जोगबनी नाकाबाट विराटनगर भित्रने लागुऔषधको सञ्जाल पटनासम्म

 साउन १६, २०७६ बिहिबार १८:२९:२२ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – नेपाल भारत सीमा क्षेत्र जोगबनीमा पछिल्लो समय लागुऔषध कारोबार गर्नेको संख्या बढ्दो छ । 

दैनिकजसो प्रहरीले विभिन्न ठाउँबाट लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ  । तर पक्राउ पर्ने अधिकांश साना खालका कारोबारी अर्थात् आफूले मात्र प्रयोग गर्ने खालका व्यक्ति मात्र रहेका छन् । 

प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ठूला खालका व्यापारी पक्राउ गर्न सकेको छैन । तर लागुऔषध कारोबारमा ठूला खालका व्यापारीको संलग्नता रहेको सुरक्षा स्रोत नै बताउँछ ।  

केही दिनअघि मात्र सशस्त्र प्रहरीका सहायक हवलदार लागुऔषधसहित पक्राउ परे । उनी पक्राउ परेपछि लागुऔषध कारोबारमा व्यापारीको संलग्नता रहेको दावी गर्दै आएका सुरक्षा अधिकारीहरु यसमा सुरक्षाकर्मीको पनि संलग्नता हुन थालेको हो कि भन्ने प्रश्न उठेको छ । तर यसरी कारोबार हुने लागुऔषधको रुट नेपाल–भारत सीमाक्षेत्र जेगबनी र रानीमा मात्र नभइ पटनासम्म नै रहेको बताइन्छ  ।

यसरी सुरु हुन्छ लागुऔषधको रुट

बुधबार नेपाल–भारत सीमाक्षेत्र जोगबनीबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई जना भारतीय नागरिकलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गर्‍याे। एसएसबीले उनीहरुको साथबाट नाइट्रोशन एक हजार, नाइट्रोभेट तीन हजार, लुपिजेसिक, एभिल, १४७ र स्पास्मो प्रोक्सिभिन सात हजार २ सय ओटा बरामद गर्‍याे ।  

पक्राउ पर्नेमा पुर्णियाका मोहम्मद वारिस अन्सारी र कलवा विसनपुरकी गायत्री देवी थिए । उनीहरुले यति ठूलो परिमाणको लागुऔषध भारतको पटनाबाट ल्याएको बताए । यसअघि पक्राउ पर्ने अधिकांशले पनि पटनाबाट नै लागुऔषध ल्याउने गरेको बताउँदै आएको एसएसबीले बताएकाे छ । 

यस्ता कारोबारीले पटनाबाट व्यापारीको सहयोगमा लागुऔषध ओसारपसार गर्ने गरेको पाइएको छ । कतिपयले जोगबनी नाकासम्म ल्याएको रकम लिने र कतिपयले सीमासम्म नै पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ । कतिपय लागुऔषध कारोबारीहरु आफैँले सीमा नाकासम्म ल्याउने गरेको र कतिपय कारोबारीले अरुको भरियालाई प्रयोग गर्ने गरेको पाइएको छ । 

भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेका अधिकांश व्यक्तिहरुले पटनाबाट लागुऔषध ल्याउने गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) जोगबनीका बिओपी इञ्चार्ज प्रविणकुमार सिंहले बताउनु भयो । पटनाबाट नेपालको सीमा नाका जोगबनी हुँदै नेपालतर्फ बोर्डर पार गराउनको लागि समस्या हुने भएपछि ती कारोबारीहरुले टिकुलिया बस्तीमा लैजाने गरेका छन् ।

लागुऔषध त्यहाँका केही व्यक्तिका घरमा राख्ने र साँझ अथवा समय अनुकूल पारेर बोर्डर पार गराउने गरेको समेत खुलेको छ ।

एसएसबीका जोगबनी बिओपी इञ्चार्ज सिंह भन्नुहुन्छ, ‘यसरी पक्राउ परेकाहरुले पटनाबाट ल्याउने गरेको र टिकुलिया बस्तीसम्म पुर्याउने गरेको पाइएको छ । उनीहरुले त्यहाँबाट आवश्यकताका आधारमा नेपाल प्रवेश गराउने वा त्यहीँ किनबेच गर्ने गरेको समेत पाइएको छ ।’ 

नेपाल प्रहरी भन्छ : छलेर भित्र्याउँछन्

भारतमा झोलाका झोला लागुऔषधसहित पक्राउ पर्छन् भने नेपालमा आउँदा त्यो संख्या घटेर पत्तामा वा गोलीमा झर्छ । सीमापारि कहाँबाट आउँछ र कहाँ जान्छ भन्ने बारेमा खासै चासो नराखेको नेपाल प्रहरीले नेपालमा भने लागुऔषध ओसारपसार र कारोबार नियन्त्रणको लागि सीमा नाकामा कडाइ गरेको जस्तो देखिन्छ । 

तर बेलाबेलामा ठूला गाडीहरुमा नै लागुऔषध भेटिँदा लागुऔषध नियन्त्रण गर्न नेपाल प्रहरीलाई चुनौती देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले सीमापारी रहेका लागुऔषधको कारोबारीहरु प्रहरीको कम उपस्थिति र भिडभाडको मौका छोपी नेपाल कटाउने ध्याउन्नमा हुने गरेको बताउनु हुन्छ । तर त्यस्तो अवस्थामा पनि जाँचलाई कडाइ गर्ने गरेको उहाँले भन्नुभयो । 

दैनिकजसो इलाका प्रहरी कार्यालय रानीबाट पक्राउ पर्नेको क्रमलाई हेर्दा लागुऔषधको कारोबारमा विभिन्न व्यक्तिहरु संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ । केही दिनअघि पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवलदार र लागुऔषधसहित ट्याङ्कर चालकहरु पक्राउ पर्नुले पनि लागुऔषध नियन्त्रण चुनौतीपूर्ण देखिएको खिउजु बताउनु हुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया