विदेश पठाउने भन्दै सात जनाबाट लाखौँ रकम उठाएर फरार

 भदौ २, २०७६ सोमबार ८:५०:४७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – वैदेशिक रोजगारीमा दुवई पठाइदिने भन्दै ७ जनाबाट  लाखौँ रुपैयाँ उठाएर एक व्यक्ति फरार भएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह तीन महिनादेखि फरार भएका हुन् । आकर्षक आम्दानीको लोभ देखाएर सात जना युवासँग प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ लिएर साह फरार भएको पीडितहरुले बताएका छन् ।

सात जनाबाट  ११ लाख ९० हजार उठाएर साह तीन महिनादेखि  सम्पर्कविहीन छन् ।  साहले सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डलबाट पैसा उठाएका थिए ।

साहले रकम असुलेको बारेमा पीडित युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले कार्यालयले साहका नाममा पक्राउ पूर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको बताउनुभयो । सञ्जेलले आर्थिक अवस्था कमजोर भएका युवा विदेश जान खोजेको र उनीहरुबाट त्यही मौकामा रकम उठाएर ती ब्यक्ती फरार भएको पुष्टि गर्नुभयो ।

सबै प्रमाणका आधारमा  ठगी गरेको पुष्टि भएपछि साहलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाइने उहाँको भनाइ छ । वैदेशिक रोजगारीका लागि गएको वैशाख ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेर आफूहरु फिर्ता आउनु परेको युवाहरुले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

पर्यटक भिसामा वैदेशिक रोजगारीका लागि जान लागेको भन्दै विमानस्थलले फिर्ता गरिदिएको पीडित मध्येका एक गन्नु मण्डल सरवरियाले बताउनुभयो । त्यसपछि सबैको राहदानी लिएर साह सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुभयो ।

यता, युवाहरुले आफूहरुबाट उठाएको रकम फिर्ता हुनु पर्ने माग गर्न थालेपछि ठगीमा संलग्न साहका बुवा रामफल साहले जिल्ला अदालत सुनसरीमा पीडितहरुविरुद्ध उजुरी दिएका छन् । पैसा फिर्ता गर्न विभिन्न धाकधम्की दिएको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।

सबैले अदालतमा उपस्थित भएर प्रतिउत्तर फर्काउने काम गरिसकेको पीडित युवाहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया