प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा कांग्रेस सभापतिको आपत्ति

 असार ३०, २०७६ सोमबार १६:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साउन आठ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सचिवालयले सोमबार सूचना टाँस गरी साउन ८ गते बुधबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउनु भएको हो । उहाँले देश विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढ्नुपर्नेमा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गर्नुभयो ।

‘विपत्तिका बेला सिंगो संसद एकताबद्ध भएर अघि बढ्न नेपाली कांग्रेसले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो,’ सभापति देउवाले भन्नुभयो, ‘तर सरकारले देश संकटमा रहेको बेलामा पनि यो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।

’सभापति देउवाले देश संकटमा परेको बेला संसद बैठकमा यस सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भए पनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको दाबी पनि गर्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया