प्रधानमन्त्री ओली भोलि मात्रै स्वदेश फर्कने

 साउन २६, २०७६ आइतबार ९:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको छ ।  

स्वास्थ्य परीक्षण रिपोर्ट नआएकाले प्रधानमन्त्री स्वदेश फर्कने कार्यतालिका लम्बिएको उहाँको सचिवालयले जानकारी दिएको छ । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको हो । 

शुक्रबारपछि आइतबार स्वदेश फर्कने तय भए पनि आइतबारसम्म पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदा बसाई लम्बिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसहितकाे टाेली सोमबार थाइ एयरबाट दिउँसाे साढे १२ बजे आइपुग्नुहुने कार्यतालिका रहेकाे सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्रीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीको सिङ्गापुको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँ साउन १८ गते त्यसतर्फ जानुभएको थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया