तिज र दर : कसैलाइ रहर, कसैलाइ डर !

 भदौ १५, २०७६ आइतबार ९:२१:२१ | जानुका दुवाडी
unn.prixa.net

केही दिनअघि छिमेकमा बस्ने दिदीलाई भेट्न गएको थिएँ । घरमा जाँदा श्रीमान श्रीमतीको भनाभन भइरहेको थियो । “यसपालि म सक्दिनँ, त्यसैले काम चलाउ” दाइले भन्दै हुनुहुन्थ्यो । “त्यही त, तिमीले भनेर हुन्छ कि क्या हो ?” दिदीको झन ठूलो स्वर सुनियो । 

मलाई देखेर दुवैजना चुपचाप लाग्नुभयो  । उहाँहरुको वार्तालाप मैले केही पनि बुझ्न सकिनँ । बुझ्न  आवश्यक पनि लागेन । मैले खासै चासो दिइनँ । एकछिन बसेपछि दिदीले आफैं कुरा निकाल्नुभयो ।  अनि सोध्नुभयो ? ‘ए साँच्चै तिमीले सारी किन्यौ?” म हाँसे मात्रै केही प्रतिक्रिया जनाइनँ । 

दिदीले फेरि थप्नुभयो “मेरो त बुढोले अस्ति भाइको बिहेमा किनेको सारी लगाउ नयाँ किन्न पैसा छैन भन्दै हुनुहुन्थो ।  मैले त हुन्न भन्दिएँ” अब बल्ल थाहा पाएँ केही बेरअघिको भनाभनको विषय तिजको सारी पो रहेछ । 

यति मात्रै होइन, दिदीले यो पटक केही गहनाको पनि माग गर्नुभएको रहेछ । तर दाइले पैसा नभएको भनेपछि उहाँको परिवारमा १, २ दिन अघिदेखि नै झगडा सुरु भएको दिदीले सुनाउनुभयो । 

एकैछिनमा दाई बाहिरबाट आउनुभयो । दाइको अनुहारमा असन्तुष्टी र निराशा स्पष्ट देखिन्थ्यो । दिदीलाई भने दाइको असन्तुष्टीको कुनै चिन्ता थिएन । चिन्ता देखिन्थ्यो त केबल यो पटकको तिज कसरी मनाउने भन्ने कुराको ।  दिदीले  छिमेकमा तिजको लागि कसले कस्तो सारी किनेकोदेखि नयाँ गहना किनेकोसम्म सबैका बेलिविस्तार लगाउनुभो । 

त्यति मात्रै होइन छिमेकमा क–कसले दरको  पार्टी कता–कता मनाउनेदेखि के –के खानेसम्म सबै जानकारी कण्ठै पारिसक्नुभएको रहेछ । दाइ भने यी कुरा सुन्न नसकेर मुर्मुरिँदै बाहिर निस्कनुभयो । 

मेरो छिमेककी दिदी एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ  । उहाँ जस्ता कयौँ महिला  धेरै दिनदेखिको यस्तै विश्लेषण र चिन्तनमा डुबेका छन् । तिज आउन १०/१५ दिन अघिदेखि नै रमझम र चहलपहल सुरु भैसकेको छ । केही जिल्लाहरुमा त गृह प्रशासनले पार्टी प्यालेसहरुमा दरको पार्टी  र धेरै तडकभडक नगर्न उर्दि नै जारी गर्यो । यद्यपी काठमाण्डौ लगायत धेरै ठाउँमा भने यसको खासै फरक परेको देखिएन ।

तिज र अघिल्लो दिन खाइने खानेकुराको परिकार अर्थात दरको नाममा के कति परिवर्तन भयो त्यो त अर्कै खोजको विषय होला, तर समाजमा समयसँगै दरको बुझाइमा भने फरक आएको छ ।

विशेषगरी महिला विशेष पर्वको रुपमा मनाइने तिजको सांस्कृतिक र धार्मिक महत्व धेरै होलान् । यसले सामाजिक सम्बन्धहरु बलियो बनाउनेदेखि मानिसमा खुशीयाली र हर्ष उल्लासको प्रवाह गर्ने काम गरेको छ । यो तिजको सबैभन्दा ठूलो सकारात्मक पक्ष हो । यसैगरी तिजअघि दिदी बहिनी, दाजुभाइ परिवार र साथीभाइसँग बसेर दरको रुपमा गरिने सहभोजको पनि आफ्नै सामाजिक महत्व छ ।

तिजको एउटा सहायक पक्षको रुपमा रहेको दर तिजभन्दा पनि बढी चर्चा र महत्वको विषय बन्दै गएको छ । भान्सामा गृहिणी, कार्यालयमा काम गर्ने कर्मचारीदेखि लिएर विभिन्न संघ संस्थाहरुमासमेत दरकै चर्चा सुनिन्छ । धेरैको निम्ती दर खाने भनेको एउटा छुट्टै  पर्वजस्तै भएको छ । टोलैपिच्छे, संस्थापिच्छे र समूहमा पनि पालैपालो हप्तौंसम्म दर खाने चलन बढ्दो देखिन्छ ।

दर संस्कृतिका सकारात्मक पक्षहरुसँग यसको समाजमा नकारात्मक प्रभावसमेत देखिन्छ । समाजमा क्षमता हुनेको देखासिकी गर्दा आर्थिक अवस्था कमजोर भएकाहरुको लागि यो निकै समस्याको विषय बनेको छ । 

समाजमा बेलाबेला देखिने यस्ता अनावश्यक तडकभडकलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिने हाम्रो जस्तो विकासोन्मुख समाजमा दर संस्कृतिले सामाजिक र पारिवारिक शान्ति सुव्यवस्थामा खलल पुगेको देखिन्छ भने अर्कोतिर दरको सांस्कृतिक र  सामाजिक महत्व बिर्सेर जाँडरक्सी खानेदेखि डिस्को पार्टीसम्मका क्रियाकलापहरुले संस्कृति नै धरापमा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । अर्कोतिर यस्ता अनुत्पादक क्षेत्रहरुमा गरिने खर्चले राष्ट्रिय अर्थतन्त्रमासमेत नकारात्मक प्रभाव पर्ने हुन्छ । 

वर्षभरी नै थरिथरीका चाडपर्व, परम्परा र संस्कृति मान्ने हामी नेपालीका लागि यी मूल्य मान्यताहरु हाम्रो व्यक्तिगत र सामाजिक जीवनको लागि महत्वपूर्ण पक्ष भएकोमा दुई मत छैन । तर चाडपर्वहरु मनाइरहँदा आफ्नो आय क्षमता र त्यसले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा पार्ने प्रभावको बारेमा सोच्नुपर्ने आवश्यकता देखिन्छ । 

एक दिनको चाडपर्वले महिनौंसम्म असर नगरोस् । एक दिन साथीभाइ र आफन्तलाइै दिइने भोजको कारण जीवनका अन्य आधारभूत आवश्यक्ताहरु परिपूर्तिमा असर नपुगोस् भन्ने कुरामा सोच्नैपर्ने भएको छ ।

अन्तिम अपडेट: कात्तिक १६, २०७६

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया