बालबच्चा छाडेर विदेश गएकोमा पछुतो लाग्छ

 साउन ७, २०७६ मंगलबार १२:५७:१५ | मेरो कथा मेरो भोगाई

राधादेवी पोख्रेल, वीरेन्द्रनगर, सुर्खेत ।

विदेशको कमाई केही दिनका लागि मात्रै पुग्दो रहेछ । सानोतिनो भए पनि आफ्नै ठाउँमा व्यवसाय गर्दा राम्रो हुने रहेछ भन्ने बल्ल बुझेँ ।

घरको आर्थिक अवस्था कमजोर थियो । नन्दले विदेश जाने सल्लाह दिनुभयो । अनि श्रीमानसँग कुरा राखेँ । श्रीमानले पनि सहमति जनाउनु भयो । आफूसँग पैसा पनि थिएन । ऋण गरेरै भए पनि मैले साउदीमा घरेलु कामदारका लागि भिसा लगाएँ ।

धन कमाएर परिवारमा खुसी ल्याउने सोचेर म विदेश गएँ । साना छोराछोरी छोडेर बाध्यताले विदेशिंदा मन कति पिरोलिन्छ, त्यो कुरा मैले त्यतिबेला भोगेँ । साउदीमा घरको कामसँगै बालबच्चा पनि हेर्नुपर्थ्यो ।

अरुको बालबच्चा हेर्दा आफ्नै छोराछोरीको सम्झना आउँथ्यो । आफ्ना बालबच्चा दुःख पाइरहेका होलान्, यहाँ अरुका बालबच्चालाई स्याहारसुसार गर्नुपर्ने भन्ने सोचिन्थ्यो । मन कटक्क खान्थ्यो ।

रातभरी राम्रोसँग निन्द्रा समेत लाग्दैनथियो । बिहान खाना पकाउने, कपडा धुने, बालबच्चा हेर्ने काम गर्नुपर्ने । तीन वर्षका लागि भनेर गए पनि म साढे दुई वर्षमै फर्किए ।

अब त विदेश जान्नँ भनेर नेपाल आएकी थिएँ । तर घरको समस्याले गर्दा फेरि खाडीको तातो हावा खान बाध्य पार्यो । म ओमन गएँ । त्यहाँ ६ महिना मात्र बसें । छोराछोरीको मायाले सताइरहन्थ्यो ।

काम गर्दा होस् या राति सुत्दाखेरी आँखामा छोराछोरीकै झझल्को आइरहने । बस्नै सकिनँ । त्यसपछि मैले सधैंको लागि नेपाल फर्किने निर्णय लिएँ । विदेशबाट आउँदा मसँग डेढ लाख रुपैयाँ मात्र बाँकी थियो ।

त्यहाँबाट आएर गाउँमै किराना पसल सुरु गरेँ । वीरेन्द्रनगरमा थोरै जग्गा किनें । ऋण गरेर सानो घर पनि बनाएकी थिएँ । तर त्यो घर पनि बाढीले बगायो । श्रीमान बिरामी हुनुहुन्थ्यो ।

म विदेशबाट आएको दुई, तीन वर्षमै श्रीमानको निधन भयो । त्यसपछिका दिनहरु निकै कष्टपूर्ण ढंगले बिते । केही मानसिक, केही आर्थिक समस्याले सतायो । विभिन्न समस्याले मलाई जेल्यो, तर मन हारेन ।

छारीले गाउँको स्कुलबाट कक्षा ८ सकेपछि उसलाई पढाउन म गाउँबाट वीरेन्द्रनगर आएँ । गुजारा चलाउनको लागि किराना पसल सुरु गरेँ । अहिले जेहोस् थोरै भए पनि बन्दोबस्त गरेकी छुँ ।

एउटा छोराको विवाह भइसकेको छ । अर्की छोरी अब १२ कक्षामा पढ्छिन् । अहिले यही पसलबाट खर्च व्यवस्थापन गरिरहेकी छु । घरखर्च, छोरीको पढाई यसैले धानेको छ । खुद्रा समान, चटपटे, पान, सबै समान मिलाएर घुम्टीमा राखेको छु । दिनमा पाँच, सातसय रुपैयाँ कमाई हुन्छ ।

विदेशमा अरुको गुलामी भएर बस्नु भन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ । पहिले छोराछोरी छोडेर किन विदेश गएछु भनेर पछुतो लाग्छ ।

(राधादेवी पोख्रेलसँग मुना हमालले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असोज १४, २०७६

तपाईको प्रतिक्रिया