बाढी–पहिरोमा अहिलेसम्म ६५ जनाको मृत्यु, ४८ जनाको सनाखत

 असार ३०, २०७६ सोमबार ८:३०:४ | उज्यालो सहकर्मी

काठमाण्डाै - गएकाे पाँच दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६५ जनाको ज्यान गएकाे भएको छ । ज्यान जानेमा २४ महिला र ४१ जना पुरुष रहेका छन् । 

विपद्मा परेर ३८ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाकाे सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् ।

पैसट्ठीकाे मृत्यु

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म देशका विभिन्न जिल्लामा मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । सबैभन्दा बढी प्रदेश नं १ मा मानवीय क्षति भएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार प्रदेश नं १ मा २०, प्रदेश नं २ मा १८, प्रदेश नं ३ मा १५, प्रदेश नं ५ र कर्णालीमा दुई­दुई तथा उपत्यकाको दुई जिल्ला काठमाण्डाै र ललितपुरमा आठ जना गरी ६५ जनाको ज्यान गएको हो । उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापा र उदयपुरमा दुई–दुई, पाँचथर, सुनसरी, इलाममा एक­एक जनाको ज्यान गएको छ ।

प्रदेश नं २ अन्तर्गत रौतहटमा पाँच, सिराहामा ४, धनुषामा ३, महोत्तरी, पर्सा र बारामा दुई­दुई गरी १८ जनाको मृत्यु भएको छ । प्रदेश नं ३ अन्तर्गत काभ्रेमा तीन, सिन्धुली र मकवानपुरमा चार–चार, धादिङमा दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै प्रदेश नं ५ को पाल्पा र दाङमा एक­एक तथा कर्णाली प्रदेशको डोल्पामा दुई जनाको मृत्यु भएको छ । बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं १ को झापा र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् । प्रदेश नं २ को महाेत्तरीमा २ तथा रौतहट, पर्सा र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं ३ को सिन्धुलीमा चार र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं ५ को दाङमा एक र कर्णाली प्रदेशको डोल्पास्थित कासिल खोलाले बगाएर ९ जना बेपत्ता भएको प्रहरी प्रहरी प्रधान कार्यालयले जनाएकाे छ । 

घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं १ मा १६, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट ३ सय ४७, प्रदेश नं १ बाट १२, प्रदेश नं २ बाट ८ सय २७ र प्रदेश नं ३ बाट २ सय ५८ जनाको उद्धार गरेको जनाएको छ । अन्य केही ठाउँबाट उद्धार गरिएको भए पनि विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये ४८ को सनाखत

मृत्यु भएका ६५ जनामध्ये ४८ जनाको सनाखत भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखन भएको जानकारी दिनुभयो । 

प्राप्त विवरणअनुसार झापाको दमक नगरपालिका–१० की एलिजा न्यौपाने र झापाकै सौगात चापागाईंको खोलाले बगाएर तथा भोजपुरका जगतबहादुर राई, जनक विक, मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गएको हो ।

इलामको चुलाचुलीका मानाहाङ लावतीको खोलाले बगाएर मृत्यु भएको छ भने ओखलढुङ्गाको चिसङखुगढी गाउँपालिका–४ का पासाङपुटी शेर्पा, सिद्धिचरण गाउँपालिका–६ का कान्छीमाया श्रेष्ठ, मोलुङ गाउँपालिका–७ का खपुटी शेर्पा र याङ्जी शेर्पाको बाढी–पहिरोमा परेर ज्यान गएको हो ।

यस्तै खोटाङको खोटेहाङ गाउँपालिकाका रेखा राई, रोमन राई र रोहन राई तथा सिराहा मिर्चैया नगरपालिका–४ का रागनीकुमारी महत्तो, रौतहट गौरका शिवमङ्गल राउत र उमेश राउत, दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र मिश्र, इसनाथ नगरपालिका–१ का हरेन्द्र राय यादवको पनि विपद्मा परेर मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिका निखिल पटेल, बारा परवानीपुरका विकी यादव, कलैया उपमहानगरपालिकाका अजित सिंह, रामेछापका पदमकुमारी सुनुवार, सिन्धुलीको फिक्कल गाउँपालिकाका हेककुमारी सुनुवार, दुधौली नगरपालिका–४ का कार्बन कपाली, सुनिता पौडेल र सविता पौडेलको समेत मृत्यु भएको केन्द्रले जनाएको छ । 

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ का गोमा दङ्गाल र सुहावी दङ्गाल तथा रोशी गाउँपालिकाका कृष्णदेवी रायमाझीको समेत मृत्यु भएको छ । काठमाडौँ मूलपानीमा र्शिमला यादव, नितु यादव, कुन्दन यादव, ललितपुरको वाग्मती गाउँपालिकाका सुरज जिम्बा र सीता रानामगर, महाङ्काल गाउँपालिकाका अविरल गोले तथा ललितपुरकै सन्दीप ल्हो, सानुमैयाँ ल्हो, कुसुन्तीका सुवेश बस्नेतको समेत मृत्यु भएको छ । 

मकवानपुरको कैलाश नगरपालिका सानुकान्छा सुनार, थाहा नगरपालिकाका सन्तमायाँ बलामी, इन्द्रसरोवरका सृष्टि डिमडुङ तथा धादिङ गजुरी गाउँपालिकाका अस्मिता तामाङ र बेनीघाटरोराङ गाउँपालिकाका राजकुमार ठकुरीको पनि विपद्मा परेर मृत्यु भएको छ ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ का धनबहादुर सुनार, डोल्पाका धर्मराज बोहरा तथा दाङको बङ्गलाचुली गाउँपालिका–८ का भक्तसिंह बैजालीको पनि मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणमा उल्लेख छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया