नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
बाजुरा - बिहीबार रातिदेखि पानी पर्न थालेपछि बाजुरा जिल्लाका गौमुल गाउँपालिकालगायत अन्य बस्तीहरु समेत जोखिममा परेका छन् ।
बिहीबार राति गौमुल गाउँपालिका –६ शान्ति टोलमा पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको र अन्य ५ जना घाइते भएका थिए । पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । अन्य ५ जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएका थिए ।
शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
छोरी बचाउँन जाँदा आमा आमाको समेत मृत्यु
अस्पतालमा उपचार गराइरहेका जंगे चदाराले भन्नुभयो, ‘हामी सुतिरहेका थियौँ, मलाई झ्यालबाट बाहिर हुत्यायो, बुहारी अगाडि नै बाहिर आएकी रहिछ, नातिनी ल्याउन जाँदा च्यापिएर मरिछ ।’
घटना राति भएका कारण खबर भएन, बिहानै खबर हुनेबित्तिकै जिल्ला प्रहरी कार्यालय र गौमुल प्रहरी चौकीबाट प्रहरी परिचालन भएर घाइतेको उद्धार गरिएको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले बताउनुभयो ।
बिहीबार रातिदेखि पानी पर्न थालेपछि बाजुरा जिल्लाका अन्य बस्तीहरु समेत जोखिममा परेका छन् ।बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लले उद्धारका लागि कार्यक्रम बनाएको जानकारी दिनुभयो ।
दिनभर साफे मार्तडीको सडक किनारामा सानो पसल खोलेर हातमुख जोड्न त्रिवेणी नगरपालिका–९, पैमा गाउँका राम खत्रीको परिवार पहिरोले ज्यानै लिने हो कि भन्ने पिरलोमा छ।
बाजुराबाट बगेर जाने बुढिगंगा नदी आसपासमा पहिरो आउन थालेपछि थुनिने नदी खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढदै गएको र पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको त्रिबेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताउनुभयो ।
‘बाजुराको पैमा बुढीगंगा नगरपालिकाको गुईगाडको पहिरोले बुढीगंगा नदी थुनिन सक्छ, त्यसले गर्दा नदी आसपासका बुढाबगर र साँफेको बस्तीमा जोखिम बढेको छ’, उहाँले थप्नुभयो ।
पहिरोले बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुवैैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । गएको वर्षदेखि नै त्यस ठाउँमा पहिरो जान थालेको हो । हिउँदको समयमा सुख्खा पहिरो गए पनि त्यसले खासै असर गरेको थिएन ।
लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेकाले स्थानीयलाई समेत सचेत गराइएको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।