नेकपा एकीकरणको अधिकांश काम सकियो, पार्टीमा महिला सहभागिता न्यून

 भदौ ४, २०७६ बुधबार २०:२२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ९ सदस्यीय सचिवालयमा एक जना पनि महिला परेनन् । 

पार्टीको सबैभन्दा शक्तिशाली सचिवालयमा एक जना पनि महिला नपर्नुले १५ महिना लगाएर पार्टी एकीकरणको काम टुंग्याउँदै गर्दा बाँकी रहेका पार्टी कमिटीहरुमा पनि महिला सहभागिता न्यून बन्न पुगेको छ ।

पार्टीले टुंगो लगाएको केन्द्रीय कमिटी, सचिवालय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा पछिल्लो पटक टुंगो लगाएको विभाग एवं जनवर्गीय संगठनमा पनि महिला सहभागिता न्यून छ । 

प्रदेश, जिल्ला तथा विभागको नेतृत्व पाउने महिलाको सख्या त झनै नगन्य छ । 

३ जेठ २०७५ मा पार्टी एकीकरणको औपचारिक घोषणापछि ८ जेठमा पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्‍यो । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सय जना सदस्य बने । तर यति ठूलो संख्यामा केन्द्रीय सदस्य चयन गर्दा जम्मा ७७ जना मात्रै महिला सहभागी गराइएको छ ।

त्यस्तै जेठको १६ गते सार्वजनिक गरिएको ४५ सदस्यीय स्थायी कमिटीमा जम्मा २ जना मात्रै महिला सहभागी गराइयो । तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना स्थायी कमिटी सदस्य बन्दै गर्दा दुवै तर्फबाट एक एक जना महिलाले मात्रै स्थायी कमिटी सदस्य बन्ने मौका पाए । स्थायी कमिटीमा तत्कालीन एमालेबाट अष्टलक्ष्मी शाक्य र माओवादी केन्द्रबाट पम्फा भुषाल गरी २ जना मात्रै महिला सदस्य छन् । 

यस्तै प्रदेश कमिटीमा पनि महिला सहभागिता न्यून छ । ७ वटा प्रदेशमध्ये प्रदेश नम्वर ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र प्रदेश नम्वर ५ को अध्यक्षमा ओनसरी घर्ती पर्नु भएको छ । प्रदेशको इन्चार्ज, सहइन्चार्ज तथा अध्यक्ष र सचिव चयन गर्दै गर्दा सात प्रदेशबाट जम्मा २ जना महिलाको सहभागिता गराइएको हो ।

यस्तै अन्य क्षेत्रको कमिटीहरुमा महिला सहभागिता पनि न्यून छ ।  ७७ जिल्लामा जम्मा ९ वटा जिल्लामा मात्रै इन्चार्जको जिम्मेवारीमा महिला छन् । वर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्याङ्जा जिल्लाको इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । जिल्लाको सह–इन्चार्जमा भने २२ जना महिलाले मौका पाएका छन् । 

६ वटा महानगरमा २ वटा महानगरको नेतृत्व महिलाको हातमा पुगेको छ । भरतपुर महानगरमा रेणु दाहाल र ललितपुर महानगरमा सुशीला नेपालले नेतृत्व पाउनुभएको छ ।

पछिल्लो पटक घोषणा गरिएको पार्टीको विभागमा पनि महिला नेतृत्व न्यून छ । ३२ वटा विभागमध्ये जम्मा २ वटा विभागको प्रमुखमा मात्रै महिलाको नेतृत्व छ ।उद्योग तथा वाण्ज्यि विभाग प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाई विभाग प्रमुखमा मन्त्री वीना मगरले नेतृत्वको मौका पाउनुभएको छ । अन्य ४ जना उपप्रमुखको जिम्मेवारीमा छन् ।

खानेपानी तथा सरसफाइ विभागमा दुवै जना महिला परेका छन् । प्रमुख वीना मगर रहँदा  उपप्रमुखमा ममता गिरी हुनुहुन्छ ।

सामान्य प्रशासन विभाग प्रमुख लालबाबु पण्डित रहँदा उपप्रमुख रेखा शर्मा हुनुहुन्छ । स्थानीय तह विभागमा प्रमुखमा युवराज ज्ञवाली हुँदा उर्मिला अर्याल उपप्रमुख हुनुहुन्छ । यस्तै स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा राजेन्द्र पाण्डे रहँदा उपप्रमुख अञ्जना विशंखे हुनुहुन्छ ।

यस्तै विभिन्न २८ वटा जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदै गर्दा ५ वटा संगठनको इन्चार्ज महिला नेतृहरुले पाएका छन् । २ जनाले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

विभागहरुमध्ये मानवअधिकार तथा सामाजिक अभियान नेपालको इन्चार्जमा थममाया थापाले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । थापा वर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ । सहइन्चार्जमा सत्या पहाडी हुनुहुन्छ ।

यस्तै पेशागत महासंघको इन्चार्जमा पम्फा भुषाल, ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती र स्वास्थ्य सम्बद्ध संगठनको इन्चार्जमा सुजिता शाक्य चयन हुनुभएको छ ।

अखिल नेपाल महिला संघको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्ज कमला रोका हुनुहुन्छ । महिला संघ भएर मात्रै यसमा पुरुषहरुको हस्तक्षेप भएन ।

यस्तै पार्टीले निर्माण गरेको ४ वटा विशेष कमिटीमा पनि महिला सहभागिता उल्लेख्य हुन सकेन । इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गर्दै गर्दा जम्मा ३ जना महिला नेतृहरुलाई सहभागी गराइएको छ ।

उपत्यका विशेष कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी, मजदुर विशेष जिल्ला कमिटी र उद्योगी व्यवसायी विशेष कमिटी छ । यसमध्ये मजदुर विशेष जिल्ला कमिटीको नेतृत्वमा मात्रै महिला नेतृलाई जिम्मेवारी दिइएको छ । यसको इन्चार्ज विना श्रेष्ठलाई बनाइएको छ ।

उद्योगी व्यवसायी विशेष कमिटीको सहइन्चार्जको जिम्मेवारी शशी श्रेष्ठले पाउनु भएको छ भने युवा विद्यार्थी विशेष जिल्ला कमिटीको सचिवको जिम्मेवारी सुनिता बरालले पाउनुभएको छ । उपत्यका विशेष कमिटीमा महिला सहभागी गराइएको छैन ।

विवादरहित बन्न सकेन

लामो समयपछि एकीकरणको अधिकांश काम बल्ल बल्ल टुंगिएको छ । तर पछिल्लो पटक आइपुग्दा भएका निर्णयहरु भने विवादरहित हुन सकेन । आइतबारको बैठकले नेताहरुको वरीयता हेरफेर गरिदिएसँगै नेकपामा विवाद उत्पन्न भएको छ ।

सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेपछि नेपाल असन्तुष्ट हुनुभएको छ । उहाँले वरीयतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ् डिसेन्ट’ पनि लेख्नुभएको छ ।

वरीयता हेरफेर भए पछि नेता नेपालले तत्कालिन एमालेका तीन नेतालाई सचिवालयमा ल्याउन प्रस्ताव गरेका गर्नुभएको थियो । तर उहाँले गर्नुभएको प्रस्ताव आइतबारको सचिवालय बैठकले अस्वीकृत गरेको थियो ।     

आयोग गठन गर्न बाँकी

केन्द्रीय कमिटी, स्थायी कमिटी, प्रदेश, जिल्ला हुँदै विभाग तथा जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लागेसँगै नेकपाको बाँकी रहेको एकीकरणका अधिकांश कामहरु सकिएको छ । अब केन्द्रीय आयोगहरु गठन गर्न बाँकी छ ।

नेकपाको विधानमा ६ वटा आयोग रहने व्यवस्था छ । जसअनुरुप नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ ।

मंगलबार बस्ने भनिएको सचिवालय बैठकले नै आयोगहरुको नेतृत्व टुंगो लगाउने तयारी गरेको भए पनि बैठक स्थगित हुँदा आयोगको नेतृत्व टुंगो लाग्न बाँकी भएको हो । अब बस्ने सचिवालय बैठकले आयोगको नेतृत्व टुंगो लगाउने छ ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया