सिंहदरबार घेराउ गर्ने भन्दै भद्रकालीमा प्रदर्शन गरिरहेकाहरु प्रहरीकाे नियन्त्रणमा

 साउन २६, २०७६ आइतबार १५:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिंंहदरबार घेराउ गर्ने भन्दै काठमाण्डौको भद्रकालीमा प्रदर्शन गरिरहेका ‘आरक्षण बचाऔँ आन्दोलन’ का अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लोक सेवा आयोगले संविधान विपरीत विज्ञापन खुलाएको दावी गर्दै आन्दोलन गर्दै आइरहेका अगुवाहरुलाई आइतबार काठमाण्डौको भद्रकालीमा प्रर्दशन गरिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनकारीहरुले सिंहदरबार घेर्न भन्दै निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

त्यसअघि प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रर्दशनकारीहरुलाई पटक–पटक माइकबाट सचेत गराएको थियो तर प्रर्दशनकारीहरुले भने शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउनु पर्ने दावी गरिरहेका थिए । भद्रकालीबाट प्रदर्शनकारीहरु सिंंहदरबारतर्फ अघि बढेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो । त्यसक्रममा प्रर्दशनकारीहरुले शान्तिपूर्ण आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीविरुद्ध पनि चर्काे नाराबाजी गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीहरुले चर्काे नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा समेत माग गरेका थिए । लोक सेवा आयोगले सरकारको सिफारिसमा खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले विरोध प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएका छन् । 

उनीहरुले लोक सेवा आयोगको विज्ञापन खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया