दोलखामा एचआईभीकाे निःशुल्क उपचार सेवा सुरु

 साउन ६, २०७६ सोमबार १४:४०:५८ | उषा तामाङ
unn.prixa.net

दोलखा – सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र/प्रस्तावित चरिकोट अस्पतालले एचआईभी/एड्सको निःशुल्क उपचार सेवा सुरु गरेको छ । 

अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभी/एड्सको निःशुल्क परीक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । अस्पतालमा एचआईभी/एड्सको कार्यक्रम सञ्चालन भएपछि निःशुल्क उपचार सेवा दिन थालिएको अस्पतालले जनाएको छ । 

डाक्टर दंगालका अनुसार दोलखाका ७ जना एचआईभी/एड्सका बिरामीले काठमाण्डौबाट औषधि सेवन गरिरहेका छन् । समाजमा गरिने घृणा एवं लाजका कारण उनीहरु काठमाण्डौबाट नियमित उपचार सेवा लिन बाध्य छन् । 

प्रस्तावित चरिकोट अस्पतालले सुरु गरेको एचआईभी/एड्सको निःशुल्क उपचार सेवाबाट एचआईभी/एड्सका बिरामी र नयाँ प्रभावितले जिल्लाबाटै निःशुल्क रुपमा सहज उपचार सेवा प्राप्त गर्नेछन् ।

यसैगरी गएको आर्थिक वर्षमा १३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएपछि अस्पतालमा 'एन्टी स्नेक भेनम सेन्टर' स्थापना गरिएको छ । उक्त केन्द्रबाट सर्पले टोकेका बिरामीको छिटो, छरितो र प्रभावकारी ढंगले निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ । 

दोलखाको भिमेश्वर नगरपालिका, वैत्यश्वर गाउँपालिकालगायतका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया