१ लाख ८० हजार घुससहित  इन्जिनियर पक्राउ

 असार ३०, २०७६ सोमबार १४:५५:३३ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा मध्यान्ह १२ बजेतिर अख्तियारले पक्राउ गरेको हो । षडानन्द नगरपालिका वडा नं. १३ मा रहेको छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस लिएको बताइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको झण्डै ९८ लाख लागत अनुमान रहेको  सिँचाइ आयोजनाको यो वर्ष १७  लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिसन दिए मात्र मूल्यांकन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।

आर्थिक वर्षका अन्त्यमा कार्यालयमा उपभोक्ताहरुको कामको चापलाई छाडेर हिंडेका इन्जिनियर यादव कार्यालय नजिकै रहेको फुपू-भदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले त्यही होटलबाट उनीहरुलाई रंगेहात पक्रेको हो ।

भोजपुर नगरपालिका वडा नं. १० भैसिपंखा खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफराकमा समेत इन्जिनियर यादवले आलटाल गरेपछि आफूले बाध्य भएर अख्तियार गुहार्नुपरेको र भ्रष्टाचारीलाई नंग्याइएको त्यस सिँचाइ आयाेजनाका उपभोक्ता एवं नेपाली कांग्रेस भोजपुरका सचिव चक्रबहादुर कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया