कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भि...
बैशाख १३, २०८१ बिहिबार
लमजुङ – सुन्दरबजार नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले व्यवसायिक तरकारी खेती सुरु गरेको छ ।
सहकारीले सुन्दरबजार नगरपालिका–६ को ठाँटीचौर खदापानीमा झण्डै १७ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर व्यवसायिक तरकारी खेती सुरु गरेको हो ।
सहकारीका प्रबन्धक दिनेशबाबु कोइरालाका अनुसार सहकारीले विसं २०७५ साल चैतबाट तरकारी खेती सुरु गरेको हो । ‘वार्षिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरी स्थानीय चार जनाको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरिएको हो,’ प्रबन्धक कोइरालाले भन्नुभयो ।
हाल चार ओटा प्लास्टिक टनेलमा गोलभेँडा उत्पादन भैरहेको छ । एउटा प्लास्टिक टनेलमा काँक्रो र अर्को टनेलमा ‘क्याप्सिकम’ उत्पादन भैरहेको छ । खुर्सानी खेती पनि गरिएको छ । २० मिटर लम्बाइ र ६ मिटर चौडाइको २ ओटा ‘ग्रीन हाउस’ पनि बनाइएको छ । ‘ग्रीन हाउस’ मा गोलभेँडा लगाउने तयारी भैरहेको सहकारीले जनाएको छ ।
कृषिमा लाग्न प्रेरित गर्ने
यस वर्षभित्रमा २० ओटा टनेल बनाइ तरकारी खेती विस्तार गर्ने सहकारीको लक्ष्य छ । अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै बाहिरबाट आउने तरकारी रोक्नका लागि तरकारी खेती सुरु गरिएको प्रबन्धक कोइरालाले बताउनु भयो ।
‘हामीले सुरु गर्दै गरेको कृषि फार्मले अन्य किसानलाई कृषिमा लाग्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएका छौँ,’ उहाँले भन्नु भयो, ‘यसले बाहिरबाट आउने तरकारीलाई केही मात्रामा भए पनि रोक्छ । स्थानीय उत्पादनले बजार पाउँछ र रोजगारीको समेत सिर्जना गर्न सक्छ ।’
संरचना निर्माणसहित गरेर कृषि फर्ममा झण्डै १६ लाख रुपैयाँ लगानी भैसकेको उहाँले बताउनु भयो । तरकारी खेती गर्न कृषि ज्ञान केन्द्र लमजुङले सिँचाइका लागि ३ लाख रुपैयाँ सहयोग गरेको थियो ।
गोलभेँडा उत्पादन प्राथमिकतामा
विशेषगरी सुरुवातको चरणमा सहकारीले गोलभेँडा उत्पानलाई जोड दिएको छ । बजारमा गोलभेँडाको माग र मूल्य राम्रो भएका कारण गोलभेँडा खेतीलाई उच्च प्राथमिकतामा राखिएको प्रबन्धक कोइरालाले बताउनु भयो । सहकारीले गोलभेँडाको बिरुवा तयार गरी बिक्री समेत गरेको छ ।
कृषि फार्मबाट पहिलो उत्पादन लिने बेला भएको छ । फार्मबाट उत्पादित कृषि उपज स्थानीय सुन्दरबजार, खत्रीठाँटी, सिउँडीबार लगायतका ठाउँमा नै खपत हुनेमा सहकारी ढुक्क छ ।
उत्पादनलाई साना किसान कृषि सहकारी संस्थाको केन्द्रीय संघ काठमाण्डौ र इलाका संघ पोखराले पनि बजारीकरणमा सघाउने उहाँले बताउनु भयो ।
फार्म विस्तार गरिँदै
बिस्तारै फार्म विस्तार गरिने र त्यसपछि सबै किसिमका तरकारी उत्पादन गरिने प्रबन्धक कोइरालाले जानकारी दिनुभयाे । सहकारीले नै कृषि कर्म सुरु गरेमा त्यसको सिको गर्दै सहकारीमा आबद्ध किसानले पनि कृषि कर्ममा पाइला चाल्ने सहकारीले विश्वास लिएको सहकारिकी अध्यक्ष सुकमाया गुरुङले बताउनुभयो ।
कृषि कर्मलाई चुस्त दुरुस्त रुपमा अघि बढाउनका लागि वीरबहादुर थापाको संयोजकत्वमा कृषि फार्म सञ्चालन उपसमिति समेत गठन गरिएको छ । सहकारी सञ्चालक समितिका साथै कृषि फर्म सञ्चालन उप–समितिले फर्मको रेखदेखका साथै गोडमेल लगायतका कार्यमा सघाउँदै आएको छ ।
फार्मबाट तीन जनाले पूर्ण रोजगारी पाएका छन् । कृषि फर्मबाट आंशिकरुपमा केही स्थानीयले समेत रोजगारी पाएका छन् । १५ सय जना साना किसान कृषि सहकारीमा सदस्य छन् । सहकारीले सुन्दरबजार नगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।