८ लाखकाे चेक लिएर गएका उपभाेक्तालाई बैंकले २ लाख मात्र दियाे

 असार ३१, २०७६ मंगलबार १८:२४:५७ | उषा तामाङ
unn.prixa.net

दोलखा – रकम अभाव भएपछि पूरा भुक्तानी नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

चालु आर्थिक वर्षको अन्तिम दिन आज मंगलबार स्थानीय सरकारले दिएको चेक बोकेर सदरमुकाम चरिकोटमा रहेको नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड दोलखा शाखामा पुगेका सर्वसाधारणले पाउनुपर्ने सम्पूर्ण रकम नपाएको हुन् ।

खानेपानी योजना सम्पन्न भएपश्चात तामाकोशी गाउँपालिकाले भुक्तानी ८ लाख रुपैयाँ लिन उपभोक्ता समितिका पदाधिकारी नेपाल बैंक पुगे पनि मंगलबार २ लाख मात्रै पाइएको समितिका राजन पोखरेलले बताउनुभयो ।

दिउँसो १ बजेसम्म चेकअनुसारको रकम भुक्तानी दिएको नेपाल बैंक लिमिटेड दोलखा शाखाले १ बजेपछि भने रकम अभाव हुने देखिएपछि २ लाख रुपैयाँसम्म मात्रै भुक्तानी दिएको बताएको छ ।

नेपाल बैंक लिमिटेड दोलखा शाखाका शाखा प्रबन्धक विदुरविक्रम थापाले मंगलबार मात्रै झण्डै ५ करोड रुपैयाँ बराबरको भुक्तानी दिइएको बताउनुभयो । मंगलबारका लागि झण्डै  १० करोड रुपैयाँ स्टक आवश्यक पर्ने भए पनि ५ देखि ६ करोड रुपैयाँ मात्रै स्टक भएका कारण दिउँसो १ बजेबाट २ लाख रुपैयाँसम्म मात्रै भुक्तानी दिइँदै आएको बताउनुभयो ।

मंगलबार विशेष गरी उपभोक्ता समिति र प्रदेश खाताको रकम भुक्तानी भएको थियो । रकम अभावका विषयमा राष्ट्र बैंकसँग समन्वय भइसकेकाले बिहीबारबाट पूर्ण रुपमा सेवा सहज हुने नेपाल बैंक लिमिटेड दोलखाले जनाएको छ ।

बैंकले असार महिनामा मात्रै झण्डै ४० करोड रुपैयाँ भुक्तानी दिएको शाखा प्रबन्धक थापाले बताउनुभयो । मंगलबार पूरा भुक्तानी नपाएकाहरुले बिहीबारबाट सम्पूर्ण रकम प्राप्त गर्नेछन् । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया