सिंहदरबार-सिंगापुर हाइटेक एक्सप्रेस : यताबाट चल्यो कि उताबाट ?

 भदौ १४, २०७६ शनिबार ८:२७:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

धेरै नेताले नेपाललाई सिंगापुरजस्तो बनाउँछु भने, तर प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा बसेर सिंहदरबार चलाइरहेका मन्त्रीहरुसित हाँसोठट्टा गरे ।

नेपाललाई सिंगापुर बनाउँछु भन्नेहरु प्रधानमन्त्री ओलीले सिंगापुरमै बसेर देश चलाएको देखेर छक्क परे । सबैलाई थाहा भो, सिंगापुरबाटै संघीय सरकारको राजधानी सिंहदरबार चल्यो । काठमाण्डौमा रहेको सिंहदरबार चलेपछि प्रदेशका र गाउँगाउँमा पुगेको सिंहदरबार पनि चलायमान भए। यो देश सिंगापुर बन्ला भन्ने आशा मात्र पूरा भएन, देशै सिंगापुर जस्तो भो । सिंगापुरबाट देश चल्यो ।

प्रविधिले अचम्मै गर्यो । सिंगापुरमा अस्पतालको ओछ्यानबाटै सिंहदरबार देखेपछि प्रधानमन्त्री गदगद भए । प्रविधिलाई धन्यवाद दिए ।

तर पशुपतिनाथले चलाइरहेको देश, सिंगापुरबाट चल्नु अनिष्टको लक्षण पनि हो । आफूले गर्न नसकेको र गर्नै नखोजेको कुरा अरुले गर्न थालेपछि देख्नेलाई रिस उठ्ने नै भयो । त्यसैले विपक्षी कुर्लिए – सिंगापुरबाट सिंहदरबार चलाउन पाइन्छ ? विदेशमा बसेर देश चलाउन पाइन्छ ? पाइँदैन । विपक्षीको बोलीमा सत्तारुढकै असन्तुष्टहरुले पनि ‘होमा हो’ मिलाए । विपक्षी र असन्तुष्टहरुको मत मिल्यो, सिंगापुरबाट सिंहदरबार चलाउन पाइँदैन ।

त्यसपछि प्रविधिको सफल प्रयोग भयो भनेर मख्ख परेका प्रविधि मन्त्रीले कुरा मिलाए – सिंगापुरबाट सिंहदरबार चलाएको होइन, सिंहदरबारबाट चाहिँ सिंगापुर चलाएको । सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग बात गर्न सिंहदरबारमा रहेको प्रविधि चलाएको । सिंहदरबारको प्रविधि चलेपछि सिंगापुरमा प्रधानमन्त्रीसँग रहेको प्रविधि चल्यो । अर्थात सिंहदरबारबाट सिंगापुर चल्यो ।

प्रधानमन्त्री भन्छन् – सिंगापुरबाट सिंहदरबार चलाएँ । प्रविधि मन्त्री भन्छन् – सिंहदरबारबाट चाहिँ सिंगापुर चल्यो । कुन कुराचाहिँ सत्य हो त ? तपाईंलाई खसखस लागेको होला । तर दुवै कुरा सत्य हो । कसरी त ?

पंखाबिनाको जेट प्लेन प्रचण्डजीलाई छोडेर पंखावाल प्लेन चढी यता आएँ, प्रचण्डजीले उडाउँदै त होलान् नि ?

प्रधानमन्त्री अहिले कहाँ छन् ? सिंगापुर । जसरी देश छोडेर परदेश जाँदा घरपरिवारसँग हाइहेल्लो र सम्पर्क हुन्छ, त्यसैगरी प्रधानमन्त्रीले पनि बेलाबेला यता सम्पर्क गरिरहन्छन् । विदेशबाट घरगाउँमा बात गर्दा सञ्चो बिसञ्चो मात्रै सोधिँदैन । ‘खेतबारीमा के फल्दैछ ? गाईभैंसीले दूध कति दिन्छ ? तल्लो बारी बेच्ने कुरा के भयो ? पल्लोघरेसँग बोलचाल हुन थाल्यो कि उस्तै छ ? दशैँमा के–के किनमेल गर्ने योजना छ ? अनि कम्युनिष्ट सरकारले रेल गुडाउने भन्थे, गुड्न थाल्यो त ?...’ यस्ता धेरै कुरा पनि सोधीखोजी गरिन्छ ।

साधारण नागरिकले त घरव्यवहार र देशकै बारेमा यति धेरै कुरा सोधीखोजी गर्छन् भने प्रधानमन्त्रीले त झन् नगर्ने कुरै भएन । प्रविधि पनि मान्छे अनुसार हाईफाई हुने नै भो । आजकाल अमेरिका र अष्ट्रेलियाका नातिनातिनासित त मोबाइल खोले भिडियाेमा बात चल्छ । सिंगापुरबाट प्रधानमन्त्री र सिंहदरबारबाट मन्त्रीहरुले हाईफाई क्यामेरा जोतेर भिडियो बात गरे । यति उच्च प्रविधिमा चिया खानु भो भनेर मात्रै सोध्ने कुरा भएन ।

प्रधानमन्त्रीले पनि हाइहेल्लो र सञ्चोबिसञ्चोको मात्रै कुरा गरेनन् । ‘रविले तहल्का पिट्दैछ कि सामसुम भयो ? विरोधीको ध्यान अन्यत्र मोडिएको मौका छोपेर बाँकी रहेका विधेयक धमाधम पास गरौँ है ? वाम राजनीतिका ख्यातनाम ब्राह्मण माधव नेपालजी के गर्दैछन ? पंखाबिनाको जेट प्लेन प्रचण्डजीलाई छोडेर पंखावाल प्लेन चढी यता आएँ, प्रचण्डजीले उडाउँदै त होलान् नि ? अनि अस्ति सही गर्न बाँकी दुई चारवटा फाइल उठाउन बाँकी थियो, के भैरहेको छ ? ल ल मिलाएर गर्नुहोला । ....’ पक्कै यति कुरा त भिडियो बातमा भयो होला नै ।

अनि सिंगापुरबाटै भिडियो बात गरेर यति धेरै कुरा गर्न पाएपछि प्रधानमन्त्रीलाई पक्कै लाग्यो– अब सिंगापुरबाटै सिंहदरबार चल्यो । देश चल्यो । प्रविधिले उल्कै गर्यो । प्रविधिलाई धन्यवाद । भनेपछि प्रधानमन्त्रीको कुरा ठिकै हो । सिंगापुरबाटै सिंहदरबार चलेको कुरा सत्य हो ।

अनि सिंगापुरबाट सिंहदरबार चलेको होइन भन्ने प्रविधि मन्त्रीको कुरा पनि सोह्रै आना सत्य हो । प्रधानमन्त्री बिरामी भएर सिंहदरबारबाट सिंगापुर पुगेका छन् । घरमै बिरामी भएर बसेको मान्छेलाई त बेलाबेला के छ भनेर सोधिरहनुपर्छ । झन् विदेश पुगेका देशका अभिभावकलाई त हाइहेल्लो गर्नै पर्‍यो । भात खानेबेला पनि बोलाउनुपर्‍यो । घरका अरु निर्णय गर्नुपर्दा पनि सम्झनुपर्‍यो ।

घरका मूली मान्छेले घरव्यवहारको जिम्मा अर्कैलाई छोडेर हिँडे पनि महत्वपूर्ण निर्णय गर्नुपर्दा त सल्लाह गर्नै पर्यो । मन्त्रिपरिषद् बैठक बस्नुअघि मन्त्रीहरुले पनि यसै गरे । एकपटक बुढासँग कुरा गरौं न भनेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो बात गरे । ‘उपचार गज्जबले हुँदैछ नि ? हजुर त यताबाट जानेबेला भन्दा रातोपिरो देखिनुहुन्छ नि ? जे होस् राम्रै भैरहेको छ जस्तो छ, ख्याल गर्नुहोला । अनि आज चाहिँ बैठकमा यति गर्ने सल्लाह भएको छ है । हवस्, हवस् ।.....’

यति त सिंहदरबारबाट पनि पक्कै भने होलान् । घरमूली नभएको बेला घरव्यवहार धानेको परिवारको सदस्यले घरबाहिर पुगेको मूलीसँग कुरा गरेजस्तो । अनि सिंहदरबारबाटै सिंगापुरसम्म यति कुरा भएपछि यतैबाट उता चल्यो । अर्थात सिंगापुरबाट सिंहदरबार होइन, सिंहदरबाट चाहिँ सिंगापुर चल्यो ।

हाइहेल्लो मात्रै भए पनि, घरसल्लाह र अरु बातचित जे भए पनि सिंहदरबारबाट सिंगापुर चल्यो । सिंगापुरबाट सिंहदरबार चल्यो । जे होस् देश चल्यो । पहिले पशुपतिले चलाउँथे, अहिले सिंगापुरले चलाउँछ । सिंगापुरलाई पनि सिंहदरबारले चलाउँछ । यता र उता बसेर चलाउँ भन्नेहरुको आत्मसन्तुष्टि चल्छ । सबैथोक ठिकठाकै चलिरहेको छ भने तपाईं र मलाई किन खसखस हुनुपर्यो त, सिंगापुरले सिंहदरबार चलाओस् कि सिंहदरबारले सिंगापुर चलाओस् । 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया