अल्पमतमा वारिको गोलभेंडा

 साउन १३, २०७६ सोमबार ९:४४:३८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ बस्न थालेदेखि तरकारी किन्ने दैनिकी बन्न थाल्यो । तरकारी किन्नु शहरबजारमा बस्ने प्रायः सबैको सधैँको काम हुन्छ । जागिरे होस् वा विद्यार्थी, व्यवसाय गर्ने होस् वा व्यवसाय गर्ने सोच बनाउँदै गरेका सबैले आ–आफ्नो आयशक्तिले भ्याउने र रुचीको तराकारी सधैं किन्ने गर्छौं । 

म काठमाण्डौ बस्न थालेको धेरै पनि भएकोे छैन । छोटो अवधिमा अरु कुरासँगै तरकारीको मूल्य र तरकारी किन्न जाँदाको धारणामा निकै परिवर्तन भएको छ । त्यसमा पनि हरेक दिन बिहानै कालीमाटीको तरकारीको मूल्य र तरकारीमा हुने विषादीको मात्राको समाचार आफैले बुझ्न थालेदेखि त तरकारी किन्दा निकै चिन्तित हुने गरेको छु ।

तर मलाई थाहा छ यो मेरो चिन्ता पनि अर्थहीन छ । किनकी काठमाण्डौमा उपयुक्त मूल्यमा विषादीरहित तरकारी पाउनु रौतहटमा हिउँचितुवा पाउनु जस्तै हो । जुन आशावादीहरुको तर्कमा असम्भव छैन, तर सामान्य रुपमा हेर्दा सम्भव पनि देखिँदैन ।  

बजारमा तरकारीमा विषादीको चर्चा अलिकति बाँकी नै थियो । अस्ति भर्खर म पनि सधैँझै तरकारी किन्न बजार निस्किएँ । अलि चाँडै निस्किएको भएर केही ठाउँमा मूल्य बुझेर मात्रै तरकारी किन्ने विचार गरें । 

काठमाण्डौमा उपयुक्त मूल्यमा विषादीरहित तरकारी पाउनु रौतहटमा हिउँचितुवा पाउनु जस्तै हो ।

एक दुईवटा पसलमा मूल्य सोधें, अघिल्ला दिनहरुको तुलनामा धेरै नै बढेको रहेछ  । म अझै अगाडि बढें । कीर्तिपुरमा बेलुकातिर तरकारी पसल निकै हुन्छन् । तरकारीको गुणस्तर र मूल्य उस्तै–उस्तै भए पनि पसल भने छानी–छानी किन्न पाइन्छ । गुम्बाबाट कीर्तिपुर गेटतिर ओरालो लागेर बाटो छेउ राखेका पसलमा पनि तरकारी हेरे । त्यहाँ पनि नकिनी अगाडि बढें । 

ओरालो सकेर तेर्सोमा पुगेपछि ठेलागाडामा तरकारी भेटियो । ठेलामा थरिथरिका तरकारी थिए । मैल ठेलावाला काकालाई तरकारी कसरी छ भनेर सोधें । काकाले सासै नफेरी चार/पाँच थरिका तरकारीको मूल्य भन्नुभो । त्यसपछि सबै मिलाएर लगे अलि सस्तोमा पर्ने पनि भन्नुभो । काका निकै ठट्यौलो स्वभागको हुनुहुँदाे रहेछ । निकै रमाइलो गरेर वरिपरि हिन्दै गरेकालाई बोलाउँदै हुनुहुन्थ्यो । 

मलाई एकछिन ती काकासँग तरकारीकोबारेमा गफ गर्न मन लाग्यो । म ठेला नजिकै गएँ । मैलै हिजोआज तरकारीमा धेरै विषादी हुन्छ रे नि त भनेर सोधें ? काका एकछिन मजाले हाँस्नु भो र भन्नु भो : हो मैले पनि सुन्दैछु तर यो विषादी केही दिन मात्रै रहन्छ, केही दिनपछि सबै बिर्सिन्छन् र विषादीको कुरा पनि हराउँछ । 

मैले काकालाई फेरि सोधें, तरकारी बेचेर दिनमा कतिको कमाइ हुन्छ ? काकाले मुस्कुराउँदै सामान्य गुजारासम्म चल्ने गरेको बताउनुभयो । बीचबीचमा आउने ग्राहकलाई तरकारी बेच्दै उहाँले कुरा  गर्नुभयो । 

मैले काठमाण्डौमा कोठाभाडा तिरेर तरकारी बेच्नुभन्दा गाउँमा तरकारी खेती गर्दा फाइदा हुन्थ्यो होला नि भन्ने प्रश्न गरे । यो प्रश्न गर्दा उहाँको अनुहारको रंग नै फेरियो । अघिसम्म हाँसेर कुरा गरिरहेका उहाँले एक्कासी अनुहार अँध्यारो पार्नुभयो । 

“तपाईँले काठमाण्डौ बसेर कुरा गरेजस्तो सजिलो छैन नानी गाउँमा गएर गोलभेंडा फलाएर पैसा कमाउन” म चुपचाप उभिइरहें । “मैले गाउँमा खेती नगरेको हो र ?” उहाँले आफ्नोबारेमा थप बेलीबिस्तार लगाउनुभो । 

भारतको तरकारी र फलफूल नेपालमा मनोमानी ढंगले भित्रिन दिएसम्म र नेपालको वास्तविक किसानलाई प्रोत्साहन नगरेसम्म यस्तै भइरहन्छ ।

काकाको घर नेपालगञ्ज रहेछ । गाउँमा केही समय तरकारी खेती गर्नुभएको रहेछ । तर तरकारी खेतीको लागि कहिले आवश्यक औजार र उपयुक्त बीउबिजन नपाउने त, कहिले पाए पनि उत्पादनदेखि बजार पुर्‍याउँदासम्मको लागत निकै महङगो हुने हुँदा तरकारी खेतीमा टिक्न गाह्रो भएको उहाँले बताउनुभयो । 

त्यसपछि उहाँले केरा खेती गर्नुभएछ । तर वर्षभरि मेहनत गरेर लाखाैँ खर्च गर्दा भारतको फलफूल सस्तोमा नेपाल आउने र त्योसँग प्रतिष्पर्धा गर्न नसकेपछि त्यो पनि छोडनुभएछ । काकाको कुरा सुनेर मैले बोल्ने कुरै पाइनँ । 

म चुप लागेको देखेर काकाले मुस्कुराउँदै भन्नुभयो “भारतको तरकारी र फलफूल नेपालमा मनोमानी ढंगले भित्रिन दिएसम्म र नेपालको वास्तविक किसानलाई प्रोत्साहन नगरेसम्म यस्तै भइरहन्छ ।” मसँग बाँकी भन्नु केही थिएन । 

अचानक मेरो आँखा ठेलामा राखेको दुई फरक–फरक किसिमको गोलभेंडामा गयो । मैले सोधें, काका गोलभेडा कसरी हो ? उहाँले एउटा झोला दिंदै छानेर मिलाएर लानु भन्नुभो । 

अनि मैले चार/पाँच किलोजति ठेलाको छेउमा अलग्गै राखेको गोलभेंडा देखाउँदै सोधें, यो चाहिँ कस्तो खालको गोलभेंडा हो नि ? काकाले हाँस्दै भन्नुभो “यो वारिको गोलभेंडा हो ।” 

काकाले भन्नुभो : हेर नानी मानिसले गोलभेंडामा पनि बहुमत खोज्छ । यो वारिको गोलभेंडा अल्पमतमा भएर कसैले नकिनेका हुन् । 

अलग्गै राखेको गोलभेंडा अलिक फुस्रो र सानो पनि थियो । “वारिको ?” भन्ने मेरो प्रश्न सुनेर उहाँले भन्नुभयो, “हो घरबेटी दिदीले बारीमा फलाउनुभएको । बेचिदिनुस् भनेर ठेलामा राखिदिनुभएको, तर कसैले पनि लगेका छैनन् । विषादी हुन्छ भन्ने थाहा भए पनि मानिसलाई तरकारी चिल्लो र देख्नमा राम्रै मन पर्छ ।” 

त्यसपछि पनि केहीबेर त्यहीँ उभिएर बसिरहें । त्यो सानो र फुस्रो गोलभेंडा एकछिनसम्म पनि कसैले पनि किनेनन् । काकाले एक दुई जनालाई त यो लोकल हो भनेर भने पनि कसैले वास्तै गरेनन् । 

एकछिन मेरो पनि मनको भाव बुझेर काकाले भन्नुभो : हेर नानी मानिसले गोलभेंडामा पनि बहुमत खोज्छ । यो वारिको गोलभेंडा अल्पमतमा भएर कसैले नकिनेका हुन् । 

उभिँदाउभिँदा खुट्टा पनि थाकेछ । बेलुका पनि हुन थालेछ ।  त्यही आधा किलो अल्पमतको गोलभेंडा र अलिकति बहुमतको तरकारी बोकेर उकालो लागें । 

हाम्रो देशमा कृषि क्रान्तिका कुरा त अब पुराना भइसके । बेलाबेला गमलामा धान रोपेर थालिएको कृषि क्रान्ति पनि देख्यौं । घाँटीमा आलु, गोलभेंडा, धान, सुन्तला आदि झुण्याएर ठूलो ब्यानरको मुनि बसेर अब देशमा कृषि क्षेत्रमा कायापलट गर्ने र देशलाई चाँडै फलानो र ढिस्कानोमा आत्मनिर्भर बनाउने भन्ने भाषण पनि सुनिए । यी सबै भाषण र अघि काकाको यथार्थताको कथा सम्झिँदा त्यही बहुमतको गोलभेंडाले आफैंलाई गिज्याएजस्तो लाग्यो ।    
 

अन्तिम अपडेट: चैत ८, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Devendra Koirala

    July 30, 2019, 4:48 p.m.

    जानुकाको समाचार भन्ने शैली मात्र हैन, लेखन पनि उत्कृष्ट रहेछ । गोरखाली हुन् कि लमजुङे हुन्न हुन्नि । जे होस्, शुभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया