भक्तपुर गाईजात्राकाे राैनक : 'घिन्ताङ घिसी' नाचसँगै व्यङ्ग्य र कार्टुन

 साउन ३१, २०७६ शुक्रबार १९:२४:० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सात दिनसम्म मनाइने गाईजात्रा पर्व शुक्रबार भक्तपुरमा सुरु भएकाे छ । भक्तपुरवासीहरुले तलेजुस्थानबाट शुक्रबार बिहान कुखुरा नबास्दै तलेजुको ताहामचा बनाएर नगर परिक्रमा गराएपछि गाईजात्रा सुरु भएको हो । 

गाईजात्रामा नाचिने प्रख्यात घिन्ताङ घिसी नाचमा यस पटक परम्परागतभन्दा फरक देखियो । यस वर्ष पुरुषभन्दा बढी महिलाको संख्या देखिन्थ्यो । केही वर्ष अघिसम्म यो नाचमा महिला सहभागिता हुने परम्परा थिएन, पुरुष नै महिला बनेर जात्रामा आउँने गर्थे तर केही वर्षयता यो नाचमा महिलाको संख्या बढेको छ । 

विशेषगरी नेवारी समुदायमा मनाइने यो जात्राको घिन्ताङ घिसी (लठ्ठी नाच) नाचमा नेवार समुदायसँगै बाहुन, क्षेत्री, तामाङ, लामादेखि दलित समुदायका महिलाहरुको समेत उपस्थिति देखिन्थ्यो ।  

'घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय', गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङ घिसी नाच नाच्दा गाईजात्राको रौनक थपिएको थियो । यो नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । 

उपत्यकामा मनाइने धार्मिक र ऐतिहासिक महत्व बोकेको गाईजात्रामध्ये भक्तपुरको जात्रा केही पृथक्, मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक थियो, जसलाई हेर्न टाढाटाढाबाट मानिसहरु आएका थिए ।  

एक वर्षभित्र बितेका आफन्तको दिवंगत आत्माले मोक्ष प्राप्त गरून् भनेर प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि सातदिनसम्म गाईजात्रा मनाइन्छ । गाईजात्राको दिन वर्ष दिनभित्र बितेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाइ नगर परिक्रमा गर्ने प्रचलन छ । 

उमेर पुगेका व्यक्तिहरूको मृत्यु भएमा १५ हात लामो बाँसको तामचा बनाइ नगर परिक्रमा गर्ने परम्परा भए पनि भूकम्पले गर्दा टोलटोलमा टेको लगाइएकाले यस वर्ष साना–साना ताहामचा बनाइएको थियो । 

जात्रामा करुण रस प्रधान गीतिलिला रामायणहरूसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाइ श्रृंगारपटारका साथ खटमा राखी केटाकेटीहरूलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो । 

जात्राको आकर्षणको रूपमा रहेको घिन्ताङ घिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं (बाँदर नाच), लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको थियो ।  

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रालाई दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, काठमाण्डाै, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रेय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ ।   

साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाच पनि निकालिएपछि आजको जात्रा समापन भएको छ । तौमढीको भैरव मन्दिरबाट निकालिएको तमाचा वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीन पटक परिक्रमा गरेपछि जात्रा समापन गरिएको थियो ।

जात्राकै क्रममा विभिन्न व्यङ्ग्य एवं कार्टुनसमेत प्रर्दशन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया