नगरपालिकाद्वारा अस्पताल व्यवस्थापन समिति खारेज, नगर प्रमुखको अध्यक्षतामा नयाँ समिति गठन

 साउन ३१, २०७६ शुक्रबार १२:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – दातृ निकाय र व्यक्ति–व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।

नेपाल अर्बुद रोग निवारण संस्थाको नाममा अस्पताल सञ्चालन गरी वर्षौँदेखि अध्यक्ष लोकेन्द्र बहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमल कुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरि नयाँ समिति गठन गरेको जानकारी दिएको छ । 

नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं. १ का संघीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई सल्लाहाकार, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रवीन्द्र ज्याख्व, उकेश कवाँ र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ । 

अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरि गठन गरिएको समितिमा नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । 

समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षकलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

लोकेन्द्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यम, कर्मचारी र स्थानीयबासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय नागरिक तथा अस्पतालका चिकित्सक र कर्मचारीहरुबाट संघर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । 

नगर प्रमुख प्रजापतिले भन्नुभयो, ‘अस्पतालमा अनियमितता भएको विषयमा जान्न बुधबार पनि हामी गयौ, पटक पटक बोलाउँदा पनि अध्यक्ष, महासचिव आएनन्, बिहिबार पनि हामी गयौ, पटक पटक बोलाउँदा नआएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गर्नुपरेको हो, अब अस्पतालका सबै अनियमितताबारे छानबिन हुन्छ ।’

अस्पतालका अध्यक्ष श्रेष्ठ र महासचिव होडाले फार्मेसीदेखि ल्याबसम्म भाडामा दिएर कमिसन लिँदै आएको, विभिन्न सामान खरिदमा घोटाला गरेको, दाताले दिएको रकमको दुरुपयोग गरेको, अध्यक्षले अस्पतालको गाडी दुरुपयोग गरी वागबजारमा रहेको आफ्नो होटलमा समेत प्रयोग गरेको, अस्पताल भित्र व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया