संघीयतासँगै गाउँ पसेका व्यापारी भन्छन्- ‘अधिकार मात्र आयो, अवसर आएन’

 साउन १८, २०७६ शनिबार १३:३७:२२ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – सदरमुकाम मार्तडीको व्यस्त बजारमा फेन्सी पसल चलाउँदै आउनुभएका व्यापारी उपमाकान्त उपाध्यायले अन्यत्रै पसल सार्नुभएको छ । संघीयातसँगै व्यापार हुन छाडेपछि आफ्नै गाउँनजिक बूढीगंगा र त्रिवेणी नगरपालिकाको बाम्का बजारमा उहाँले पसल सार्नुभएको हो । अहिले दिनमा मुश्किलले तीन/चार हजारको व्यापार हुने बताउनु हुन्छ । 

उद्योग वाणिज्य संघ बाजुराका उपाध्यक्ष धर्म रोकायाले मार्तडी हाट बजारको होलसेल पसल आफ्नो गाउँपालिकामा सारेको बताउनु भयो । ‘सदरमुकामको जस्तो व्यापार गाउँमा हुँदैन, गाउँलेहरुले अन्य बजारबाट सामान ल्याउँदा रहेछन् । हामीसँग उधारोमा सामान लिन्छन्, उधारो बाँड्ने मात्र बनेका छौं’, रोकायाले भन्नुभयो ।

जगन्नाथ गाउँपालिकाका सरीबहादुर शाहीले पनि सदरमुकामको प्रमुख सडकबाट होटल सारेर जगन्नाथ गाउँपालिकाको पिलुचौर पुग्नु भएको छ । ‘गाउँमा बजारको जस्तो समानहरु चाहिएको बेला पाइँदैन, ग्राहकलाई सन्तुष्टि दिन कठिन छ । एकै ठाउँमा जिल्लाभरका व्यापारी आउने हुँदा सोचेको जस्तो व्यापार हुँदैन, जेनतेन हातमुख जोडिएको छ ।’

शाहीले भन्नुभयो, ‘गाउँले दाजुभाइलाई सेवा गरिएको छ । बाहिरबाट आउने कर्मचारीलाई पनि सेवा गर्ने अवसर मिलेको छ तर यहाँ ग्राहक कम व्यापारी धेरै भएका छौं ।’ गाउँमा पालिकाहरु स्थापना भएसँगै होटल सञ्चालन गर्नेको संख्या बढेको छ । 

‘बाटो नजिक चार/पाँच जस्तापाता ठड्याएर कित्लीमा तातोपानी उमाल्ने र गुट्का, चुरोट बेच्ने पसलको संख्या बढेको  छ, न त राम्रो होटलहरु सञ्चालन भएका छन् न त ग्राहक नै त्यस्ता छन् । जस्ताको घरमा मानिसहरु बेलुका जम्मा हुन्छन्, गाउँगाउँमा बोइलर कुखुरा पुगेका छन् । त्यसको मासु बनायो, बेलुका रक्सी खायो, हल्ला गर्‍यो, स्थानीय बजारमा अरु केही छैन’, निर्माण व्यवसायी रमबहादुर शाहीले भन्नुभयो ।

बुढीगंगा गाउँपालिकाका जयबहादुर थापाले सदरमुकामको सेकुवा सेन्टर बाम्का बजारमा सार्नुभएको छ । उहाँ मार्तडीमा भन्दा बाम्का बजारमा राम्रो व्यापार हुँदा सन्तुष्ट हुनुहुन्छ । बजारभरि नै सेकुवा मःम उहाँको पसलमा मात्र पाइन्छ । ‘सेकुवा र मःम खान मार्तडी गएपछि मात्र पाइन्छ भन्ने थियो । मैले मार्तडीको होटल गाउँमा सार्दा राम्रो व्यापार भएको छ । यहाँ अरुले मैलेजस्तो परिकार बनाउँदैनन्, त्यसैले पनि व्यापार राम्रो भएको छ ।’

सदरमुकाममा पहिलको जस्तो आवतजावत नहुँदा गाउँमा गएका व्यापारीहरु गाउँमा पनि ग्राहक नपाउँदा लगानीसमेत डुब्नेमा चिन्तित देखिन्छन् । लामो समयदेखि गरिरहेको व्यवसाय छोडेर अर्काे व्यवसाय गर्ने अवसर र अवस्था नभएको त्रिवेणी गाउँपालिकामा कुखुरा फर्म सञ्चालन गर्दै आउनुभएका शेरबहादुर शाहीले गुनासो गर्नुभयो । 

शाहीले भन्नुभयो, ‘सदरमुकाममा भएका मान्छे प्रदेश र पालिकाहरुमा बाँडिदा यस्तो भएको छ । जसका कारण प्रदेशतिरको व्यापार राम्रो छ भने गाउँतिर मान्छेको संख्या कम भएका कारण व्यापार राम्रो हुन नसकेको हो ।’ 

अन्तिम अपडेट: बैशाख १, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया