मकवानपुरको मार्खुमा पहिरो, बिहान छिमेकीको घरै नदेखेपछि प्रहरीलाई गरिएकाे थियाे खबर

 असार ३०, २०७६ सोमबार १०:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरको मार्खुमा आइतबार रातीको वर्षाका कारण पहिरोले घर पुरिँदा दुईजना बेपत्ता भएका छन् । अर्का एक जना पहिरोमा परी घाइते भएका छन् ।

आइतबार राती लगातार त्यस क्षेत्रमा पानी परेकाले पहिरो खसेर घर बगाउँदा दुईजना पुरिएको आशंका गरिएको छ । पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुकी कान्छीमाया बलामी र १८ वर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

पहिरोमा ३८ वर्षीया बुहारी बेली बलामी घाइते भएकी छिन् । आइतबार राति नै पहिरो खसेको भए पनि स्थानीयले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकीले बलामीकोे घरै नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । 

पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङकाे टाेली खटिरहेकाे छ । घर माथि रहेकाे डाडा भस्केर घरलाई पुरेकाे छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया