‘मरिगए हुन्थ्याे’ भन्नेहरुलाई प्रधानमन्त्रीकाे जवाफ : अझै १५ वर्षसम्म अखडामै रहन्छु

 भदौ ४, २०७६ बुधबार ११:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनु भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले बृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनु भएको हो । 

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पूरा हुन नसकेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले जिद्दीपना र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, संविधानले बृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्दीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो ।

उहाँले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चा र परिचर्चाको खण्डन गर्दै प्रधानमन्त्री ओलीले विरोधीलाई चुनौतिपूर्ण जवाफ दिनुभयो । विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिनुभयो । उहाँले आफू अझै १५ वर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो ।  

उहाँले भन्नुभयो, ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन्, भने । ऊ बाँचोस् तै पनि मुकाबिला गर्छु भन्ने छैन । मरिहाले हुन्थ्यो भनेर होला । मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गरेको हुनाले फेरि पछि निराश होलान् कि भनेर । अझै १५ वर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ ।’

केही दिनअघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओली बिहीबार फेरि उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया