११ वर्षपछि दीया मिर्जा र साहिल सांघा छुट्टिए

 साउन १७, २०७६ शुक्रबार १२:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय अभिनेत्री दीया मिर्जाले विवाहको पाँच वर्षपछि श्रीमान साहिल सांघासँग छुट्टिएको घोषणा गरेकी छिन् । दीया र साहिलले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन् । दीयाले सामाजिक सञ्जाल मार्फत् आफूहरु छुट्टिएको जानकारी दिएकी छिन् । 

दीयाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘११ वर्षको सुमधर सहयात्रापछि हामीले आपसी समझदारीमा छुट्टिने निर्णय लिएका छौँ । हामी सदैव असल साथी हुनेछौँ र एकअर्काप्रतिको माया र सम्मानको भावना सदैव रहनेछ । अब हाम्रो यात्राले हामीलाई छुट्टाछुट्टै बाटोतर्फ लैजान सक्छ । हामीले जति पनि समय एकसाथ बितायौँ, त्यसका लागि आभारी छौँ ।’

‘हामी हाम्रा परिवार तथा साथीभाइलाई उहाँहरुको माया र समझदारीका लागि धन्यवाद दिन चाहन्छौँ । मिडियासँग हामी हाम्रो गोपनीयताको सम्मान गरिदिनु हुन आग्रह गर्दछौँ । अब हामी कुनै पनि प्रतिक्रिया दिनेछैनौंँ’, उनले अगाडि लेखेकी छिन् ।  

दीया मिर्जाको यो बयानले अहिले बलिउड जगत् तथा उनका समर्थकहरु आश्चर्यमा छन् । दीयाले सन् २०१४ अक्टुबर १८ मा उनका बिजनेस पार्टनर साहिल सांघासँग दिल्लीमा विवाह गरेकी थिइन् । साथै केही दिनअघि मात्रै जुलाई १६ मा पति साहिल सांघालाई जन्मदिनको शुभकामना दिँदै इन्स्टाग्राममा दुवैको सुन्दर तस्बिर सहितको मायाले भरिपूर्ण पोस्ट शेयर गरेकी थिइन् । 

दीया मिर्जा र साहिल सांघा ११ वर्षदेखि एकअर्काको साथमा थिए । लामो समयको प्रेम सम्बन्धपछि उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए । दीया र साहिलको बर्न फ्री एन्टरटेन्मेन्ट नामको प्रोडक्शन कम्पनी छ । उक्त प्रडक्शन कम्पनीको पहिलो फिल्म ‘लब ब्रेकअप जिन्दगी’ हो ।

दीया मिर्जाले फिल्म ‘दिवानापन’, ‘तुमको ना भूल पाएंगे’, ‘दम’, ‘परिणीता’, ‘फिर हेरा फेरी’, ‘लगे रहो मुन्ना भाई’ र ‘सञ्जु’ जस्ता फिल्ममा काम गरेकी छिन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया