यूएईको नेपाली दूतावासमा ‘टोकन प्रणाली’, छिटो र स्तरीय काम हुने विश्वास

 साउन ६, २०७६ सोमबार १५:५५:५४ | उमाकान्त पाण्डे

यूएई – यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासले टोकन प्रणाली लागू गरेको छ । दूतावासमा सेवा लिन आउने सेवाग्रहीलाई समयमै स्तरीय सेवा प्रदान गर्ने भन्दै दूतावासले सोमबारदेखि टोकन प्रणाली सुरु गरेको हो । 

दूतावासको प्रवेश कक्षमा टोकन प्रणाली यन्त्र र नम्बर देखाइने एलईडी डिस्प्ले राखिएको छ । त्यहीँबाट सेवाग्राहीलाई टोकन वितरण गर्दै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले टोकन प्रणालीको उद्घाटन गर्नुभयो ।

दूतावासमा आउने सेवाग्राहीलाई आफ्नो कामका लागि धेरै समय पर्खिन नपरोस् र झण्झट नहोस् भन्नका लागि टोकन प्रणाली लागू गरिएको दूतावासले जनाएको छ । 
अब दूतावास आउने हरेक सेवाग्राहीले सम्बन्धित कामका लागि आवश्यक कागजात ल्याए, नल्याएको दूतावासका कर्मचारीले प्रवेशद्वारमै हेर्नेछन् । 

आवश्यक कागजात भएका सेवागा्रहीलाई मात्र कुपन दिएर सम्बन्धित कक्षमा पठाइने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

टोकन प्रणाली लागू भएसँगै दूतावासको प्रवेशद्वारमा राखिएको लकरमा आफ्नो झोला, मोबाइल तथा विद्युतीय उपकरण राख्ने र प्रवेश अनुमति  लिएर सेन्सर चेकिङ हुँदै टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।        

अन्तिम अपडेट: बैशाख ८, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया