कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट सुरु

 भदौ १८, २०७६ बुधबार १७:५६:५७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट स्थापना भएकोे छ । 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार एक कार्यक्रमका बीच  स्विच थिचेर अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । अस्पतालमा अत्याधिक रुपमा आवश्यक रहेको अक्सिजन अब जुम्लाबाटै उत्पादन शुरु भएकोले प्रतिष्ठानको गतिमा अर्को ईटा थपिएको बताईएको छ । 

उद्घाटनका क्रममा मन्त्री तथा प्रतिष्ठानका पहल समितिका संयोजक भण्डारीले प्रतिष्ठानले अब अक्सिजन आयात गर्ने दिनको अन्त्य भएको र निर्यातको दिन सुरु भएको बताउनुभयो ।

उहाँले अब कर्णाली प्रतिष्ठानले अक्सिजन आपूर्तिका साथै कर्णाली प्रदेशभर निर्यात गर्ने बताउँदै अक्सिजन प्लान्टसँगै थुप्रै संरचनाहरु र पूर्वाधारहरु तयार भइसकेकाले प्रतिष्ठान लक्ष्य अनुसार अघि बढेको बताउनुभयाे।

अब प्रतिष्ठानको प्रत्येक बेडमा अक्सिजन

प्रतिष्ठानका हरेक बिरामीको बेडमा अक्सिजन जडान गरिएकाे प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानले मन्त्री भण्डारीसमक्ष आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा प्रतिष्ठानको स्थापित ऐन २०६८ अनुसार १३ जिल्ला र १५ अस्पतालमा सेवा शुरुवात गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७५-०७६ मा ५४ हजार बिरामीको सेवा गरिएको जानकारी गर्नुभयो । उहाँले कर्णाली प्रदेशका १० जिल्ला  र बजाङ, बाजुरामा आवश्यकता अनुसार विशेषज्ञ सेवा दिइरहेको बताउनुभयो । 

प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवाहरुसहित आधुनिक ब्लड बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी सुरु भइसकेका छन् ।  यसैगरी अक्सिजन प्लान्टसहित सीटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठानले जनाएको छ ।

डक्टरी पढाइको तयारी तीव्र

यसैगरी कर्णाली प्रतिष्ठानमा डक्टरी पढाइकाे तयारी  तीव्र गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एमडीजीपी चाँडै सुरु गर्न नेपाल मेडिकल काउन्सिलले कानुनी प्रावधानको बाटो खाेलिसकेको प्रतिष्ठानका अस्पताल निर्देशक गोसाईँले बताउनुभयो  । उहाँले अब एमबीबीएसको तयारीमा प्रतिष्ठानको गृहकार्य रहेको जानकारी दिनुभयो ।

यसैगरी अहिले प्रतिष्ठानमा एचए, स्टाफ नर्स, बीपीएच, बीएन्, मिडवाइफ्री लगायतका विभिन्न विधाका स्वास्थ्य शिक्षाहरु अध्यापन भइरहेको छ ।    
 

अन्तिम अपडेट: चैत १६, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया