काभ्रेमा मापदण्ड विपरीतका ८ इँटा भट्टा भत्काइए

 भदौ ८, २०७६ आइतबार १८:२९:३६ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - काभ्रेको नमोबुद्ध नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन भएका भकुण्डे क्षेत्रका ८ इँटा भट्टा डोजर लगाएर भत्काएको छ ।

नगरपालिका र उद्योगीहरुबीच २०७५ पुष २७ गते २०७६ असार मसान्तसम्ममा भट्टा बन्द गर्ने करार सम्झाैता भएकोमा व्यवसायीहरुले साउन मसान्तसम्म पनि भट्टा बन्द नगरेकोले नगरपालिकाले डोजर लगाएर भत्काएको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँले नगर र उद्योगीबीच भएको सम्झौताको बुँदा नम्बार ६ मा सम्झाैता मिति सकिएपछि उद्योग हटाउन उद्योगीले तत्परता नदेखाए नगरपालिका आफैँले हटाउने, हटाउँदा हुने सबै क्षति उद्योगीले नै व्यहोर्नुपर्ने र हटाउन लाग्ने खर्चसमेत उद्योगी आफैँले ब्यहोर्नुपर्ने उल्लेख गरिएको जानकारी  दिनुभयो । 

भट्टाहरु नगरपालिकाले हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पुर्‍याएका थिए ।एक्स्काभेटरहरु बाटोमा तेर्स्याएर अवरोध गरिए पनि नगरपालिकाले वैकल्पिक बाटो बनाएर सबै भट्टाहरु भत्काएकाे हाे  ।

नमोबुद्ध नगरपालिकाको वडा नम्बर २ र ३ मा रहेका भैरव कुण्ड, शिवशक्ति, बिन्ध्यवासिनी, जय शिवशक्ति, सत्यनारायण, फुलबारी, पञ्चकन्या र शंकर इट्टा उद्योग नामका ८ भट्टाहरुले तोकिएको मापदण्ड पूरा नगरेकोले बाध्य भएर भत्काउनु परेको पमुख तिमल्सिनाको भनाइ छ । नगरको भदौ ५ गते बसेको कार्यापालिकाको बैठकले यी सबै उद्योग हटाउने निर्णय गरेको थियो । निर्णयपछि हिजो शनिबार भत्काउने भनिए पनि आज आइतबार बिहानैबाट भत्काउन सुरु गरिएको हो ।

सम्झाैतामा तोकिएकाे मिति सकिएपछि पनि पटक पटक व्यवसायीलाई नगरसँग भएको प्रतिबद्धता कार्यान्वयन गर्न नगरपालिकाले पत्राचार गरेको र व्यवसायी भने सम्झौता बमोजिम जान आनाकानी गर्दै कानुनी उपचारको खोजीमा हिँडेको बुझिएको छ ।

भकुण्डेमा भट्टा भत्काउन थालेपछि केही व्यवसायी सर्वोच्च अदालतमा मुद्धा हाल्न र केही भत्काउने काममा अवरोध गर्न पुगेका थिए । बिन्ध्यवासिनी भट्टा भत्काउन लाग्दा अवरोध गरेको भन्दै भक्तपुर नगरपालिका-८ का राम सुवाल, भक्तपुर-९ का राजन भैनालो र नमोबुद्ध-३ का किशोर दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

व्यवसायीले गएकाे पुष २७ गते वातावरणीय मापदण्ड पूरा गरी बनाएको काँचो इँटा पोल्न दिएमा आउँदाे वर्षदेखि उद्योग बन्द गर्ने प्रतिबद्धताकासहित पुष २७ गते करार सम्झौता गरेका थिए ।

भट्टा भत्काउँदै गरेको ठाउँमा पुगेका सत्यनारायण इँटा उद्योगका सञ्चालक लक्ष्मण महर्जनले सम्झौता विपरीत नगरपालिकाले भत्काएको आरोप लगाउनुभयो । उहाँले नगरपालिकाले विकल्प दिएर भत्काउने भने पनि कुनै विकल्प नदिइ भत्काएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

इँट भट्टा रहेकाे ठाउँमा सम्भावित मुठभेडको आकलन गर्दै ८१ जना शसस्त्र र प्रहरी परिचालन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया