्छन् भन्ने डर । 

अब बिहानै उठेर मर्निङवाक त गर्ने कुरै भएन । मर्निङवाक  त जब कामका लागि कोठाबाट निस्कनुपर्छ, तब गाडीको ठेलमठेल, कहिले वल्लो कुना र कहिले पल्लो कुनामा पुग्दा र मान्छेको ठेलमठेलबाट माइक्रोभित्र मर्निङ वाक भइहाल्छ । 

गाडीभित्र स्वास फेर्न पनि निकै कठिन हुन्छ । फेरि बाह्रै महिना धुँवाधुलो मात्रै हुन्छ र ? यसको मात्रै कुरा गरेको भन्नुहोला । हुन त अहिले वर्षातकाे समय छ । बेलाबेला पानी पर्छ ।बाटो हिलोले हिँडिनसक्नु हुन्छ । पानी पर्छ भनेर छाता किन्दा पनि सानो हलुङगो छानेर किन्नुपर्छ । एउटा हातमा छाता बोके पनि अर्को हातले चप्पल समाउनुपर्ने हुन्छ । कतिखेर कहाँ कस्तो खाडल र चिप्लो छ पत्तो हुँदैन । कहिले चप्पल हातले बोक्नुपर्‍याे त कहिले लगाउनु पर्‍याे ।

यस्तो विचित्र संसार अरु ठाउँमा प्रायः नहोला पनि यो अर्थमा पनि हामी सबैभन्दा बलिया छौँ । 

सीमित  र प्रदूषित पानी 

अब कुरा आयो पानीको । काठमाण्डौमा पानीको कुरा मैले गरें भने इन्द्रका अगाडि स्वर्गको बयान गरेझैँ हुन्छ । काठमाण्डौका हरेक ठाउँमा रित्तो गाग्रीको लाइन नदेख्ने त सायद कोही पनि छैनन् होला । धारामा  पानी आउँदैन । त्यसमाथि पनि भाडामा बस्नेहरुले १, २ बाल्टी पानीले खाना बनाउन, पिउन, लुगा धुन, नुहाउन, सबै पुर्‍याउनुपर्छ । त्यसमाथि कोठामा पाहुना आएको दिन बित्यास । घरबेटी अलि राम्रै परे भने १, २ बाल्टी थप पानी देलान् । तर धेरै घरबेटीलाई अरुको पाहुनासँग मतलब हुँदैन । केबल  घर भाडाको मात्रै मतलब हुन्छ । त्यसमाथि वातावरण प्रदूषण र फोहोरका कारण पानीको गुणस्तर पनि छैन । धन्न त्यस्तो पानी पिएर पनि हामी फूर्तीसाथ आफ्नो काम गरिरहेका छौँ । 

ढाड सेकाउने बजारभाउ

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती कहिल्यै नदेखेकाले पनि काठमाण्डौमा गैँडा हात्तीसँग निक्कै परिचित हुनुपर्छ ।  त्यसको जोरजाम गरिराख्नु पर्छ । कतिखेर के पर्छ कसलाई के थाहा ? बिहान खल्तीमा हात्ती राखेर बेलुका फर्किंदा त्यो हात्ती कता पुगिसक्छ । गैँडासमेत बाँकी हुँदैन । बिहान बेलुका हातमुख जोर्नै पर्‍याे । यतिले मात्र हातमुख नै जोर्ने त हो । बजारमा तरकारी किन्न गयो भने भाउ सुन्दा एकछिन भनन रिँगटा नै लाग्छ । नकिनि पनि भएन । हुन त हामीले तरकारी किन महङगोमा किन्न नपरोस् त्यसमा विषादी पनि मिसिएको हुन्छ । ९० प्रतिशत त हामीले तरकारीको भन्दा पनि विषादीको पैसा तिर्नुपर्छ । त्यस्तो विषादी खाएर  बेलाबेलामा बिरामी भएर पनि हामी  टिकिराखेका छौँ । 

 रोगभन्दा पनि डरलाग्दा डाक्टर 

विभिन्न कारणले बेलाबेला बिरामी परिन्छ । बिरामी भएपछि अस्पताल जानै पर्‍याे । अस्पताल जानका लागि घरमा १ कल फोन गरेर वा साथी भाइलाई सम्झनै पर्र्यो । अरु बेलामा काममा व्यस्त भए पनि यस्तो बेला पैसाकै लागि भने पनि सम्झन पर्र्यो । किनकी अस्पतालमा जाने बित्तिक्कै  ५-७ हजार त त्यत्तिकै सकिन्छ । टिकट खर्चदेखि लिएर पुरै शरीर जाँच गर्नै पर्‍याे ।

बिचरा डाक्टरले पनि के गरुन् । धेरै बिरामी, थोरै डाक्टर त्यही पनि कति धेरै खर्च गरेर मेहनत गरेर पढेको हुन्छ । आफूले लगानी गरेर पढेजति पैसा पाउन पनि गाह्रो छ । त्यसलै के राम्रोसँग जाँच गर्नु भन्ने सोच्दा हुन् सायद, त्यसैले टाउको दुखेर गयो भने खुट्टा भाँच्चिएको औषधि दिएर पठाउँछन् । घाँटीको अप्रेसन गर्न पर्‍याे भने पाठेघरको अप्रेसन गरेर पठाउँछन् ।  त्यो सबै सहनसक्ने क्षमता सायद अरु ठाउँका मानिसमा कम नै होला । 

यी सबै कुराले काठमाण्डौका बासिन्दा कति बलिया छन् भन्ने कुरा त स्पष्ट भइ नै सक्यो । यति हुँदाहुँदै पनि काठमाण्डौबाट बाहिर जान कसैले मान्दैन । सबैलाई यही खाल्डोमा बस्नुछ । यति सहेर पनि सबै खुसी नै देखिन्छन् । कसैले राष्ट्र र समाजको चिन्ता गर्न छोडेका छैनन् । देशको हरेक पक्षलाइ साथ दिएकै छन् । यसैबाट प्रष्ट हुन्छ हामी कति बलिया र सहनशील छौँ भन्ने कुरा । 
 

अन्तिम अपडेट: असोज १५, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Gyanendra

    July 13, 2019, 7:58 p.m.

    Realistic article. Thanks to auther for daring to accept the truth.

  •  0 Reply

तपाईको प्रतिक्रिया