साततले दरबार पुनर्निर्माण सुरु : नेपाली कालिगढ र श्रमिक काममा

 भदौ ११, २०७६ बुधबार १२:३३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नुवाकोटको ऐतिहासिक साततले दरबारको पुनर्निर्माणको काम सुरु भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माणको काम थालनी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ‘झरी पानी पर्ने क्रम रोकिएको छैन’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भन्नुभयो, ‘पहिलो चरणमा पानीबाट थप क्षति हुन नदिन दरबारको संरक्षण गर्ने काम थालिएको छ ।’ थप क्षति हुन नदिन दरबारको वरिपरी बाँध्ने र सुरक्षित बनाउने (स्क्याफ्लोल्डिङ) को काम थालिएको छ ।

त्यसैगरी निर्माणका सामान राख्नका लागि अस्थायी टहरा पनि बनाउन थालिएको छ । पोहोर भदौमा पुनर्निर्माणको काम थाल्ने भनेको साततले दरबारको एक वर्षपछि बल्ल काम सुरु भएको हो ।

नेपाली कालिगढ र श्रमिक खटिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय तथा पुरातत्व विभागको सुपरीवेक्षणमा पुनर्निर्माणको काम अघि बढ्नेछ । चिनियाँ कम्पनीले नेपाली कालिगढ तथा श्रमिकलाई प्राथमिकतामा राखेर दरबार पुनर्निर्माणमा परिचालन गर्नेछ । काठमाण्डौको नौतले दरबार पुनर्निर्माणको काम गरिरहेको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले नै सात तले दरबारको पुनर्निर्माण गर्न लागेको हो ।

चहलपहल छैन

नुवाकोट दरबारले चहलपहल र रौनक गुमाउँदै गएको चार वर्ष भैसकेको छ । दरबार वरपरका बासिन्दा भत्किँदै र जीर्ण हुँदै गएको दरबार टुलुटुल हेरेर बस्न बाध्य छन् । भूकम्पले चर्केको दरबार थप जीर्ण बन्दै गएको हो । अहिले पनि दरबार चिराचिरा छ ।

पाँचौं र छैटौं तला चर्किएका छन् । भूकम्पले नभत्किएको दरबारमा अहिले एक, एक ईंट्टा खस्दै गएका छन् । भूकम्पले क्षति गरे पनि नभत्केको दरबार तीन वर्ष ८ महिनासम्म पनि बनाउने पहल नहुँदा भत्किँदै गएको विदुर नगरपालिका २ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । धराप र जीर्ण दरबार टेकोको भरमा उभिरहेको देखिन्छ । दरबार नै धराप भएकाले नजिक जान जोखिम छ । अहिले साततले दरबार रहेको नुवाकोटडाँडा नुवाकोटको पुरानो सदरमुकाम हो । विगतमा नुवाकोट दरबार परिसरमा रहेको सदरमुकाम अहिले भने विदुरमा छ ।

नौतले दरबार भूकम्पकै कारण ७ तले

काठका कलात्मक बुट्टा र गजुर सहितको नौतले दरबार तत्कालीन राजा पृथ्वीनारायण शाहले बनाउन लगाएका हुन् । शाहले विक्रम संवत १८०१ मा नुवाकोट विजय गरेपछि १८१९ मा नौतले दरबार निर्माण गराएका थिए । काठमाण्डौ उपत्यकाबाट कालिगढ मगाएर यो दरबार बनाउन लगाएको उल्लेख छ ।

१८२५ मा काठमाडौं विजय प्राप्त गर्नुअघि नौतले दरबारबाट राजकाज चलाएको इतिहास छ । तर १९९० सालको भूकम्पले दरबारको गजुर र सिरानको तला बुर्जा झारेपछि सात तले बनाइएको थियो । त्यसपछि सात तले दरबार नाम रहेको स्थानीयबासिन्दा बताउँछन् । विदुर नगरपालिकाका उपमेयर गीता दाहालले दरबार र वरपरको सम्पदा क्षेत्र पुनर्निर्माणमा निक्कै ढिलासुस्ती भैरहेको बताउनुभयो ।

गएको पुस पहिलो हप्ता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सहितको टोली दरबार निरीक्षणमा गएको थियो । उहाँले पनि चीन सरकारकै सहयोगमा चैतबाट पुनर्निर्माणको काम सुरु हुने स्थानीय बासिन्दालाई बताउनुभएको थियो । झण्डै ७ महिनापछि फेरी नुवाकोट दरबार पुग्नुभएका ज्ञवालीले काम सुरु भएकाले दरबार पुनर्निर्माणको काममा अब ढिलासुस्ती नहुने प्रतिवद्धता पनि जनाउनुभयो ।

साथै उहाँले साततले दरबार वरिपरिको क्षेत्रलाई प्राचीन मौलिकता सहित नुवाकोट सम्पदा बस्तीका रुपमा विकास गर्ने गरी गुरुयोजना तयार भएको र छलफल चलिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया