भारतीय विदेशमन्त्रीकाे नेपाल भ्रमणका बेला नेपालले भीख माग्नु हुँदैन: दीक्षित

 भदौ ३, २०७६ मंगलबार १६:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बुधाबारबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पार्नुभएकाे छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष  साक्षात्कारमा नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको उहाँले सुनाउनुभयाे । 

साक्षात्कारमा उहाँले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सबल हुने राम्रो आधार तय भएको विश्वास दिलाउनुभयाे । उहाँले भन्नुभयाे,‘ दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ । अहिले सघन कुराहरु हुन थालेका छन् । समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ ।’

भारतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको सुनाउँदै उहाँले अगाडि भन्नुभयाे, ‘भारतसँग हाम्रो दुई तिहाइको व्यापार हुन्छ, शिक्षा, पर्यटन, धार्मिकलगायत सबै क्षेत्रमा सुमधुर सम्बन्ध छ । सीमा, डुबानलगायत १९५० को सन्धि र ईपीजीको प्रतिवेदनबारे पनि छलफल हुन्छ । यो महत्वपूर्ण फोरम हो । हामीबीच रहेका सबैखाले समस्याहरुलाई कुटनीतिक पहलमार्फत समाधान खोज्छौँ ।’

उहाँले विगतका समस्याहरु समाधान गर्दै आजको युग र परिवेश सुहाउँदो विदेश सम्बन्ध बनाउनुपर्ने र विदेश सम्बन्धका आधारभुत कुराहरुमा अघि बढाएर अघि बढ्ने सुनाए । 

भारतको कश्मीरको बारेमा नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको ? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उहाँले हरेक घटनामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पार्नुभयाे । 

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंंहले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभयाे । 

सिंंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाउनुभयाे । ‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ, वर्षौँदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’

कार्यक्रममा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भारतमा नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएको र मोदी नेपालको असल मित्र भएकोले उनको मित्रतालाई नेपालले समात्न सक्नुपर्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे,‘नेपाल र भारत दुवैले एक आपसको हित हेर्नुपर्छ ।’

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेकोले उनको भ्रमणको बेला नेपालले भीख माग्न नहुने दीक्षितको सुझाव छ । उहाँले भन्नुभयाे,‘आजसम्म भएका सम्झौताहरु के कति कारणले कार्यान्वयन भएनन् ? यी विषयमा गम्भीर समीक्षा हुनुपर्छ ।’ उनले संयुक्त बैठकमा हाइड्रोदेखि इरिगेशनसम्मका कुरा अघि बढ्नुपर्ने पनि धारणा राखे । 

दीक्षितले भारतले कश्मीरमा चालेको कदमबारे नेपालले कुरै नगर्ने भनेर परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अभिव्यक्ति दिएको भन्दै त्यसमा आपत्ति जनाउनुभयाे । 

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिटलरको संज्ञा दिँदा त्यो गलत हो भनेर नेपालले भन्न सक्नुपर्ने थियो भन्ने उहाँको तर्क थियो । दुवै देश सार्कको सदस्य राष्ट्र भएकोले यो क्षेत्रमा शान्ति कायम गर्नु नेपालको पनि दायित्व रहेको दीक्षितले उल्लेख गर्नुभयाे ।

‘तर, यस्तो विषयमा हामी बोल्दैनौँ भनेर हाम्रो मन्त्रीले भन्नुभयो, हाम्रो मन्त्रीको जिब्रो पनि विचित्रको छ’,उहाँले गुनासो पोख्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया