मनसुनी गतिविधि कमजोर, स्थानीय वायुको प्रभावले केही ठाउँमा पानी पर्ने सम्भावना

 भदौ ४, २०७६ बुधबार ११:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अझै केहीदिन मनसुन कमजोर हुने मौसमविद्ले अनुमान गरेका छन् । मनसुनी न्यूनचापीय रेखा साविक स्थानमा रहेकाले कम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनी न्यूनचापीय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।

तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने र कुनै–कुनै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । यस्तै, कतै नजिकै पानी परेपनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने उहाँको भनाइ छ । कम पानी परेसँगै दिउँसो चर्को घाम लाग्दा हिँड्डुल गर्नै समस्या भएको छ ।

सामान्यतया जुन १० मा नेपाल प्रवेश गरेको मनसुन सेप्टेम्बर २३ मा बाहिरिन्छ । मनसुन सकिन एक महिना बाँकी नै भएकाले पानी पर्ने संभावना अझै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बुधबार देशका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने र पूर्वी र पश्चिमी पहाडी भू–भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने उहाँको अनुमान छ ।

यस्तै, बुधबार उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, काठमाण्डौ र आसपास, नुवाकोट, गोरखा, तनहुँ, नवलपरासी, रूपन्देही, पाल्पा, अर्घाखँंची, प्युठान, दाङ, रोल्पा, सल्यान, डोटी, बाँके जिल्ला भएर बहने नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले नदी आसपास हिँड्डुल गर्दा सजग हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया