नेपालकै सबैभन्दा ठूलो आईसीटी अवार्ड सम्पन्न

 भदौ १, २०७६ आइतबार १९:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चौथो संस्करणको आईसीटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आईसीटीले शनिबार सोल्टी क्राउन प्लाजामा विभिन्न १० विधाका अवार्ड वितरण गरेको हो । 

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित सम्पन्न भएको अवार्ड कार्यक्रमका विजेताहरुलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री एवं सांसद महेश बस्नेत र अन्य विशिष्ट अतिथिले सम्मान गर्नुभएको थियो । 

१० विधा अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड ई–डिजिटल नेपाल प्रालिले प्राप्त गर्न सफल भयो भने प्रडक्ट आईसीटी अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले हात पार्‍यो । त्यस्तै राइजिङ स्टुडेन्ट प्रोजेक्ट अवार्ड पुल्चोक क्याम्पसका विद्यार्थीहरुले विकास गरेको प्लाटफर्म ‘रक्तदान’ ले जित्न सफल भयो ।

यस वर्षको आईसीटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं विकास अभियन्ता महावीर पुनलाई वितरण गरियो । त्यस्तै आईसीटी आन्ट्रप्रेनियर अवार्डबाट जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाललाई वितरण गरियो । 

विदेशमा रहेर पनि नेपालको आईटी क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तिलाई दिइने नेपाली डायस्पोरा आईसीटी अवार्ड प्रसिद्ध एआई कम्पनी फ्युज मेसिनका संस्थापक डा. समीर मास्केले प्राप्त गर्नु भएको छ ।  

आईसीटी अवार्ड अन्तर्गत सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी कार्यालय÷संस्थालाई दिइने डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ । त्यसैगरी सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएको मूल्याकंन गर्दै नेपाल खुला विश्वविद्यालयलाई डिजिटल एजुकेसन आईसीटी अवार्ड वितरण गरिएको छ । 

यस्तै १९ ओटा प्रडक्ट तथा स्टार्टअपमध्ये किताब यात्रा प्रालिले पब्लिक च्वाइस अवार्ड २०१९ प्राप्त गरेको छ । कार्यक्रममा स्व. कर्मठ डंगोललाई आईसिटी मरणोपरान्त सम्मान दिइएको छ । 

कसलाई कुन अवार्ड

स्टार्टअप आईसीटी अवार्ड – ई डिजिटल नेपाल प्रालि
प्रडक्ट आईसीटी अवार्ड – मेडिफ्लो सिस्टम एन्ड सर्भिसेस
पायोनियर आईसीटी अवार्ड – डा. महावीर पुन
नेपाली डायस्पोरा आईसीटी अवार्ड – डा. समीर मास्के
आन्टरप्रेनियर आईसीटी अवार्ड – अमित अग्रवाल
डिजिटल गभर्नेन्स आईसीटी अवार्ड – लोकसेवा आयोग
डिजिटल एजुकेशन आईसीटी अवार्ड – नेपाल खुला विश्वविद्यालय
राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड – रक्तदान
पब्लिक च्वाइस आईसीटी अवार्ड – किताबयात्रा प्राली
मिडिया पर्सन आईसीटी अवार्ड – विजय तिमिल्सिना

आईसिटी अवार्ड २०१९ का निर्णायक मण्डलका संयोजक हेमपाल श्रेष्ठले यसपटक विभिन्न छनोट प्रक्रिया अवलम्बन गर्नुका साथै उत्कृष्ट कम्पनी, प्रडक्ट र संस्थाको फिल्ड भिजिट पनि गरिएको जानकारी दिनुभयो । 

आईसिटी अवार्डका संयोजक राजन लम्सालले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने हेतुले आईसिटी अवार्ड आयोजना गरिएको जानकारी दिँदै यस वर्षको अवार्डमा देशव्यापीरुपमा विभिन्न विधामा सहभागीहरु आएको बताउनु भयो । उहाँले सूचना प्रविधि उद्योग निर्माणमा अवार्डले महत्वपूर्ण योगदान दिने दावी गर्नुुभयो । 

यस वर्षको स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्डका विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण बिनाधितो ऋण दिने घोषणा गरेको छ । 

यसैगरी आईसीटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्स्योरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको बीमा गरिदिने भएको छ । यसबाहेक अवार्डका विजेताहरुले विभिन्न छुट, सुविधा, लगानीको अवसर आदि प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया