यसरी बन्दैछ रानीपोखरी

 साउन ८, २०७६ बुधबार ८:३७:१९ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – २०७२ सालको भूकम्पले काठमाण्डौ उपत्यकाका प्राचीन, मल्लकालीनलगायतका सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदामा पनि नराम्ररी क्षति पुर्‍यायाे । भूकम्पले भत्काएका केही सम्पदाहरु पुनर्निर्माण सम्पन्नको चरणमा छन् भने केही सम्पदाहरु पुनर्निर्माणकै क्रममा छन् । केही सम्पदा भने अझै पुनर्निर्माणकै पर्खाइमा छन् । 

मल्लकालीन समयको रानीपोखरीको पुनर्निर्माणले पनि गति लिएको छ । यसअघि पटक पटक गरी स्थगित भएको रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिबाट सुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले पाएको जिम्मेवारी खोस्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले झण्डै १० करोड बढी रुपैयाँको बजेटमा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण सुरु गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार परम्परागत शैली, प्रविधि र निर्माण सामग्रीलाई पछ्याउँदै मल्लकालीन ‘ग्रन्थकुट’ (शिखर) शैलीमा रानीपोखरीको पुनर्निमाण गरिँदैछ । 

गएको माघ १४ गते बसेको मन्त्रिपरिषद बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत पुरातात्विक सम्पदाको पुनर्निर्माणको सबै कामको जिम्मा प्राधिकरणलाई दिएको थियो । यसअघि विभिन्न कम्पनीले रानीपोखरीको पुनर्निर्माण गर्ने भनिए पनि केही कम्पनी अयोग्य ठहरिएका थिए भने कुनै कम्पनीले ठेक्का रकमभन्दा झण्डै ११ प्रतिशतभन्दा बढी रकम माग गरेको थियो । 

रानीपोखरी पुनर्निर्माण तीन चरणमा सम्पन्न गर्न विज्ञहरुले सुझाएका थिए । रानीपोखरी पुनर्निमाण उपसमितिका अध्यक्ष अजयरत्न शाक्यले अहिले रानीपोखरी पुनर्निर्माणमा ४८ जना महिला कालिगढ र १५ जना पुरुष डकर्मीहरु खटिएको र आवश्यकताअनुसार संख्या बढाउन सकिने उज्यालो अनलाइनलाई बताउनु भयो । ‘तिहारसम्म पुनर्निर्माणको काम सक्ने योजनाका साथ धमाधम काम भैरहेको छ । स्रोत र साधनले भ्याएसम्म काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।   

पटक-पटकको विवादपछि पुनर्निर्माण प्रक्रियामा 

रानीपोखरी पुनर्निर्माण र विवादले छुट्टै इतिहास बोकेका छन् । तीन पटकसम्म टेण्डर खारेज पनि भयो । केही कम्पनी अयोग्य ठहरिएका थिए भने कुनै कम्पनीले ठेक्का रकमभन्दा झण्डै ११ प्रतिशतभन्दा बढी रकम माग गरेका थिए ।  

त्यसपछि काठमाण्डौ महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण हामी आफैँ गर्छाैं भनेर जिम्मेवारी हातमा लिएको थियो । तर परम्परागत शैली मास्दै महानगरपालिकाले आधुनिक कंक्रिटको प्रयोग गरेपछि त्यो पनि रोकियो । रानीपोखरीको इतिहास नै मेटाउन प्राधिकरण लागेको भन्दै चौतर्फी विरोध पनि भयो । झण्डै करोड रकम बराबरको लगानी भत्काउनुपर्ने अवस्था नै आयो । 

रानी पोखरीको पिँध र डिलमा पानी अड्याउन परम्परागत विधि कालिमाटीकाे प्रयोग गर्न विज्ञ र संस्कृतिविद्ले सुझाव दिएपछि यसले गति लिएको हो । धेरैले परम्परागत र मल्लकालीन शैलीमा नै रानीपोखरीको पुनर्निर्माण हुनुपर्छ भन्दै आवाज पनि उठाएका थिए । र पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत् रानीपोखरी पुनर्निर्माणको कामलाई निरन्तरता दिएको हो ।  

यसरी बन्दैछ रानीपोखरी 

भूकम्प गएको झण्डै चार वर्ष बितिसक्दा पनि रानीपोखरीले पुनर्निर्माणको गति नलिँदा आम जनमानसमा नै रानीपोखरी कहिले बन्ला भन्ने शंका उब्जिएको थियो । निकै विवाद र पटक-पटकको टेण्डर आह्वानपछि रानीपोखरी पुनर्निर्माणले गति लिने पक्का भयो । 

तर भूकम्पले क्षति पुगेपछि रानीपोखरी कुरुप चौरको रुपमा बदलिएको थियो । पोखरी पुरै चर्किएको र झारैझार मात्र थियो । त्यसपछि महिला कालीगढले रानीपोखरीमा पाइला राख्नेबित्तिकै रानीपोखरीको झार उखेल्ने र सफा गर्ने कामपछि मात्र रानीपोखरीजस्तै देखिन थाल्यो । र रानीपोखरी पुनर्निर्माण अघि बढ्ने अवस्थामा पुग्यो । 

रानीपोखरी पुनर्निर्माण उपसमितिका अध्यक्ष शाक्यका अनुसार अहिले रानीपोखरीको वरिपरि पर्खाल लगाउने काम भैरहेको छ । अहिले पोखरीको छेउछेउमा परम्परागत शैलीमा पर्खाल लगाउने काम भैरहेको उपसमितिका अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केहीले इँटा बोकिरहेका छन् भने केहीले इँटा पखाल्ने र केहीले खन्ने काम गरिरहेका छन् । यो काम सकिसकेपछि पहिला कालिमाटीले लिपिन्छ अनि त्यसमाथि इँटा राखिन्छ ।’ 

पोखरीसँगै बालगोपालेश्वर मन्दिर, मन्दिर जाने पुल र पोखरी वरिपरि बगैँचाको काम सँगैसँगै गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको रानीपोखरी पुनर्निर्माण उपसमितिका अध्यक्ष अजयरत्न शाक्यले बताउनुभयो । ‘यी सबै काम एकैसाथ गर्नुपर्ने भए पनि अहिलेको हाम्रो प्राथमिकता पोखरीको नै हो । पोखरीको काम सकिएपछि अरु कामले पनि निरन्तरता पाउनेछन्', उहाँले भन्नुभयो । 

अनुभवको भरपुर फाइदा पुग्ने विश्वास 

अहिले रानीपोखरी पुनर्निर्माणमा जुटेका महिला कालीगढहरुबाट रानीपोखरी पुरानै अवस्थामा फर्किनेमा प्राधिकरण र सरोकारवालाहरु ढुक्क छन् ।  २०७२ सालको भूकम्प गएको थुप्रै समय बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको कामले गति लिन सकेको थिएन । 

यही क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको समूह भक्तपुरमा बनिरहेको सिद्धपोखरी र भाजुपोखरीको अवलाेकन गर्न पुग्यो । भक्तपुरको पोखरी पुनर्निर्माणमा जुटिरहेका महिला कालीगढहरुको अनुभवले रानीपोखरीको पुनर्निमाणमा सहयोग पुग्ने देखेर रानीपोखरी पुनर्निर्माणको जिम्मा पनि तिनै महिला कालीगढहरुलाई दिइएको हो । 

उनीहरुको लामो समयदेखिको अनुभव र परिश्रमले रानीपोखरी पहिलेकै अवस्थामा फर्कने प्राधिकरण र उपभोक्ता समितिले जनाएका छन् । अहिले दैनिक रुपमा  सातदेखि आठ घण्टासम्म काम हुन्छ । भारी वर्षाको समयमा चाहिँ काममा बाधा पुग्ने गरेको समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।  

पोखरीमा पानी अड्याउन कालिमाटी

रानीपोखरी पुनर्निर्माणको मुख्य चुनौती भनेको नै पानी अड्ने बनाउनु हो । पोखरीमा पानी अड्याउन पहिला कालिमाटीले भुईँ लिपिने र त्यसपछि परम्परागत इँटा बिछ्याएर सोलिङ गरिने उपभोक्ता समितिले जनाएको छ । 

त्यसो त उपत्यकाको तीनओटा नै शहर कालिमाटीकाे धनी शहर हो । प्राचीन समयदेखि नै सांस्कृतिक सम्पदा र भवन निर्माणमा प्रयोग हुँदै आएको कालीमाटीमा पानी नचुहिने, नचर्किनेजस्ता गुणहरु पाइन्छन् । अहिले रानीपोखरी पुनर्निर्माणमा खटिएका महिला कालीगढहरुको खुबी भनेको नै कालिमाटीकाे प्रयोग गरेर पोखरीमा पानी अडिने बनाउनु हो । 

तिहारको भाइटीकाको दिन मात्र रानीपोखरी खुल्ने गर्दछ । दाजुभाइ र दिदीबहिनी नहुनेहरुले भाइटिकाको दिन रानीपोखरीभित्र मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको पूजा गरेर टीका लगाउने चलन रहेको छ । यही कुरालाई ध्यानमा राखेर रानीपोखरी पुनर्निर्माण गरिरहेको भए पनि समयमा काम सक्न भने मुश्किल देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया