‘अब लोडसेडिङ हुँदैन, घरमा बिजुलीका उपकरण जोडे हुन्छ’

 साउन २२, २०७६ बुधबार १४:१९:३३ | अर्जुन पोख्रेल
unn.prixa.net

देशमा धेरै आयोजना बेलैमा सम्पन्न नहुँदा नागरिक निराशामा परिरहेको बेला विद्युत क्षेत्रमा भने उत्साहजनक काम भैरहेको छ । देश लोडसेडिङमुक्त भैसकेको छ भने नेपाल विद्युत प्राधिकरण बिजुली खेर जान नदिन खपत बढाउने उपायको खोजीमा लागेको छ । तर विद्युत उत्पादन र वितरण सजिलो छैन । पाइलैपिच्छे अवरोध नै अवरोध छन् । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हरेक आयोजनास्थलमै पुगेर समस्या समाधानको प्रयास गरिरहनुभएको छ । नेपाल विद्युत प्राधिकरणले गरेका काम र योजनाको बारेमा अर्जुन पोख्रेलले कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानी -

हिजोआज तपाईँ हरेकजसो आयोजनाको फिल्डमै जाने गर्नुभएको छ । बिदाको दिनको पनि वास्ता नगरी किन यसरी आयोजनास्थलको दौडधुपमा लाग्नुभएको हो ?

हरेक आयोजनास्थलमा कार्यकारी निर्देशक जाँदा धेरै नै फरक पर्छ । आयोजनास्थलमा देखिएका समस्या समाधान गर्न, त्यहाँका कमीकमजोरी सुधार्न, आयोजना प्रमुख तथा अन्य कामदार, ठेकेदार, कन्सल्ट्यान्ट सबैसँग भेट्दा खास समस्या थाहा हुन्छ ।

आफूलाई गरिएको रिपोर्टिङ ठिक छ कि छैन भन्ने पनि आयोजनास्थलमा पुगेपछि थाहा हुन्छ । कतिपय अवस्थामा आयोजनाको प्रगतिबारे गलत रिर्पोटिङ गर्ने, तर आयोजना तोकिएको समय भन्दा धेरै पर धकेलिने पनि भएका छन्, त्यसैले आफै गयो भने यथार्थ थाहा हुन्छ । 

आउँदो चैतमा जसरी पनि बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तपाईँले हरेक महिना तामाकोशीमा बैठक गर्नुहुन्छ । अरु आयोजनामा पनि पुग्नुहुन्छ । तपाईँ आफै फिल्डमा गए काम हुने, नत्र नहुने हो र ?

म नजाँदा काम नहुने र म जाँदा आजको भोलि नै काम सकिने भन्ने होइन । तर कुनै पनि निकायको प्रमुख आयोजनास्थलमा पुगेर त्यहाँ निर्देशन दिँदा कामले गति लिन्छ नै । यस्तै म त्यहाँ पुगेर कामको मात्रै नभई कर्मचारीका पनि समस्या सुन्छु, समाधान गरिदिन्छु । त्यसो गर्दा कर्मचारीलाई पनि हौसला हुन्छ । काठमाण्डौमा बसेर नदेखिने सानातिना समस्या म आफैले अनुभव गर्नको लागि पनि फिल्डमै जानुपर्छ । 

र तामाकोशीको हकमा म हरेक महिना जाने गरेको छु । त्यहाँ धेरै समस्या थिए । मैले हरेकपटक जाँदा नयाँ नयाँ समस्या आएको देख्छु । तर फिल्डबाटै समाधान हुने समस्या भएमा म त्यहीँ भएको बेला नै समाधान हुन्छ ।

नीतिगत तहबाट समाधान गर्नुपर्ने भएमा त्यसको लागि पहल गर्छु । हरेक महिना फिल्डमै जाने, हरेक दिन फोन गरेर प्रगती बुझ्ने लगायतका काम नगरेको भए एकदमै समस्याग्रस्त बनेको आयोजना अहिले ठिक ठाउँमा आउने थिएन होला सायद । 

धेरै सक्रियताका कारण देश लोडसेडिङमुक्त भएको छ, अहिले हाम्रो बिजुली उत्पादनको अवस्था के छ र आउँदो वर्ष कति बिजुली उत्पादन हुनेछ ?

अहिले वर्षाको समयमा हामीलाई पुग्ने बिजुली उत्पादन भैरहेको छ । कुनै कुनै बेला हामीले दुई सय मेगावाटसम्म भारतमा पठाएका पनि छौं । हामीले भारतसँग इनर्जी बैंकिङको सम्झौता गरेका छौं ।

त्यसैले बर्खामा पठाउने र हिउँदमा उताबाट ल्याउने गर्दै आएका छौं । त्यसैले हामीलाई यही बर्खामा समस्या त समस्या परेको छैन भने आउँदो बर्खामा त झन बिजुली धेरै नै उत्पादन हुनेछ । 

अब आउँदो सुख्खा समयमा भने भारतबाट केही मात्रामा बिजुली आयात गर्नैपर्छ । यो आर्थिक वर्षमा हामीले झण्डै १ हजार मेगावाटका आयोजना सकिनेछन् र १ हजार मेगावाट राष्ट्रिय प्रणालीमा जोडिनेछन् । माथिल्लो तामाकोशी पनि यसै वर्ष आउनेछ । त्यसैले आउँदो हिउँदमा केही समस्या भए पनि त्यसपछि हामी बिजुली उत्पादनमा फड्को मारेको अवस्थामा हुनेछौं । 

भनेपछि आउँदो वर्षादेखि नेपाल आफ्नै बिजुलीले आत्मनिर्भर हुन्छ ?

अब त लोडसेडिङ हुन्छ भन्ने पिर भन्दा पनि हामीले बिजुली कसरी देशभित्रै खपत गर्ने भन्ने बहस र योजना बनाउनुपर्छ । देशभित्रै बिजुली कसरी खपत गर्नुपर्छ र खपतका क्षेत्रहरु के के हुन सक्छन भनेर अब नीति र योजना बनाउन ढिला भैसकेको छ । अब हामी सबैको नजर बिजुली उत्पादनसँगै खपतका क्षेत्रहरुतर्फ जानुपर्छ । 

त्यसाेभए बिजुली सकभर देशमै खपत गर्नुपर्छ, बेचेर फाइदा छैन ?

हो, बिजुली बेचेर धेरै फाइदा छैन । उदाहरणको लागि हामीले १ युनिट बिजुली बेच्दा १०/११ रुपैयाँ आउला । तर त्यही १ युनिट बिजुली नेपालमै खपत गरेमा त्यसले १ हजार रुपैयाँ बराबरको उत्पादन हुन सक्छ ।

त्यसैले हामीकहाँ धेरै भएको बिजुली त बेच्ने नै हो । बिजुली बेच्दै नबेच्ने हामीले भनेका होइनांै । तर सकभर देशमै बिजुली खपत गर्नुपर्छ भन्ने हामी सबैको बुझाइ हुनुपर्छ । 

उसोभए बिजुली खपतका लागि के-के उपाय हुन सक्छन् त ?

हामीकहाँ अहिले पनि धेरै उद्योग कल कारखानाले मागेजति बिजुली पाएका छैनन् । हामीले उद्योगहरुलाई पूर्ण क्षमतामा बिजुली दिन सक्छौं । त्यस्तै नयाँ नयाँ उद्योगहरु खोल्न सक्छौं । घरमा पनि अहिले पनि डिजेल, पेट्रोल र ग्यासमार्फत चलाउने उपकरण बिजुलीले चलाउन सकिन्छ । 

बिजुली खपतको अर्को महत्वपूर्ण क्षेत्र भनेको विद्युतीय गाडी हो । तर विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन राख्नको लागि नीतिगत व्यवस्था छैन नि ?

राम्रो कुरा उठाउनुभयो । बिजुली खपतको अर्को महत्वपूर्ण क्षेत्र विद्युतीय गाडी पनि हो । हामीले अव प्रोत्साहन गर्ने पनि यही क्षेत्रलाई हो । सरकारले पनि विद्युतीय बस ल्याउने भन्दैछ, निजी क्षेत्रले पनि विद्युतीय सवारीलाई जोड दिइरहेको छ । त्यसैले  मन्त्रालयले नीतिगत व्यवस्था पनि गर्दैछ । 

तत्कालको लागि  हामी आफैले देशभरी विभिन्न ठाउँमा स्मार्ट चार्जिङ स्टेशन बनाउने भनेर ठेक्काको डकुमेन्ट बनाइरहेका छौं । यो स्मार्ट हुनेछ, रिमोर्टले बिल निकाल्ने र रिमोर्टले नै कन्ट्रोल गर्ने चार्जिङ स्टेशन हुनेछन् । 

विशेषगरी पेट्रोल पम्प जस्तै चार्जिङ स्टेशन राखेर व्यवसाय गर्न चाहनेहरुलाई ध्यान दिएर मन्त्रालयले कार्यविधि बनाइरहेको छ । कार्यविधिमा कति रुपैयाँमा चार्जिङ स्टेशनले बिजुली पाउने र कति रुपैयाँमा उपभोक्तालाई दिने भन्ने उल्लेख हुनेछ । 

नागरिक अहिले पनि लोडसेडिङको डरमा छन्, त्यसैले ग्यास विस्थापन गरेर विद्युतीय चुल्हो किन्न डराएका छन् । अब हिउँदमा पनि लोडसेडिङ हुँदैन । चौबीसै घन्टा बिजुली आउँछ भनेर ग्यारेण्टी दिन सक्नुहुन्छ ?

नागरिकले विद्युतीय चुल्हो किनेर प्रयोग गरे हुन्छ । १८ घन्टासम्म लोडसेडिङ हुँदाका बखत बनाएका केही कमजोर संरचनाका कारण अहिले बेला बेलामा एकैछिनको लागि बत्ती जानु स्वभाविक हो ।

प्राविधिक कारणले लाइन काटिएको हुन सक्छ । तर बिजुली नै पुर्‍याउन नसकेर अब लोडसेडिङ हुँदैन, ग्याँसको ठाउँमा विद्युतीय चुल्हो जोड्न थाले हुन्छ । म ग्यारेण्टी दिन्छु । किनकी अहिले हाम्रो माग धान्न सक्ने गरी हाम्रा प्रोजेक्टहरु आइरहेका छन् । 

अब गएको वर्षको प्रगतीतर्फ लागौं । गएको वर्ष तपाइँहरुले अर्बाैँ रुपैयाँ खर्च गरेर ६० वटा सवस्टेशन निर्माण र मर्मत गर्नुभयो । १५ वटा प्रसारण लाइन बनाउनुभयो । अहिले फटाफट बिजुली उत्पादन बढाउन छाडेर अन्त अल्मलिएको भनेर आरोप पनि लाग्यो । सवस्टेशन र प्रसारण लाइनलाई किन जोड दिनुभएको हो ?

मैले अघि नै भनिसकें अब हाम्रो विजुली उत्पादन बढेको बढ्यै छ । त्यसैअनुसार माग पनि बढेको छ । पहिले बनाएका संरचनाले हामीलाई पुग्दैन । त्यस्तै नयाँ नयाँ ठाउँमा पनि विद्युतीकरण गर्नुपर्नेछ । छिमेकी देशलाई बिजुली बेच्ने पनि भनिरहेका छौं । त्यसैले प्रसारण लाइन र सवस्टेशनको जरुरी परेको छ । 

अहिले पनि बेला बेलामा बत्ती जान्छ । त्यसको कारण हामीकहाँ धेरै क्षमता धान्ने सवस्टेशन छैनन्, भएका पुराना भैसके । त्यसैले नियमित बिजुली आपूर्तिको लागि सवस्टेशन मर्मत र निर्माण गर्नुपर्छ । प्रसारण लाइन त झन हामीलाई हजारौं किलोमिटर बनाउनुपर्नेछ । 

हामीले सबैलाई बिजुली दिने भनेका छौं । गाउँ गाउँसम्म बिजुली पुर्‍याउन पनि सवस्टेशन र प्रसारण लाइन त चाहियो नि । अहिले हामीले लोडसेडिङ हुन दिएका छैनौं, बढी लोड तान्ने उपकरणको प्रयोग बढ्दो छ । तर हाम्रा ट्रान्सफर्मरले त्यो धान्न सकेका छैनन्, त्यसैले मर्मत र क्षमता बिस्तारको पनि आवश्यकता छ ।

बिजुली उत्पादन गरेर मात्रै हुँदैन । गुणस्तरीय बिजुली प्रवाहको लागि हामीले प्रसारण लाइन र सवस्टेशनमा जोड दिएका छौं । यसै वर्ष ठूला/अन्तरदेशीय प्रसारण लाइनको लागि ठेक्का आव्हानको तयारी भैरहेको छ ।

हामीले अब चीनसँग पनि बिजुली व्यापार गर्नुपर्ने भएकाले गल्छी–रसुवागढी–केरुङ ४ सय केभीको प्रसारण लाइन बनाउनुपर्नेछ । भारततर्फ ढल्केवर–मजुफ्फरपुर, बुटवल–गोरखपुर लगायतका अन्तरदेशीय प्रसारण लाइन बनाउन पनि हामीले काम सुरु गर्नु पर्नेछ । 

तर सबस्टेशन र प्रसारण लाइन बनाउने क्रममा त धेरै विवाद आएको छ । कतिपय ठाउँमा तपाईँ आफै खटेर सम्झाउने र हप्काउने पनि गर्नु परेको छ । सबस्टेशन र प्रसारण लाइन निर्माणमा समस्या के के छन ?

अहिले हामीलाई टाउको दुखाइको विषय भनेको विद्युत उत्पादन भन्दा पनि सबस्टेशन र प्रसारण लाइन बनाउन छ । हामीले काबेली कोरिडोरमा समस्या भोग्यौं, कोशी करिडोरमा समस्या भोग्यौ, रसुवामा खुला डाँडोमा पनि प्रसारण लाइनको टावर राख्न दिइएन । यस्ता धेरै उदाहरण छन् । जग्गा र वनको कारण हामीले धेरै समस्या भोगेका छौं । 

आयोजनास्थल वरपरको मुआब्जामा मुख्य समस्या छ । आयोजना बन्ने भयो भन्ने थाहा पाउनेबित्तिकै स्थानीयले चल्तीको भन्दा १० गुणासम्म धेरै मुआब्जा माग्छन् । आयोजनास्थलमा स्कुल/स्वास्थ्यचौकी बनाउनेदेखि, रोजगारी दिने लगायतका माग पूरा गरिदिनुपर्छ । कतिपय स्थानमा त खोलामा आयोजना बन्दैछ भने पहाडको टुप्पोसम्मका बासिन्दाको चित्त बुझाउनुपर्छ । स्थानीयको कारणले ठेकेदारले काम गर्न पाएन भने सरकारसँग क्षतिपूर्ति माग्छ । 

वनको त झन कुरै नगरौं । एउटा रुख काट्न दर्जनौं निकाय धाउनुपर्छ, त्यही पनि अनुमती पाउन गाह्रो छ । तर यो अब विद्युत प्राधिकरणको समस्या मात्रै नभएर अरु परियोजनाको पनि समस्या हो ।  त्यसैले सरकारले यसलाई प्याकेजमा समस्या समाधान गर्नेतर्फ लागिरहेको हामीले पाएका छौं  ।

अब अलिकति प्रसँग बदलौं । तपाईँ केही समयअघि एउटा पत्रकार सम्मेलनमा भावुक हुनुभयो । जेठमा नुवाकोटमा स्थानीयलाई चेतावनी दिनुभयो । संसदीय समितिमा आफूले तलमाथि गरेको भए झुण्डिन तयार रहेको बताउनुभयो । कहिले भावुक हुने, कहिले पुरै आक्रोशमा आउने तपाईँको यो बानीलाई केहीले कुलमान पन्छिने बाटो  र बनावटी पनि हो भने नि ?

यो कुनै बनावटी विषय होइन । जुन ठाउँमा म जाछु, त्यहाँ काम नभएको देखेपछि मलाइ सैह्य हुँदैन । समयमा काम नसकिने भयो भने मलाई सबैभन्दा धेरै पीडा हुन्छ । पीडाको बेलामा कहिले आक्रोशित भइन्छ, कहिले भावुक भइन्छ ।

मलाई अरुले आरोप लगाउँदैमा रिस उठ्दैन, तर काम रोकिएको देख्दा र बिनाकारण आयोजनामा अवरोध भएको देख्दा भने म रिसाएको थाहा पाउँदिनँ । मैले लाखौं नागरिकको अनुहार सम्झन्छु, ममाथि गरेको विश्वास सम्झन्छु । 

मैले अरु स्वार्थको लागि रिसाउने या भावनात्मक हुने काम गरेको छैन । आम नागरिक र नेपालको समृद्धिको लागि म मा स्वभाविक रुपमा केही प्रतिक्रिया आउनु स्वभाविक हो । म रुनु, रिसाउनु या कसैलाई चुनौती दिनु ब्ल्याकमेलिङको लागि होइन, रिजल्टको  लागि हो । 

अन्तिम अपडेट: भदौ २, २०७६

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

3 Comments

  • केदार

    Aug. 9, 2019, 2:01 p.m.

    यो अन्तवार्ता लिने पत्रकार महोदय अर्जुन पोख्रेल को घर कहाँ पर्छ ? थाहा छैन , तर काठमाडौंमा पनि अघोषित बिजुली जाने आउने भईरहन्छ । बिजुली उत्पादन बढेको राम्रो , भारत निर्यात गरेको पनि राम्रो । तर नेपाल भित्र ७/२४ बिजुली उपलब्ध भएर भान्सा घरमा भारतीय ग्याँसको बदलामा नेपाली बिजुली प्रयोग शुरुआत भए पछि मात्र बिजुली उत्पादन भएको अौचित्य पुष्टि हुनेछ ।

  •  0 Reply
  • Hom

    Aug. 7, 2019, 8:44 p.m.

    कुलमान घिसिङ जस्तो जिम्मेवारि बहन गर्ने क्षमतावान नीस्पक्ष इमान्दार तथा निश्कलङ्क ब्यक्ती मालपोत बिभाग, यातायात बिभाग, नेपाल आयल निगम, सडक बिभाग, आन्तरिक राजास्व बिभाग, पर्यटन बोर्ड्, नेपाल एअरलाईनस निगम आदी जस्तै समबेदनसिल बिभाग हरुमा हामीले पाउन सकेमा देश ले कोल्टे फेर्ने थियो! सरकार को ध्यान यता पनि जाला कि!

  •  0 Reply
  • Rajan

    Aug. 7, 2019, 6:03 p.m.

    कुलमानजीले जे गरिरहनुभएको छ , एकदम उत्कृष्ट छ / उहाँलाई एउटा अनुरोध छ कि यो धनगढी एरियामा दिनको १०-१५ पटक बिजुली जान्छ / कहिले २/४ मिनेटमा आउँछ त कहिले घन्टौं लाग्छ / यो गर्मी ठाउँमा अरुभन्दा पनि साना बच्चाको विजोग नै हुन्छ गर्मीले .....ल हेर्नुस यो मेसेज टाइप गर्दा गर्दै पनि बिजुली गयो /यो त धनगढ़ीवासीको दैनिक भोगाई हो / हामीले यहाँको प्राधिकरणको अधिकृतलाई पनि धेरै पटक भनिसक्यौं / यसले के बुझ्न बाध्य बनाएको छ भने एकातिर कुलमान सर जनताको सुविस्ताको लागि हरसम्भव मरिमेट्ने, अर्कोतिर उहाँकै मातहतमा रहेका मान्छे जिम्मेवारीतिर सिरियस नभएको ..यसले अन्तत कुलमानजी इमेजलाई धमिलो पार्न खोजेको हो कि ? धनगढ़ीको समस्या समाधान गर्न अब यहाँको जिम्मेवारी पाएकोले जिम्मेवारी वहन गर्न नसके जस्तो देखियो / कुलमानजी वाटै आवश्यक कदम चाल्नुहुन अनुरोध छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया